• Ad

Samadhan National Daily

  • Ad

बुद्धलाई नारा बनाउने कि पढ्ने ?

७ सय भिक्षु सहभागी यो सभाले पुरानै नियम स्थापना गरिदिएपछि र परिवर्तनलाई अस्वीकार गरेपछि बौद्ध धर्मभित्र अनेक सम्प्रदाय विकास हुँदै आएको देखिन्छ ।

, २० बैशाख:

बौद्ध एउटा धर्ममात्रै नभएर दर्शन पनि हो । जीवन–जगत, आत्मा, पुनर्जन्म, पाप–पुण्य, सत्य, ईश्वरजस्ता विषयमा गहन दार्शनिक विमर्शका अतिरिक्त मनोहर बौद्ध साहित्य पनि यसभित्र छ । यो एउटा कालखण्डको ऐतिहासिक दस्ताबेज पनि हो । यो अलिकति राजनीति, अर्थशास्त्र, भूगोल, ध्यान, योगजस्ता धेरै विषयको समष्टि रूप हो ।

तत्कालीन बौद्ध भूगोल नेपाल–भारत नै रहेकाले यसका घटना, पात्र, संस्कृति, भाषा, समाजमा यहींको स्थानीयता भेट्न सकिन्छ । पालि भाषामा संग्रहित ३ वटा पिटक (संग्र्रह) अर्थात् त्रिपिटक नै बौद्ध दर्शनको पहिलो ग्रन्थ भए पनि आचार्य नागार्जुनजस्ता प्रख्यात दार्शनिक र महाकवि अश्वघोषजस्ता धेरै साहित्यकारहरूका कृतिहरू समेटेर यो धनी भएको छ ।

त्रिपिटकभित्र ३ वटा पिटक छन्– विनयपिटक, सुत्तपिटक र अभिधम्मपिटक । मुख्यत बौद्ध भिक्षुका निम्ति आचार, धर्मका सूत्र (सुत्त) र निर्वाणबारे बुद्धका प्रवचन यसमा समेटिएको छ । त्रिपिटकको रचना रोचक छ ।

बुद्धको निर्वाणपछि उहाँका उपदेशमा कसैले थपघट गर्न नसकोस् भनेर मृत्युको पहिलो वर्षमैं (ईसापूर्व ५४३–५४२) राजगृहमा बौद्ध भिक्षु (अर्हत र अरहन्त) हरूको एउटा सम्मेलन (संगीति) आयोजना गरिएको थियो । यसलाई धर्म संगीति पनि भनिन्छ । हालको बिहार राज्यभित्र पर्ने राजगीर (राजगृह) बुद्धको पालामा मगध राज्यको केन्द्र थियो ।

यो हिन्दू, जैन र बौद्ध धर्मको प्रसिद्ध तीर्थस्थल पनि हो । महाभारतकालीन राजा जरासन्धको पनि यो राजधानी थियो । कृष्ण र जरासन्धबीच यहीं युद्ध भएको थियो ।

बिम्बिसारका छोरा अजातशत्रु मगध सम्राट् थिए र उनले नै बुद्धको मृत्युपछि पहिलो भिक्षुसभा बोलाएका थिए । यसलाई प्रथम संगीति भनिन्छ । राजगृहको सप्तपर्णी नामको गुफामा झन्डै ५ सय भिक्षु सहभागी उक्त संगीतिको अध्यक्षता बुद्धका नजिकका चेला महाकाश्यपले गरेका थिए । अहिले पनि यो गुफा भ्रमण गर्न सकिन्छ ।

महाकाश्यपले नेतृत्व गरेको उक्त सभामा बुद्धका शिष्य उपालिले बौद्ध भिक्षुहरूको आचार र अनुशासन (विनय) बारेका बुद्धवचन र अर्का शिष्य आनन्दले सूत्रका बारेमा बुद्धवचन गाएर सुनाएका थिए ।

महाकाश्यप आफैंले भने उच्च विवेक, बुद्धत्व र नैतिकताबारे बुद्धवचन दोहोर्याएका थिए । यी ३ भिक्षु उपालि, आनन्द र महाकाश्यपले स्मरणका आधारमा गाएका वचनहरूलाई उक्त सभामा उपस्थित अन्य भिक्षुले आधिकारिक बुद्ध वचन भए नभएको पुष्टि गर्थे ।

स्मृतिका आधारमा वाचन गरिने इनै बौद्ध वचन र विचारलाई विनयपिटक, सुत्तपिटक र अभिधम्म पिटकमा संग्रह गरिएको देखिन्छ । यद्यपि ईशाको पहिलो शताब्दीतिर आएरमात्रै लिखित रूपमा विनय (नियम) हरूको संग्रह भएर त्रिपिटकको रचना भएको हो । त्रिपिटकको रचना एउटै कालखण्डमा भएको होइन ।

पहिलो संगीतिमा सबै बुद्ध वचन वाचन नगरिएको या त्यहाँ वाचन गरिएको कुनै पनि सूत्र बुद्धवचन नभएको आरोप पनि बौद्ध धर्मकै सम्प्रदायमा भेटिन्छ । विनय पिटक र सूत्र पिटक अपेक्षाकृत पुरानो र अभिधम्म पिटक (दोस्रो, तेस्रो संगीतिबाट संकलन गरिएको) नयाँ मानिन्छ ।

बुद्धको निर्वाणको सय वर्षपछि दोस्रो धर्म संगीति विहारकै वैशालीमा भएको मानिन्छ । यतिन्जेल बौद्धभिक्षुहरूको आचरणमा प्रशस्त परिवर्तन आएको र सुनचाँदीजस्ता बुद्धले निषेध गरेका वस्तु पनि भिक्षुहरूले ग्रहण गर्न थालेकोले त्यसको निदानका निम्ति यो सभा आयोजना गरिएको देखिन्छ ।

वैशालीका भिक्षुहरूको विशेषत खानपान, रहनसहन र आचरणमा आएको विचलनलाई लिएर १० वटा विषयको समाधानका निम्ति भएको यो सभा भिक्षु यशको पहलमा भएको देखिन्छ । ७ सय भिक्षु सहभागी यो सभाले पुरानै नियम स्थापना गरिदिएपछि र परिवर्तनलाई अस्वीकार गरेपछि बौद्ध धर्मभित्र अनेक सम्प्रदाय विकास हुँदै आएको देखिन्छ ।

खासगरी धनसम्पत्तिको आदानप्रदानमा यो सभाले निषेध गरेको देखिन्छ । यसबाट असन्तुष्ट भएर वैशालीका भिक्षुहरूले महासाघिंक निकाय भनेर छुट्टै समूह खोले । संस्थापन पक्ष भने थेरवाद (स्थविर) का रूपमा चिनिन्छ । बौद्ध धर्ममा पहिलो विभाजन यही दोस्रो संगीतिबाट सुरु भएको मानिन्छ ।

पछि थेरवाद हीनयान र महासाघिंकहरू महायान सम्प्रदायमा विकास भएको छ । ईशापूर्व ३ सय २२ मा आइपुग्दा मगध साम्राज्यमाथि चन्द्रगुप्त मौर्यले आधिपत्य जमाएर मौर्य शासनको प्रारम्भ गरे ।

यही मौर्य वंशका प्रतापी राजा अशोकका पालामा पाटलिपुत्र अर्थात् हालको पटनामा तेस्रो बौद्ध संगीति आयोजना भयो । यसबाट थेरवाद पनि टुक्रिएर सर्वास्तिवादको अलग्गै हाँगा विकास भयो । अशोकलाई चक्रवर्ती सम्राट् पनि भनिन्छ । अफगानिस्तानदेखि आसाम र दक्षिण भारतसम्म अशोकको साम्राज्य फैलिएको थियो ।

नेपालको लुम्बिनी पनि त्यतिबेला अशोककै साम्राज्यभित्र पर्ने इतिहासकारहरू बताउँछन् । लुम्बिनीको आधिकारिकता नै उनले खडा गरेको अशोक स्तम्भका आधारमा भएको थियो । अशोकले नै आफ्नो साम्राज्यभरि बौद्ध धर्मको प्रचार गरेका थिए । चौथो संगीति भने ईशाको पहिलो शताब्दीको आसपास श्रीलंका र पाकिस्तानमा छुट्टाछुट्टै भएको देखिन्छ ।

हाल विश्वको चौथो ठूलो धर्मका रूपमा रहेको बौद्ध धर्मका ४ मुख्य सम्प्रदाय प्रचलनमा छन् । थेरवाद अर्थात् हीनयान, महायान, बज्रयान र नवयान । बज्रयानलाई तान्त्रिक धार भनिन्छ । हीनयानले बुद्धलाई महामानव मान्दछ र कुनै पूजा निषेध गर्छ भने महायानले बुद्धलाई भगवान् मनेर पूजा गर्छ ।

महायानमा मैत्रेय, मन्जुश्री, अवलोकितेश्वरजस्ता अन्य बोधिसत्वलाई पनि देवता मानेर पूजा गरिन्छ । संक्षेपमा बौद्ध धर्ममा ४ आर्यसत्य छन्– दुख, समुदय, निरोध र मार्ग । दुख, दुखका कारण, दुख निवारण र त्यसको बाटो ।

दुख निवारणको थरी बाटोलाई अष्टागिंक मार्ग भनिन्छ । सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वाक् (वाणी), सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि । सम्यक् अर्थात् पूर्ण, गहिरो र सर्वांग ।

तत्कालीन हिन्दू धर्मभित्र उपनिषद्हरूले आत्मालाई अपरिवर्तनीय र नित्य तथा शरीरलाई अनित्य मान्दै आएकोमा बौद्ध दर्शनले शरीर र आत्मा दुवैलाई क्षणिक या अनित्य मानेकाले यो फरक दर्शनको रूपमा विकास भएको देखिन्छ । कर्म र पुनर्जन्ममा भने दुवैको विश्वास देखिन्छ ।

हाल आएर भने दुवैले पूजा र आत्माको अस्तित्व स्वीकार गर्दै गएको पाइन्छ । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय दुवैले बौद्ध दर्शनमा उच्च शिक्षा दिँदै आएका छन् । बौद्ध विश्वविद्यालय नै पनि स्थापना भएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयले त अध्ययनार्थीलाई मासिक छात्रवृत्तिसमेत उपलब्ध गराउँछ । तर, त्यहाँ अध्ययन गर्न जाने विद्यार्थी पाउन मुस्किल छ ।

बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारा लगाएर मात्र कर्तव्य पूरा हुँदैन । बुद्धपूर्णिमाका अवसरमा कम्तीमा बुद्ध र बौद्ध दर्शनबारे अलिकति ज्ञान लिने र दिने गरेर यसलाई सार्थक रूपमा मनाउन सकिन्छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad