Samadhan National Daily

      फेवाताल संरक्षणमा चासो

      पाेखरा, २७ बैशाख:

      पोखराको पर्यटकीय गन्तव्य फेवातालको संरक्षणमा सरोकारवालहरुले चासो दिएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले पोखराको पर्यटन प्रर्वद्धनको लागि फेवातालको संरक्षण अनिवार्य रहेको बताए ।

      लायन्स क्लब अफ पोखरा गार्डेन सिटीले फेवाताल संरक्षण तथा सरसफाइ सम्बन्धी परिसम्वाद कार्यक्रम बुधबार गरेको हो । फेवातालको बीचमा डुंगामा सो कार्यक्रम भएको थियो ।

      कार्यक्रममा उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री विकास लम्सालले फेवाताल संरक्षणमा सरकारले चासो दिने बताए । यससँगै पर्यटकीय गन्तव्य पहिचान गरी संरक्षण गर्नेमा उनले जोड दिए ।

      २०२२ मा २५ लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य रहेको र यसको प्रचार प्रसारको लागि देश तथा विदेशमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिए । नेपाल तथा पोखरा आउने पर्यटकको तथ्यांक पनि संस्था अनुशार फरक पाइने गरेको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न हामी लाग्नेछौ ।’

      लायन्स क्लबका मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुर्लाकोटीले प्राकृतिक स्रोतको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए । उनले भने, ‘सबैले आफ्नो तरिकाले फेवाताल लगायत प्रकृतिक स्रोतको संरक्षणमा पहल गनु आवश्यक छ ।’

      लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२१ बि १ नेपालका गर्भनर धनराज आचार्यले लायन्सले शिक्षा, स्वास्थ र पर्यावरणको क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे । फेवाताल संरक्षणको लागि आफ्नो क्षेत्रबाट काम गर्न तयार रहेका छौं,’ उनले भने ‘हामी सफ्टवयरको रुपमा काम गर्नेछौं ।’

      कार्यक्रममा प्राध्यापक कृष्ण केसीले फेवातालको इतिहास तथा हालको अवस्थाको बारेमा जानकारी गराएका थिए । ताल फोहर भएको तथा पुरिँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । अहिलेकै अवस्थामा रहने हो भने अबको १ सय ५० वर्षमा फेवाताल हराउनेछ,’ उनले भने । तालमा विभिन्न खालका प्रदुर्षण भएका कारण त्यहाँ रहेका जलचर अस्तित्व पनि संकटमा रहेको उनले बताए ।

      प्राध्यापक डाक्टर भरतराज पहारीले ताल तथा यस आसपासको क्षेत्रलाई धार्मिक रुपमा जोड्नुपर्ने बताए । कार्यक्रममा २०३५ सालदेखि निरन्तरण डुंगा चलाउँदै आएका व्यवसायी ७७ वर्षीय रामबहादुर थापाले अनुभव सुनाएका थिए ।

      कार्यक्रममा पढाऔँ अभियानलाई सफल पार्नको लागि ८ लाख रुपैयाँ बराबरको चेक पनि हस्तान्तरण गरिएको छ । कार्यक्रम क्लबका अध्यक्ष वैकुण्ठप्रसाद पौडेलको अध्यक्षतामा भएको हो ।


      प्रतिकृया दिनुहोस्