Samadhan National Daily

      पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा सेवाग्राही मर्कामा

      पाेखरा, २८ बैशाख:

      जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवाकमा पहुँच पुर्याउने उद्देश्यले स्थापित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएको छ ।

      गत वर्षको साउन महिनादेखि सिटी स्क्यान सेवा बन्द हुदाँ सेवाग्राही मर्कामा परेका हुन् । प्रतिष्ठानले अहिलेसम्म नत मेसिन मर्मत गरेको छ, नत अर्को मेसिन किन्ने प्रक्रिया नै थालेको छ । करिब ४ करोड ५० लाखको लागतमा ल्याइएको मेसिन ६ महिना चलेर ०७४ साउन देखि बिग्रेको छ ।

      मेसिन बिग्रिएपछि बिरामीले ४ हजारदेखि १५ हजारसम्म महंगो शुल्क तिरेर सिटी स्क्यानको लागि अन्यत्र जान बाध्य भएका छन् । अस्पतालले शरीरको भाग अनुसार २ हजारदेखि ९ हजारसम्म चार्ज लिने गरेको थियो ।

      इन्सेक पोखरा, मानवअधिकार निगरानी समूह, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखरा र गैर सरकारी संस्था महासंघ कास्कीले बिहीबार स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यलाई भेटगरी सिटी स्क्यान मेसिन, औषधीको अभाव र ज्येष्ठ नागरिकको औषधी उपचार लगायतको विषयमा ध्यानाकर्षण गराएका छन् ।

      डाक्टर आचार्यले सप्लायर्सवालाले मर्मतपछि मेसिनको ग्यारेन्टी दिन नसकेकोले मर्मत प्रक्रिया रोकिएको प्रतिक्रिया दिए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य विभागलाई लेखि पठाएका छौं,’डाक्टर आचार्यले भने, ‘पहिले पनि मेसिन बिग्रिदा विभागबाट विज्ञ टोली आएर सिधै टयुव फेरेर गएको रहेछ ।’

      उनले २५ लाखसम्म खर्च गरे मर्मत गर्न सकिने प्रस्ताव आएपनि जिम्मेवारी नलिएको कारण मर्मत नगरेको जानकारी दिए । डा आचार्यले मर्मत गर्ने वित्तिकै बिग्रिए पछिको समस्याको एकिन नहुँदा मर्मत गर्ने आँट नगरेको बताए ।

      उनले मन्त्रालय र विभागको विज्ञ टोलीको सिफारिसमा मेसिन बनाउने याअर्को खरिद गर्ने बताए । प्रतिष्ठानले सरकारले उपलव्ध गराउने ७० प्रकार र अस्पतालको तर्फबाट थप १४ गरी ८४ प्रकारका औषधी निशुल्क व्यवस्था गरेको छ ।

      ‘सरकारले दिने सुविधा नै हामीले दिने हो । कुनै कन्ज्युस्याईं गरेको छैन,’निर्देशक डा आचार्यले भने, ‘औषधीको देशभर अभाव छ । शत प्रतिशत फुलफिल कहिल्यै हुँदैन ।’ उनले ज्येष्ठ नागरिक वार्डमा शैया निशुल्क गरेपनि औषधीमा ५० प्रतिशत छुट दिएको बताए ।

      हरेक प्रदेशमा सरकारी स्तरको मेडिकल कलेज खोल्ने नीति अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई २०७२ माघ २२ गते ऐन बनाएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरिएको हो । प्रतिष्ठानमा ५सय शैयाको संख्यामा बेर्ड छ ।


      प्रतिकृया दिनुहोस्