Samadhan National Daily

      अनुपम म्युजिक अवार्ड श्रेष्ठलाई

      अनुपम म्युजिक अवार्ड श्रेष्ठलाई

      पाेखरा, २३ बैशाख:

      अनुपम म्युजिक पोखराले हरेक वर्ष प्रदान गर्दै आएको अनुपम म्युजिक अवार्ड यस वर्ष गीतकार तीर्थ श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

      कवि र संस्कृतिकर्मीका रुपमा परिचित श्रेष्ठका आमा, मेरै हिमाल जस्तो लगायत करिब डेढ दर्जन गीत रेकर्ड भएका छन् । उनको ‘मेरै हिमाल जस्तो’ नामक गीत संग्रह प्रकाशित छ ।

      नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्यसचिव श्रेष्ठ पोखरेली युवा सांस्कृतिक परिवार, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलगायत संस्थामा आवद्ध छन् ।

      श्रेष्ठका तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट, पाइलाका निबहरुले (कविता संग्रह) तथा महाभारतको गीत(मुक्तक संग्रह) प्रकाशित छन् । यसअघि सो अवार्ड गीतकार डा. कृष्णहरि बराल, गायक कर्णदास र संगीतकार किरण कँडेललाई प्रदान गरिएको थियो ।

      अागामी जेठ २६ गते हुने पाँचौं अनुपम सांगीतिक साँझमा नगद, सम्मानपत्र र दोसल्लासहित प्रदान गरिने सो अवार्डसँगै अनुपम संगीत सम्मानसंगीतकार जयकुमार परियार र गायक सञ्जीव पराजुलीलाई प्रदान गरिने भएको छ । परियार पोखरामा रहेर २ दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील छन् ।

      पराजुलीले ३ दर्जन गीत गाएका छन् । यसअघि गीतकार होम न्यौपाने, रेशम रचक र वसन्ती लालचन, संगीतकार वसन्त सापकोटा, नवराज बराल र बुद्धराज गुभाजु तथा गायक रामभक्त जोजिजु, कर्म ग्याल्छेन, विवेक श्रेष्ठ र गायिका इन्दिरा जोशी सो सम्मानबाट सम्मानित भइसक्नुभएको छ ।

      तीर्थहरि स्मृति प्रतिष्ठानद्वारा स्थापित तथा अनुपम म्युजिकद्वारा सञ्चालित तीर्थहरि समाजसेवा अवार्ड यस पटक समाजसेवी गोमा ढकाललाई प्रदान गरिने भएको छ ।

      रेन्बो चिल्ड्रेन होमकी निर्देशक ढकाल बालगृह महासंघकी केन्द्रीय उपाध्यक्ष हुन् । उनले १ सयभन्दा बढीबालबालिकालाईसंरक्षण प्रदान गरेकी छन् । सो अवार्डबाट यसअघि पाहार ट्रष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङ सम्मानित भएका थिए ।

      प्रेस स्वतन्त्रता सेनानी तथा साहित्यकार बद्रिविनोद प्रतीकको संयोजकत्वमा गायक रामभक्त जोजिजु र गीतकार रेशम रचक सदस्य, प्रबन्ध निर्देशक अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य तथा संरक्षक वीरेन्द्र पालिखे आमन्त्रित सदस्य रहेको प्रतिभा छनोट समितिले उनीहरुलाई अवार्ड र सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।


      प्रतिकृया दिनुहोस्