Samadhan National Daily

      गोरखामा नगरपालिकाले हटायो होर्डिङ बोड

      गाेरखा, २७ बैशाख:

      गोरखा नगरपालिकाले सडक क्षेत्रको फुटपाथ अतिक्रमण गरी बनाइएका टहरा र उक्त क्षेत्रमा राखिएका होडिङ बोर्ड हटाएको छ ।

      केही समयअघि नग रप्रमुख राजनराज पन्त स्वयम् उपस्थित भएर सुरु भएको अभियानले सार्थकता नपाएको गुनासो बढिरहेका बेला नगरपालिकाले आइतबारबाट सडक अतिक्रमण गरेर बनाइएका घर टहरा र होर्डिङ बोर्ड हटाउन सुरु गरेको हो ।

      ‘हामीले केही समय अघिबाटै अव्यवस्थित होर्डिङ बोर्ड र टहरा हटाउने अभियान सुरु गरेका हौं, बीचमा उनीहरु आफैले हटाउँछन् भनेर मौकाको रुपमा समय दियौं । केहीले हटाए पनि नहटाउनेको हामीले हटाउन सुरु गरेका छौ’, नगर प्रमुख पन्तले भने ।

      अव्यवस्थित ढंगबाट राखिएका होर्डिङ बोर्डले बजार क्षेत्रलाई कुरुप र अस्तव्यस्त बनाएको भन्दै नगरपालिकाले यस्ता बोर्ड हटाउने कार्यलाई तीव्रता दिएको बताएको छ ।

      ‘जसले जहाँ पायो त्यही बोर्ड राखेर बजारको सौन्दर्य बिग्रेको छ । त्यस्ता सबै बोर्ड हामीले हटाइसकेका छौं । अबका दिनमा हाम्रो अनुमतीबिना नगरभित्र होर्डिङ बोर्ड राख्न पाइँदैन,’ उनले भने । नगरपालिकाले आइतबारबाट स्वीकृतिबिना र मापदण्डविपरीत राखिएका होर्डिङ बोर्डहरु हटाइएको बताएको छ ।

      नगरपालिकाको कार्यालयसँग स्वीकृति नलिई विभिन्न कम्पनी तथा फर्म र संघसंस्थाले विभिन्न प्रयोजनका लागि राखिएका बोर्डमात्रै हटाइएको नगरप्रमख पन्तको भनाइ छ । आइतबारबाट सुरु भएको सो कार्य सदरमुकामदेखि आँबुखैरेनी पुलसम्म गरी करिब २ सय होडिङ बोर्ड हटाउने नगरपालिकाको तयारी छ ।

      कार्यालयको कर्मचारीको रोहोबरमा डोजर लगाएर नै त्यस्ता अव्यवस्थित बोर्ड तथा टहरा भत्काएर फोहोर फाल्ने ठाँउमा डम्पिङ गरिएको कार्यालयको भनाइ छ ।

      नगरपालिकाको स्वीकृतिबिना राखिएका जुनसुकै बोर्ड तथा नियमविपरीत बनेका टहरा भत्काउने कार्य नगरपालिकाले अभियानकै रुपमा अघि बढाएको बताएको छ ।गोरखा नेपालकै ऐतिहासिक नगर भए पनि अव्यवस्थित भएको भनी बारम्बार आलोचना भइरहन्छ ।

      शाहकालीन इतिहासको उद्गम स्थल गोरखा धार्मिक सास्कृति र पर्यटकीय रुपमा प्रख्यात छ । वर्षेनी लाखौं पर्यटकले गोरखा भ्रमण गर्ने गरेको भए पनि जिल्ला सरमुकाम नै व्यवस्थित हुन नसकेको गुनासो स्थानीय गरेका छन् ।

      सोही अनुरुप स्थानीय सरकार बनेपछि नगर व्यवस्थित बनाउन भन्दै गोरखा नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिहेको छ ।


      प्रतिकृया दिनुहोस्