• Ad

Samadhan National Daily

  • Ad

नेपाल भ्रमणमा माेदीका ५ मनसुवा के-के हुन् ?

मोदीको नेपाल भ्रमणबारे के भन्छन् सर्वसाधारण ?

काठमाडौं, २७ बैशाख:

करिब चार वर्षपछि तेस्रो पटक शुक्रवार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रामा पाँच वटा सन्देश लुकेको अर्थमा लिइँदै छ।

नेपाल यात्राको थालनी जनकपुरबाटै गर्नुको पछाडि केवल धार्मिक, सांस्कृतिक सम्बन्धलाई मुखरित गर्नु मात्र रहेको छैन। मोदी सिधै जनकपुर आउने भएपछि संघीय सरकारको ध्यान पनि जनकपुरतिर मोडिएको छ।

यसपटक मोदी भ्रमणमा आउँदा नेपालमा नयाँ संविधान लागू भई सोही अनुसार तीनै तहका चुनाव सम्पन्न भइसकेको छ र प्रादेशिक संरचना खडा भएका छन्।

सिलसिला

भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भए लगत्तै १८ साउन २०७१ मा नेपाल भ्रमणमा आएका थिए। त्यसअघिका १७ वर्षसम्म नेपालमा भारतीय प्रधानमन्त्रीको “राजकीय” भ्रमण हुन सकेको थिएन।

पहिलो भ्रमणको ४ महिनामै १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन १० मंसिर २०७१ मै दोस्रो पटक काठमाडौं आएका थिए। मोदीको तेस्रो नेपाल भ्रमण शुक्रवारबाट सुरु हुँदैछ।

यस अवधिमा नेपालका तर्फबाट चार वटा प्रधानमन्त्री भारतको भ्रमण गरिसकेका छन्। नेपालमा संविधान निर्माणको क्रममा चिसिएको नेपाल-भारत सम्बन्ध सामान्य स्थितिमा फर्किएको सन्देश दिने उद्देश्यसहित मात्र भारतीय प्रधानमन्त्रीको भ्रमण भइरहेको छैन।

पाँच “प”

यस यात्रामा पारस्परिक भ्रमण, प्रान्तीयताप्रति नजर, पर्यटन प्रवर्द्धन, पानीमा पहुँच र प्रवुद्ध समितिको समीक्षा गरी पाँच “प” लाई विशेष प्राथमिकता दिएको बुझिन्छ।

प्रधानमन्त्री के.पी. शर्मा ओलीको भारत भ्रमणको दुई महिना नपुग्दै हुन लागेको मोदीको यो भ्रमणलाई जवाफी भ्रमणका रुपमा पनि हेरिएको छ। सीमावर्ती भारतीय राज्य बिहारको राजधानी पटनाबाट भारतीय वायु सेनाको हेलिकप्टर मार्फत जनकपुर उत्रिने मोदीले प्रान्तीय सरकारको अभ्यासलाई समर्थन गरेको अर्थमा समेत कतिपयले लिएका छन्।

जनकपुर अहिले प्रदेश २ को अस्थायी राजधानी हो। यहाँका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीको नेतृत्वमा उनको नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ।

अहिलेसम्म नेपाल-भारत सम्बन्धमा काठमाडौं र दिल्लीले ठाउँ पाइराखेकोमा अब उपरान्त भारतीय सीमासंग जोडिएका प्रदेशहरूका सरोकारहरूले पनि ठाउँ पाउने अर्थमा यसलाई लिइएको छ।

उनी सोझै दिल्लीबाट जनकपुर नआएर पटनाबाट आउनुलाई पछिल्ला समयमा दिल्ली संस्थापनले भारतका छिमेकी देशहरूको सम्बन्धमा आफ्ना सीमावर्ती राज्यहरूलाई महत्त्व दिने क्रम बढाउँदै गएको प्रस्टिन्छ।

पर्यटन

जनकपुर र मुक्तिनाथको भ्रमणले धार्मिक पर्यटन बढाउने अपेक्षा गरिएको छ। त्यही क्रममा जनकपुर र अयोध्या जोड्ने “रामायण सर्किट” घोषणा हुने र बस सेवा सञ्चालन हुने भएको छ।

नेपाल-भारतबीचको सम्बन्धमा विगतमा अयोध्याले त्यति ठाउँ पाउँदैनथ्यो। यस पटक हिन्दुत्ववादी धारका सत्तारुढ दल भारतीय जनता पार्टीले नेपाल नीतिको प्रस्तावना प्रतीकको रुपमा “अयोध्या-जनकपुर” सम्बन्धलाई अगाडि सारेको छ ।

नेपालको पानीको उपयोगिता माथि भारतीय संस्थापनको पुरानै दृष्टि छ। यस पटकको यात्रामा नयाँ समझदारी र अरुण तेस्रो परियोजनाको शीलान्यासको लक्ष्य राख्नुको पछाडि नेपालसंगको पानी साइनो बढाउने एकथरीको अनुमान छ।

नेपाल-भारतबीच सन्धि पुनरावलोकन गरेर प्रतिवेदन दिन गठन गरिएको नेपाल-भारत प्रबुद्ध समूहको म्याद आउँदो असारमा सकिँदैछ।

यस भ्रमणको बेला समूहको काम कारबाहीको समीक्षा र तिनले लिने बाटोका बारेमा पनि कुरा हुने अपेक्षा गरिएको छ।

भारतभित्रका असर

भारतीय राजनीतिमा पनि आउँदो वर्ष त्यहाँ आम चुनाव हुँदैछ। अयोध्या र जनकपुरको सन्दर्भ मार्फत खासगरी मोदीले उत्तर भारतको हिन्दु मतदाता रिझाउने प्रयत्न गरेको बुझिएको छ।

अयोध्यामा राम मन्दिर निर्माणमा ढिलो भए पनि रामायण सर्किटको कार्यान्वयनले भाजपालाई सहज हुन सक्छ । भारतभित्र प्रधानमन्त्रीका रुपमा मोदी कार्यकालको आलोचना गर्नेहरूले उनको असफल छिमेक नीतिलाई आक्षेप गर्दै आएका थिए।

यसै क्रममा मोदीले अन्य छिमेकी देशहरूसंग सम्बन्ध सुधारकै क्रममा नेपालमा तीर्थाटन कूटनीतिलाई अगाडि सारेका जस्तो देखिन्छ्।

 मोदीको नेपाल भ्रमणबारे के भन्छन् सर्वसाधारण ?

नेपालको तीनवटै भौगोलिक क्षेत्र तराई, पहाड र हिमालको यात्रा गरी उनले आफ्नो आन्तरिक राजनीतिमा नेपालका सबै क्षेत्रको जनतामा आफूप्रति सम्मान र आत्मीयता रहेको प्रदर्शित गर्न चाहेको कतिपय विश्लेषकको बुझाइ छ।

मोदी नेतृत्व गरेको भारतीय जनता पार्टीले आफ्ना नीतिहरूमा प्राचीन “मिथक”हरुलाई उपयोग गर्ने गरेका छन्। नेपाल-भारत जनस्तर सम्बन्धलाई परिभाषित गर्न कतिपयले “रोटी-बेटी” को सम्बन्ध भन्दै गरेका छन्।

जनकपुर-अयोध्या प्रतीक मार्फत रामायणकालीन सीता-राम सम्बन्ध मार्फत जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने र सांस्कृतिक रुपमा पकड बनाउने मनसुवा रहेको झल्किन्छ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad