Samadhan National Daily

      अक्षरयात्राः सम्म छ कि भिरालो !

      पाेखरा, ३१ बैशाख:

      -आफ्नै विशेषता छ पुछारसिटको । अलिखित कानुन छ । जो कोहीलाई अनुमति छैन बस्न । नबस पनि भनिँदैन कसैलाई । तर सजिलो पनि छैन आरामले बस्न । अक्षरयात्राको अर्को महत्त्वपूर्ण यात्रा बनेको छ पुछारसिट ।

      -सबैलाई सबैको कुरा मन पर्दैन । विचार मन पर्दैन । गतिविधि मन पर्दैन । गीत पनि सबैलाई मन पर्दैन । हल्ला त झन् मन पर्ने कुरै भएन । र मन पर्नै पर्छ भन्ने पनि त छैन । यही हो अक्षरयात्राको पुछारसिट ।

      पोषणयुक्त खाना नि खाऊ अब
      राइफलको तेल लार आऊ अब

      पुछारसिटमा आएपछि दोहोरीमा सामेल भएका दीपक समीपलाई आनन्दले यसो भनेपछि अरु पुछारसिटेहरुले भाका मिलाउन थालेः पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात ………. ।

      जवाफमा दीपकले राइफल नै पड्काउने टुक्का निकालेपछि पुछारसिटको हाँसो बसभरि फैलियो । अझै गनेस पौडेलको नृत्यले त झन् सबैको ध्यान खिच्यो पुछारसिटमा । ‘गज्जब भछ भन्या,̓ गीतकार प्रकट पगेनी शिवको आवाजमा थप माधुर्य थपियो, ‘पुछारसिटे भएपछि अक्षरयात्रा बडो गज्जब हुन्छ ।’ एकाबिहानै उठेर मर्निङ वाक निस्कें । अलि चाँडै सकियो आज बिहानको यात्रा ।

      अघिल्लो दिनबाट नै अक्षरयात्रा जानका लागि मन आतुर भैसकेको थियो । केदारेश्वर मन्दिरको अगाडि चिया पिइएन आज । बरु सात बजे नै पुग्नु पर्ने थियो सभागृह चोक । तर मोहन भण्डारी लिन आएपछि आठ बजे पुगियो हरि चोक र चढियो बसमा साढे आठ बजे, पाङका लागि । पाङ अर्थात पर्वतको पार्वती गुफा जानका लागि ।

      बसभित्र पुछारसिटमा बडो कोच्चिएर बस्नका लागि खाली थियो एउटा सिट । नभएपनि पुछारसिट थियो नै मेरा लागि । अटाएँ ।अनि सुरु भयो यात्राको रमाइलो । मेरो छेउमा दायाँतिर सञ्जीव पौडेल ।उनको छेउमा मोहन भण्डारी । श्रीराम अधिकारी गोर्जे । अनि काखमा अर्जुन नेपाल । बायाँतिर भरत पोख्रेल अन्जान र शिव चापागाईं। जम्मा सात जना पुछारसिटमा । पुछारसिटेमै मिसिएका आनन्द भट्टराई, सकिला अधिकारी सहयात्री थिए अघिल्लो सिटमा । अमृतलाई पनि अगाडि बस्न मन त कहाँ हो र । उतै आइपुग्थ्यो र भाका मिलाउन थाल्थ्यो । पुछारसिटेको मर्मसँग मर्माहत हुने नै धेरै थिए यात्रामा । त्यसै कहाँ भएको हो र पुछारसिट । आसु साहित्य पो आउँछ त पुछारसिटमा, दोहोरी बनेर ।

      त्यसो त राम्रै बहस पनि हुने गरेका छन् । समाज, साहित्य र साहित्य इतर विषयहरु छलफलमा समावेश भएका छन् थुप्रै पटक । यात्राको मर्म र त्यसको गाम्भीर्यका विषयमा चिन्तन गरेको पुछारसिटले पटक पटक । आफ्नै विशेषता छ पुछारसिटको । अलिखित कानुन छ । जो कोहीलाई अनुमति छैन बस्न । नबस पनि भनिँदैन कसैलाई । तर सजिलो पनि छैन आरामले बस्न । अक्षरयात्राको अर्को महत्त्वपूर्ण यात्रा बनेको छ पुछारसिट ।

      सबैलाई सबैको कुरा मन पर्दैन । विचार मन पर्दैन । गतिविधि मन पर्दैन । गीत पनि सबैलाई मन पर्दैन । हल्ला त झन् मन पर्ने कुरै भएन । र मन पर्नै पर्छ भन्ने पनि त छैन । यही हो अक्षरयात्राको पुछारसिट । यी र यस्तै कुुराहरुले भरिएको हुन्छ पुछारसिट । सत्य कुरा के भनेनि पुछारसिटले अक्षरयात्रालाई थप रोमाञ्चकारी बनाएको पक्का हो ।

      अक्षरयात्रीहरु सबै एकनासका कहाँ हुन्छन् र । कोही अलि उत्ताउला स्वभावका । कोही गम्भीर । कोही सामान्य । कोही हल्लाको पछि लाग्ने । कोही के, कोही के । सबै खालका यात्रीहरुको संयुक्त यात्रा हो अक्षरयात्रा । यो यात्रा आफैमा स्वतन्त्र यात्रा हो । निरपेक्ष रुपमा सुरुआत भयो । चलिरहेको छ यसरी नै ।

      पोखरा, न्युरोडको पंगेनी आर्टमा भएको चिया गफका क्रममा नै जन्म भएको हो अक्षरयात्रा ।सुन्दीडाँडाबाट सुरुआत भएको यो साहित्यिक अभियान विभिन्न जिल्लाहरुमा पुगेको छ । त्यहाँका विविध विषयवस्तु समेटेर सिर्जना गरिएका विभिन्न विधाका साहित्यिक खुराक पस्किएका छन् अक्षरयात्रीले । यसै क्रममा एक सय त्रिपन्नौं यात्राको रुपमा पर्वत, पाङ पुगेको हो यी सबैखाले यात्रीहरु बोकेर ग१ख ५९९६ नम्बरको बस ।

      चार दर्जनजति अक्षरयात्री । अलि गम्भीर लक्ष्मण थापा, डा. वसन्त गौतम, ईश्वरमणि अधिकारी, कल्याण पन्त, जिआर पराजुली अगाडि गफमा मस्त । सायद गफ कम र पुछारसिटको सुनाइ बढी हुनुपर्छ । नयाँ पुलमा चिया पिउन झर्दा प्रकट पगेनी शिव, दीपक समीप, प्रकाश ज्ञवाली, गनेस पौडेल मीठो मुस्कानका साथ पुछारसिटमै रमाइलो भन्दै थिए ।

      कुस्माको बन्दना होटलमा भोक बिसाएको केही समयपछि बस उकालो चढ्यो, पाङतिर । अघिल्लो दिन नै पर्वत पुगेका कपिल, सौगात र उदिपसँगै बन्दनामा नै भेटिएका थिए कार्यक्रमको चाँजोपाँजो मिलाउने मित्र शंकर ज्ञवाली ।  पार्वती गुफामा बस रोकियो । हामी सबै झर्यौं । स्वप्न संकेत र त्यही अनुसार हेर्दा भेटिएको रहेछ पार्वती गुफा । छविरमणका कुरा सुनेपछि गुफा झरियो । निधारमा टीका र घाँटीमा स्वागत स्वरुप एउटा खादा भिरेर ।

      गुफाभित्र पसेपछि बाहिर निस्कन नै गारो । हुनत गुफा पस्न पनि गारो नै हुन्छ । र पनि सबै गुफा आनन्ददायक नै हुन्छन् ।हरेक गुफा प्रिय हुन्छन् । हामी पहिलो पटक गुफा छिर्ने नै धेरै थियौं । र त धेरैलाई गुफा आनन्ददायक नै थियो । गुफाभित्र बन्दै गरेको मन्दिर र गुफाको दुवैतिरबाट देखिने आकाश सुन्दर देखिन्थ्यो ।

      पार्वती हिमालय पर्वतकी छोरी हुन् । पाङ पार्वतीको जन्मभूमि हो । भगवान महादेवलाई पति पाम भनेर तपस्या गर्न बसेको हुनाले यसको नाम पार्वती गुफा रहन गएको हो । पार्वती नुहाउन जाने सहस्रधारा पाङमा नै छ । पाङ ज्योतिष गाउँ पनि हो । त्यहाँका जनप्रतिनिधि र स्थानीयले अक्षर यात्रीलाई सुनाएपछि सिर्जना क्रम सुरु भयो । पाङका खरबारी, चौतारी, गुफा अनि रुखमा समेत बसेर त्यहाँको मौलिकतामा सिर्जनाको प्रसव खेपिरहेका अक्षर यात्री निकै हँसिला मुद्रामा कलम खेलाइरहेका भेटिन्थे ।

      अक्षर यात्राको जीवन राम्रोसँग हुर्किसकेको छ । यौटा गति लिइसकेको छ यात्राले । कति उकालाहरुमा र कति ओरालाहरुमा हिँडेको छ यात्रा । सधैं समथर भएर वयस्क हुन कहाँ सकिन्छ र । अनि यात्रा त अनन्त पो हुन्छ । यसको गति पछिल्लो समय झन् तीव्र भएको छ ।
      यात्रामा धेरै यात्रीहरु भेटिने र छुटिने क्रम जारी छ । चाल्नाले चालिएजस्ता केही यात्रीहरु मात्र अनवरत यात्रारत छन् । त्यसो त जीवन सबैको एकनास पनि हुँदैन । भोक र अभावका सारंगी पेट भर्न यात्रीहरु यताउता हुनु स्वाभाविकै हो । अक्षरयात्रा पनि कहिले उकालो त कहिले भिरालोमा हिडेको छ नै । कहिले पचासौं यात्री त कहिले चार जना यात्री पनि भएका छन् । जे होस यसले बनाएको एउटा आयाम साहित्यको अमिट इतिहास भने पक्का हो ।

      पुछारसिट पनि त्यस्तै हो । यसको यात्रा सम्म छ कि भिरालो छ, हेर्न बाँकी नै छ । त्यसो त पाङबाट फर्कंदै गर्दा धेरैको मुखमा झुन्डिएको होः सम्म छ कि भिरालो ।

      ठाडो भाकामा प्रतीकात्मक गीत भएर आएको सम्म छ कि भिरालो त यस यात्राको महत्त्वपूर्ण पाटो हो ।

      हेर्दा काले काले कुखुराको भाले
      गाउँदै हिड्छ गाउँघर
      पिपलुको छाया नचिनेको माया
      के पर्‍यो नाम थर
      ……………..
      ……………..
      चैतमासको घाममा पोखराको जाममा
      सम्म छ कि भिरालो ।

      मोहन भण्डारीले यात्रालाई वा जीवनलाई वा जवानीका पाटालाई खै केलाई हो, धेरै पटक सुनाए सम्म छ कि भिरालो र छोपे धेरै यात्रीले यसलाई ।

      सायद सबै अनभिज्ञ थिए कि जीवनको यात्रा सम्म छ या भिरालो । हुनत जीवन सम्म, भिर, उकालो, ओरालो सबैको पर्याय हो नै । अनि यात्रा पनि त उस्तै न हो । पुछारसिट मात्र नभएर सबै सिटमा बस्नेहरुले अक्षरयात्रा सम्म छ या भिरालो भनेर यकिन गर्न नसके पनि अक्षरयात्रा भने कहिल्यै सम्म मात्र हुँदैन र हुँदैन भिरालो मात्र पनि । कहिले सम्म र कहिले भिरालो बनेर नै सही, अक्षरयात्रा अनवरत यात्रामा यात्रारत बनिरहन्छ । र त अक्षरयात्रा नेपाली साहित्यको एउटा नितान्त मौलिक एवं नवीनतम साहित्यिक आयाम बनेको छ ।

      alpagyani@gmail.com


      प्रतिकृया दिनुहोस्