Samadhan National Daily

      हुलाक र हुलाकी फेरिए, चिठ्ठी हैन अब अनलाइन पार्सल बाेक्दै

      पोखरा, ३१ बैशाख:

      चिठी आदान प्रदानको समय अहिले लगभग सकिएको छ । इमेल र इन्टरनेटको जमाना आएपछि भने न विदेशबाट चिठी आउँछ न सहरबाट आफन्तको ।

      रेडियो सुनेर या पत्रपत्रिका पढेर पत्रमित्रताको अनुरोध गर्ने दिन पनि सकिए । ती सबै अचेल फेसबुक, इमेल, टिवटर लयागत सामाजिक सञ्जालले गर्छन् । सबै जिल्लाका हुलाक कार्यालयका कर्मचारी खाली समय गुजारिरहेको खबर आइरहन्छ । तर पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय कास्कीले भने फरक किसिमबाट आफ्नो सेवा दिइरहेको छ ।

      पहिले जस्तो धेरै मात्रामा चिठी आउन छाडे पनि निर्देशनालय पोखराले बिजनेस हल्काराको काम पाएको छ । फरक ढंगले आफ्नो अस्तित्वको रक्षा गरिरहेको निर्देशनालयमा अनलाइन बिजनेसले गर्दा अहिले पनि काम गर्ने कर्मचारीको अभाव खड्किरहन्छ । घरघरमा चिठीपत्र पुर्‍याउने हल्कारा र हुलाकीकै समस्या छ निर्देशनालयमा ।

      अझै पनि दिनहुँ सयौंको संख्यामा चिठी पनि आइरहन्छन्, देशविदेशबाट तर ती अफिसियल काम र डकुमेन्टका चिठी हुन्छन् जस्लाई सम्बन्धित स्थनमा पुर्‍याउनु पर्ने हुन्छ । त्योबाहेक निर्देशनालयमा अहिले सबैभन्दा बढी काम अनलाइन बिजनेसवालाले दिलाउँछन्, नेपालमा बसेर विदेशका अनलाइनसँग माग गरेको वस्तु टुप्लुक्क आइपुग्छ हुलाक कार्यालयमा । हुलाकी ठेगाना बोकेर पुर्‍याउन दौडिहाल्छन् । पार्सलमा आएको सामान २० किलोग्रामसम्म तौल हुने गर्छ ।

      पहिलेपहिले चिठीपत्र बोकेर घरघर पुग्ने कर्मचारी अहिले सेवाग्राहीले अनलाइनमार्फत मगाएका सामग्री ठेगानामा पु¥याउन हम्मेहम्मे परेको छ । कहिले कहाँबाट सामान आइपुग्छ त कहिले कहाँबाट । चिठी छाडेर पार्सल हल्कारामा लागेको निर्देशनालयमा अहिले कर्मचारी अभाव भएपछि काममा समस्या आएको निर्देशनालयका निर्देशक गोपालप्रसाद शर्माले बताउँछन् । भन्छन्, ‘अरु क्षेत्रका हुलाकमा कर्मचारी बढी भएको समाचार सुनिए पनि कास्कीमा भने कर्मचारी अभावले काममा अवरोध सिर्जना भएको छ ।’

      निर्देशक शर्माले कार्यालयमा अहिले निजामती दरबन्दीको आवश्यकतातर्फ १ सय ३९ जना रहे पनि ५७ जनाको पद रिक्त भएको जानकारी दिए । रिक्त पदमा हुलाकी र हल्काराको बढी मात्रामा कमी छ । कार्यालयमा सेवा प्रवाहमा मुख्य भूमिका निवाह गर्ने हुलाकी पदमा नैै ४६ जनशक्तिको अभाव छ । ‘त्यसमध्ये १५ जना सेवा करारबाट लिएका छौं । ३१ जना कर्मचारीको अझै अभाव छ,’ उनी भन्छन्, ‘कर्मचारीको अभाव छ पदपूर्ति भयो भने काम अझै प्रभावकारी रुपमा लैजान सक्छौं भन्ने लाग्छ ।’

      हुलाक सेवालाई छिटो र भरपर्दो बनाउन चालु हुलाक सेवा विभागका तर्फबाट आर्थिक वर्ष २०७३÷०७४मा ६ वटा हेभी ट्रक, इको भ्यान ६ वटा, खरिद गरेर सेवा दिइरहेको बताए । ‘पोखरा महानगरमा पनि जनघनत्व बढेकाले महानगरलाई ४ वटा इको भ्यान माग गरेका छौं, त्यो आएपछि मोबाइल सेवा उपलब्ध हुन्छ ।’ महानगरले माग पूरा गर्‍यो भने र कमचारी दरबन्दी भए काम अझ प्रभावकारी ढंगले बताउने शर्माले जनकारी दिए । उनले भने, ‘साधन र स्रोत भयो भने अहिलेको भन्दा दोब्बर काम गर्छौंं ।’

      कास्की जिल्लामा हाल ५१ वटा हुलाक इकाई, इलाका हुलाक १३, अतिरिक्त हुलाक ३७ रहेको कार्यालय कि नायब सुब्बा कमला शर्माले बताइन् । कार्यालयले चिठी आदान प्रदानको काम भएपनि समय फेरिएर अन्य काम भइरेको बताए । ‘पहिले जस्तो घरायसी चिठी आदानप्रदान हुँदैन तर अनलाइन काम धेरै हुन्छ,’ उनले भनिन्, ‘कार्यालयमा अहिले पोखरेलीले माग गरेको विदेशी अनलाइनको सामान पुर्‍याउने काम गर्छ ।’ कार्यालयका हल्काराले २० किलोग्राम सम्मको सामान पु¥याउने काम गरिरहेको उनको समाधानलाई जानकारी दिइन् ।

      हुलाक कार्यालयको काम छैन भिनिए पनि प्रविधिको परिवर्तनसँगै काम पक्रिया पनि फेरिएको नासु शर्मालेको भनाइ थियो । उनी भन्छिन्, ‘बाहिरबाट हेर्दा हुलाकले चिठी पत्रको काम मात्रै गर्छ भन्ने लाग्छ तर त्यस्तो होइन । भित्र त अनलाइनदेखि बैंकिङ कामसमेत हुन्छ ।’ हुलाक सेवा विस्तारै प्रविधिमैत्री बन्दै गएको र चाँडै नै युरोप र अमेरिकी मुलुकको जस्तो सम्मानित ओहोदामा पुग्ने उनले विश्वास व्यक्त गरिन् । इमेल इन्टरनेटले अन्य जिल्लामा फरक पारे पनि पोखरा पर्यटकीय स्थल भएकाले त्यस्तो फरक नपरेको उनले बताइन् ।

      पत्राचारको शैली पहिलाभन्दा घटे पनि अहिले त्यो भन्दा बढी राजश्व असुलहुने गरेको खरिदार अन्जना शर्माले बताइन् । निर्देशनालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ करोड १४ लाख ८१ हजार ५ सय २६ असुल राजश्व असुल गरेको शर्माले जानकारी दिइन् । ‘अघिल्लो आर्थिक वर्षमा १ करोड ३५ लाख आम्दनी भएको र यस वर्ष १ करोड ४० लाख असुल गर्ने अनुमान गरेका छौं,’ उनले भनिन् । गत वर्षभन्दा यो वर्ष अनलाइन बिजनेस गर्नेको संख्या बढेका कारण राजस्व बढ्ने अपेक्षा रहेको उनको भनाइ थियो ।

      कार्यालयलाई अझ प्रभावकारी बनाउन २ धारका योजना रहेको निर्देशक शर्माले बताए । उनका अनुसार अहिले योजना हुलाकलाई व्यावसायीकरण गर्ने कि सेवामुखी बनाउने भन्ने विषयमा केन्द्रित छ । शर्माले भने, ‘प्राधिकरण बनाउने या सेवामूलक नै बनाउने कुरा टुंगो लागिसकेको छैन ।’ निर्देशनालयमा अहिले पनि दिनमा ४ सयको हाराहारीमा चिठी पत्र आउने र धेरै जसो पोष्ट कार्ड र संस्थाका चिठी आउने खरिदार अन्जना शर्माले जानकारी दिइन् । निर्देशनालयमा अहिले १३ केवल टेलिभिजन, २३ एफएम रेडियो र १२ पत्रपत्रिका दर्ता छन् ।


      प्रतिकृया दिनुहोस्