Samadhan National Daily

      मुस्ताङमा मोदीको स्वागतको तयारी

      मुस्ताङ, २० बैशाख:

      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ आउने भएपछि यसको पूर्वतयारी थालिएको छ । भारतीय दूतावासका प्रतिनिधि,परराष्ट्र मन्त्रालयका प्रतिनिधि र नयाँदिल्लीबाट नेपाल आएका भारतीय अधिकारीको १ टोली बुधबार बिहान मुस्ताङ आयो ।

      बिहान साढे ८ बजे भारतीय वायुसेवा निगम र नेपाली सेनाका २ वटा हेलिकप्टरमार्फत टोली मुस्ताङको मुक्तिनाथ मन्दिर पुगेको हो । टोलीमा भारतीय कार्यवाहक राजदूत अजय कुमार, दूतावासका सेकेन्ड सेक्रेटरी प्रनम गणेश, आइ एसपिजी एसवन्त जलेवा, परराष्ट्र मन्त्रालयका चिफ प्रोटेकल दीपक अधिकारी सहित १२ जनाको टोली मुक्तिनाथ पुगेको हो ।

      टोलीमा भारतीय दूतावासका वरिष्ठ डा. जयकुमार ठाकुर र वीर अस्पतालका वरिष्ठ डा. भूपेन्द्र बस्नेतसमेत सहभागी छन् । मुस्ताङको वस्तुगत अवस्था थाहा पाउन टोली मुक्तिनाथ पुगेको हो ।

      नेपाली तथा भारतीय अधिकारीको टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, प्रहरी नायब उपरीक्षक रामहरि पाण्डे,जिल्ला अनुसन्धान प्रमुख महेश गुरुङ,नेपाली सेनाका मेजर अरुण कार्की, वारागुङ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ, उपाध्यक्ष ढिकी गुरुङ लगायतले स्वागत गरेका थिए ।

      मुक्तिनाथ मन्दिरको अतिविशिष्ट कक्षमा प्रजिअ पौडेलसहित३ वटै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र निरीक्षणमा आएका टोलीबीच छलफल भएको छ ।

      प्रहरी नायब उपरीक्षक रामहरि पाण्डे तथा प्रजिअ पौडेलले जिल्लाको शान्ति, सुरक्षाको अवस्था र भ्रमणलाई सफल बनाउन अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे टोलीलाई जानकारी गराएका छन् । मोदीको भ्रमणमा सुरक्षालाई प्रभावकारी तुल्याउन मुक्तिनाथको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ ।

      टोलीले मुक्तिनाथ दर्शनको व्यवस्थापनबारे मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीसँग पनि जानकारी लिएको छ । मोदीले मुक्तिनाथको दर्शन गर्ने र करिब २५ मिनेट त्यहाँ बिताउने जनाइएको छ ।

      ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा हाइ अल्टिच्युटको सम्भावना रहेकाले मेडिकल टिम तयार राख्न निरीक्षण टोलीका डा. जयकुमार ठाकुर र भूपेन्द्र बस्नेतले सुझाव दिएका छन् ।उनीहरुले भ्रमण टोलीका सदस्यलाई कुनै प्रकारको स्वास्थ्य समस्या हुन सक्ने जनाउँदै अक्सिजन तथा मेडिकल टिमनै राखिनुपर्ने जनाए ।

      मुस्ताङका प्रजिअ पौडेलले बुधबार नै मुक्तिनाथ मन्दिरको आवश्यक भौतिक सुधारका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । मोदी भ्रमणका बेला ३ वटा ठूला हेलिकप्टर अवतर गर्नुपर्ने भएकाले थप हेलिप्याड निर्माण गर्न स्थानीयतहलाई निर्देशन दिइएको छ ।

      त्यस्तै, मोदी भ्रमणका लागि मन्दिर गेटबाहिर स्वागत गेट, दीप प्रज्वलन आदिको व्यवस्था गरिने पौडेलले जानकारी दिए ।मोदी भ्रमणका बेला३ दिन सडक समय तालिकासमेत स्थगित गर्न प्रजिअ पौडेलले निर्देशन दिएका छन् ।


      प्रतिकृया दिनुहोस्