Samadhan National Daily

      नेपाल आइडल सिजन २ को अडिसन पोखरामा शुरु

      पाेखरा, १४ बैशाख:

      रियालिटी सो ‘नेपाल आइडल सिजन–२’ को अडिसन शुक्रबार पोखरामा हुँदैछ । पहिलो चरणको अडिसन जनप्रिय उच्च मावि सिमलचौरमा हुने आयोजकले जनाए ।

      अडिसन बिहान ८ देखि साँझ ४ बजेसम्म हुनेछ । प्रथम चरणको अडिसनमा चुनिएका प्रतियोगीले दोस्रो चरणका लागि शनिबार माउन्ट कैलाश रिसोर्टमा अडिसन दिनेछन् ।

      अडिसनमा भाग लिन रजिस्ट्रेसन फर्म अडिसन हुने स्थानमा निशुल्क वा अन्नपूर्ण दैनिकमा छापिएको फर्ममा भर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगीले नेपालभित्र बोलिने जुनसुकै भाषाको गीत गाउन पाउनेछन् । तर निर्णायकको आवश्यकता अनुरुप नेपाली भाषा मै पनि गाउनुपर्नेछ ।

      अडिसनमा स्वर परीक्षण मात्रै गरिने भएकाले कुनै ट्र्याक वा म्युजिक नचाहिने तर सजिलोका लागि प्रतियोगीले वाद्यवादनका सामग्री भने लैजान सक्नेछन् । १६ देखि ३० वर्षबीचका जो कोहीले प्रतियोगितामा भाग लिन पाउने तर कुनै पनि म्युजिक कम्पनीसँग अनुबन्धित नहुनुपर्नेछ ।

      यसपटकको सिजनमा गोल्डेन माइक सिस्टम थप गरिएको आइडलका प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलले जानकारी दिए । उनका अनुसार राम्रो प्रस्तुति दिने प्रतियोगी सिधै गोल्डेन राउन्डमा प्रवेश पाउनेछन् ।

      आइडलको पहिलो सिजनमा देश बाहिर फाइनल गर्दा विवाद आएकाले यसपटक नेपालभित्रै फाइनल गर्ने आयोजकले जनाएको छ । सो साउन १ देखि एपीवन टेलिभिजनमा प्रसारण हुनेछ ।


      प्रतिकृया दिनुहोस्