Samadhan National Daily

      घाटु अर्थात्ः आत्माको नाच

      , १९ बैशाख:

      लमजुङको क्व्होलासोंथर ९ गिलुङको टक्सार गाउँकी पुष्पा गुरुङ ३ दिनदेखि घाटु नाचिरहेकी छिन् ।

      कुसुण्डा घाटु नाच्दा गीतले नै बेहोस् बनाएर ढलाउने, बेहोसमै उठाएर माग्ने बनाउने र गीतले नै सामान्य अवस्थामा फर्काउने घाटु गुरु चन्द्रध्वज गुरुङले बताए ।

      त्यस क्षण सम्झँदै घाटुनी पुष्पाले भनिन्, ‘काशी गएर नुहाउने र फर्कने बेला बाटो खर्च नभएर माग्नुपरेको हो ।’ ‘यहीं भएको मान्छे कसरी काशी पुग्छ ?’ जवाफमा पुष्पाले भनिन्, ‘मान्छेमात्र यहाँ हो, आत्म त कहाँ पुग्छ कहाँ ।’

      सामान्य अवस्थामा फर्किएपछि उनले यहाँ के के गरें भन्ने थाहा नै नपाएको दाबी गरिन् । कुसुण्डा र सति घाटुमा यसरी नै घाटुनीहरु बेहोस हुने र बेहोसीमा आफ्नो नृत्य देखाउने घाटुनी गुरुआमा मैतकुमारी गुरुङले बताइन् ।

      नयाँ पुस्तालाई घाटु नाच सिकाइरहेकी गुरुङ आफै विगत ५० वर्षदेखि घाटु नाच्दै आइरहेकी छिन् । वैशाख पूर्णिमामा घाटुका सबै गीतमा नाचेर सकिएपछि गाउँको दक्षिणतर्फको देउरालीमा लगेर सेलाइने उनले बताइन् ।

      कुसुण्डा घाटुमा पुष्पा, मैतकुमारीसहित पवित्रा गुरुङ र रुकुना गुरुङले नृत्य गरेका थिए । घाटु सेलाउने परम्परा पनि रोचक छ । गाउँका सबै घरमा घाटु गाउँदै नाच्दै पुगिन्छ । घर घरमा लिपपोत गरेपछि घरबेटीले नैवेद्य स्वरुप फलफूल दिन्छन् ।

      सेलाउने शब्द र भाकामा गाउँदा पनि घाटुनीहरु सामान्य अवस्थामा नरहने अर्का गुरु उमरजंग गुरुङले बताए । ‘देउरालीमा पुगेपछि मात्र घाटुनीलाई देवताले छोड्छ,’ उनले भने, ‘त्यसपछि छ्याङ भएको अनुभूति हुन्छ ।’

      घाटुनीहरुलाई नचाउन घाटुगुरुहरु गमबहादुर गुरुङ, विनासी गुरुङ, आशमान गुरुङ, नरबहादुर गुरुङ लगायतले साथ दिएका थिए ।घाटु गीतमा विशेष गरी राजा परशुराम र रानी चम्पावती बीचको कथा रहेको घाटु गुरुहरु बताउँछन् ।

      राजारानीको प्रेम, द्वन्द्व शिकार, जंगल प्रस्थान, माछा मार्ने, राजकाज लगायतका घटनालाई आधार मानेर नाचिने भएकाले घाटु नाचलाई गीति नाटक पनि भन्ने गरिन्छ । यसको ऐतिहासिक किम्बदन्ती भने फरक फरक छ ।

      सो अवसरमा घाटु गीति कथामा उल्लेख गरिएअनुसार राजा, रानी, कुकुर, जोक्कर, जोगी लगायतको अभिनय समेत देखाइयो ।
      कुसुण्डा र सती घाटु वैशाख पूर्णिमाको अवसरमा नाच्ने गरिएपनि बाह्रमासे घाटु भने जुनसुकै समयमा पनि नाच्न सकिन्छ ।

      पर्यटकीय गाउँहरुमा पछिल्लो समय घाटु नाच पर्यटकको आकर्षण पनि बन्न थालेको छ । गुरुङ जातिको महत्वपूर्ण पर्वका रुपमा मनाउने बैशाख पूर्णिमामा घाटु हेर्न प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफ्नो गृह गाउँ लमजुङको टक्सार पुगेका थिए ।

      उनले घाटु लगायतको संस्कृति संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए । ‘धेरै ठाउँमा हराइसकेको छ,हामी घाटुलाई जिवित राख्ने गरी संस्कृति संरक्षणका योजना बनाउँछौं,’ मुख्यमन्त्री गुरुङले भने ।


      प्रतिकृया दिनुहोस्