Samadhan National Daily

      पोखरामा डिज्निल्यान्ड

      पाेखरा, २८ बैशाख:

      मेला महोत्सवमा मात्र मज्जा लिन पाएको मनोरञ्जनका खेल पोखरेलीले अब सदावहार खेल्न पाउने भएका छन् ।

      फेवा किनार खहरेमा सुविधायुक्त फन पार्कको निर्माण भएपछि पोखरामा मात्र नभएर पर्यटकले समेत यसको मज्जा लिन पाउने भएका हुन् । पार्क वैशाख २९ बाट सुरु हुने बिहीबार पत्रकार सम्मेलन मार्फत पोखरा डिज्निल्यान्ड सञ्चालक वसन्त लिगलले जानकारी दिए ।

      लेकसाइड क्षेत्रमा मनोरञ्जनका लागि छुट्टै पार्कको अभाव भइरहेको समयमा आफूले त्यसको परिपूर्ति गर्न पार्कको निर्माण गरेको लिगलले बताए ।

      उनले भने, ‘मेला महोत्सवमा मात्र खेल्न पाइन्छ, अरु बेला खेल्न पोखरामा छुट्टै व्यवस्था नभएकाले पार्क निर्माण गरेका हौं ।’ पार्कको निर्माण पछि लेकसाइडमा पर्यटकले अझै धेरै मनोरञ्जन लिने उनले विश्वास व्यक्त गरे ।

      पार्क करिब १ करोड २५ लाख लगानीमा १५ रोपनी क्षेत्रफलमा बनेको छ । बालबालिका तथा वयश्कका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको पार्कमा रोटे पिङ, डुंगा पिङ, चारतारा पिङ, ब्रेक डान्स पिङ, वाटर बल लगायतका खेल खेल्न पाइनेछ ।

      मेलामा मात्र देखिने खेल सामग्री रहेकाले महोत्सव नै होला भन्ने पर्यटक भ्रममा रहेको लिगलले बताए । बिहान १२ बजे खुल्ने र साँझ ८ बजेसम्म सञ्चालन हुने पार्कमा अहिले ३० जनाले रोजगार पाएको उनले बताए ।

      पार्कमा विकास लामिछाने र टेकबहादुर कार्कीको समेत लगानी छ ।


      प्रतिकृया दिनुहोस्