• Ad

Samadhan National Daily

  • Ad

क्षेत्रीय अस्पतालको फार्मेसीमा औषधीको अभाव, २-४ दिनमा उपलब्ध हुने निर्देशक अर्जुन आचार्यको भनाई

पाेखरा, १९ बैशाख:

६ महिनाको छोरी बोकेर २ दिन अघि बाग्लुङबाट उज्ज्वल रोका पोखरा स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आइपुगे ।

उनकी छोरीको केही दिन अघिबाट दिसा रोकिएको थियो । गाउँमा भन्दा सहरको सरकारी अस्पतालमा पुगेपछि सहज हुन्छ भनेर पोखरा आइपुगेको रोका बताउँछन् ।

तर आवश्यक औषधी उपलब्ध नहुँदा निजी फार्मेसीमा गएर महंगो दरमा औषधी किन्नुपर्दा उनी खिन्न थिए ।क्षेत्रीय अस्पतालमा औषधी अभावको समस्या भोग्ने रोका एक्ला प्रतिनिधि होइनन् । केही दिन अघिबाट भइरहेको औषधी अभावको समस्या स्याङ्जाकी मनु गुरुङले पनि बेहोरिन् । आमालाई प्रेसरको समस्या देखिएको थियो ।

आमालाई बिहानै अस्पताल ल्याएकी गुरुङले डाक्टरले लेखिदिएको औषधी खोज्न बाहिरका धेरै फार्मेसी चहारिन् ।औषधीको अभावका कारण बिरामी कुरुवा पनि २ जना बस्नु परेको पोखरा लामाचौरबाट आएका १ बिरामी कुरुवाले बताए । ‘हस्पिटलको फार्मेसीमा पाइँदैन ।

१ जना बिरामी कुर्नुपर्छ र अर्को औषधी खोज्दै हिड्नुपर्छ,’ उनले भने । सजिलो हुन्छ भनेर यता आएको औषधीको अभावका कारण झन् धेरै गाह्रो भएको उनको गुनासो थियो ।

प्रतिष्ठानको फार्मेसीमा औषधी अभाव भएका कारण आफूहरुले धेरै दुख पाएको हस्पिटलमा आउनेले गुनासो गरेका छन् । केही दिनमा आउने तर औषधी किन्न पठाउँदा ८/९ दिनको किन्न लगाउने उनीहरुको गुनासो छ ।
टेन्डरका कारण औषधी अभाव भएको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले बताए । पूरानो टेन्डरको समयावधि सकिएको र नयाँ टेन्डरमा सम्झौता भइसकेपछि अन्य ठाउँबाट औषधी ल्याउन नपाउने नियमका कारण औषधी पूर्ति गर्न नपाइएको उनको भनाइ थियो ।

‘पूरानो कम्पनीबाट ल्याउन पाइँदैन । नयाँलाई छिटै पठाइदिन भनेका छौं,’ उनले थपे, ‘नयाँ कम्पनीबाट औषधी ल्याउँदा केही सस्तो पनि पर्छ ।

अस्पतालमा अहिले विमाका औषधी, रक्तचाप लगायतका औषधीको अभाव भएको निर्देशक आचार्यले जानकारी दिए । ‘औषधी प्रतिष्ठानमा मात्र सकिएको हो । बाहिर त जति पनि पाइन्छ,’ उनले भने ।

अत्यावश्यक औषधी आफैले मात्रा तोकेर बाहिर बाट ल्याउन भनेको उनले बताए । नयाँ कम्पनीसँग सम्झौता अनुरुप कुरा गरिसकेको र २÷४ दिनमै पठाइदिने भएकाले अभाव चाँडै अन्त्य हुने उनले आश्वासन दिए । उनले भने, ‘हामी विरामीको स्वास्थ्यमा गम्भीर छौं, औषधी २÷४ दिनमै औषधी उपलब्ध हुन्छ ।’

प्रतिष्ठानमा औषधी अभावका कारण बाहिर निजी फार्मेसीमा औषधभी किन्नुपर्दा बिरामीलाई सकस भएको छ । केही दिनअघि मेयर मानबहादुर जिसीले प्रतिष्ठान प्रशासनलाई १ हप्ता भित्र औषधी परिपूर्ती गर्न आग्रह गरेका थिए ।

बिरामीको मृत्युपछि प्रतिष्ठानमा तनाव

उपचारकाक्रममा १ महिलाको मृत्यु भएपछि मंगलबार प्रतिष्ठान परिसर तनावग्रस्त बनेको छ । पोखरा–१३, बिरौटा निवासी ४६ वर्षीया पार्वती विकको उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतकका आफन्तीले उचित क्षतिपूर्तीको माग सहित १२ सदस्यीय संघर्ष समिति गठन गरेका छन् । समितिले प्रतिष्ठानको लापरवाहीका कारण घटना घटेको बताउँदै विभिन्न ६ बुँदे माग राखेको थियो ।

सामान्य रुपमा ग्यास्ट्रिकको उपचार गर्न आएकी बिरामीको मृत्यु कसरी भएको भन्ने विषयमा प्रशासन जवाफदेही हुनुपर्ने, उपचारमा संग्लग्न चिकित्सकलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने, मृतकका आफन्तलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने, क्षमताअुसारको रोजगारको व्यवस्था गर्नुपर्ने, विरामीको स्वास्थ्यमा खेलवाड नगरी सुरक्षित र ग्यारेन्टी उपचार गर्नुपर्ने लगायतका माग समितिले राखेको छ ।

छानबिन समितिका संयोजक खडकबहादुर विकले माग पूरा नभएमा आन्दोलन गर्ने चेतावनी दिए । बैठकमा सरकारी चिकित्सक निजी क्लिनकमा गएर समय खर्च गर्ने गर्नाले समस्या देखिएको वक्ताहरुले बताएका छन् ।

सरकारी चिकित्सकलाई सुविधा राम्रोे हुँदाहुँदै पनि निजी क्लिनिकमा गएर सेवा दिन बन्द गर्नुपर्ने उनीहरुको भनाइ थियो । प्रतिष्ठानमा बारम्बार यस्ता घटना घटिरहेको तर प्रशासन मौन रहेको मृतकका छोरा अमृतले बताए ।

पोखरा विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले घटनाको बारेमा छानबिन समिति गठन गर्ने र त्यसको निर्णय बमोजिम प्रशासन जाने बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad