Samadhan National Daily

      तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ को मनोनयन सार्वजनिक, वीरेन्द्रसिंह गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

      पाेखरा, २ जेठ:

      पोखरामा जेठ १८ गते हुने तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ मा मनोनयनमा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरिएको छ ।

      आयोजक नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर उत्कृष्ट ३ मनोनयन सार्वजनिक गरेको हो ।पोखरा स्पोर्टस् अवार्डको सर्वोत्कृष्ट वर्ष खेलाडी पुरुषमा कमलबहादुर भण्डारी (शारीरिक सुगठन), करण केसी (क्रिकेट) र तिलक पुन मगर (आर्चरी) मनोनयनमा परेका छन् ।

      अवार्ड समारोहमा सर्वोत्कृष्ट छनोट गरी टिभिएस अपाचे मोटरसाइकल, दोसल्लासहित ट्रफी प्रदान गरिनेछ । सर्वोत्कृष्ट वर्ष खेलाडी महिलातर्फ विमला नेपाली (सितेरियो कराँते), कमला पुन (हक्की) र केशरी आले मगर (आर्चरी) मनोनयमा परेका छन् ।

      अवार्ड जित्नेले टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्लाका साथ पुरस्कृत हुने मञ्च कास्कीले जनाएको छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडीतर्फ विवेक अधिकारी (एथ्लेटिक्स), बुद्धिमाया मगर ‘कविता’ (कब्ड्डी) मेगबहादुर सेन (क्रिकेट) मनोनयनमा परेका छन् ।

      यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षक विधामा जीवन घिमिरे (शारीरिक सुगठन), रिजन प्रजु (क्रिकेट) र शिवबहादुर गुरुङ (फुल कन्ट्याक्ट कराँते) मनोनयनमा परेका छन् । यी दुइ विधामा अवार्ड प्राप्त गर्नेलाई नगद १५ हजार, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चले जनाएको छ ।

      साथै, चारै विधामा उत्कृष्टलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान सामसुङ कम्पनीको मोबाइल समेत प्रदान गरिने मञ्च कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए । मञ्चले यस वर्ष सर्वोत्कृष्ट उत्कृष्ट खेल संघ विधामा कास्की जिल्ला ब्याडमिन्टन संघलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

      अवार्ड वितरण समारोहमा संघलाई नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ । खेलकुद पत्रकार मञ्च कास्कीले यस वर्षदेखि खेल पर्यटन पत्रकारिता पुरस्कारको विधा पनि थपेको छ ।

      कास्कीमा रही कम्तिमा ५ वर्ष खेलकुदलाई पर्यटनसँग जोडेर कलम चलाउँदै आएका १ जना पत्रकारलाई हरेक वर्ष नगद १५ हजारसहित दोसल्ला र ताम्रपत्रले पुरस्कृत गर्ने उद्देश्यले यस वर्षदेखि यो विधा थपेको मञ्च कास्कीका सचिव रञ्जन अधिकारीले जनाए ।

      सो अवसरमा खेलसम्बन्धी गीत गाएर योगदान दिएको भन्दै गायक विनोद बानियालाईसमेत सम्मान गरिने भएको छ ।

      लाइफटाइम एचिभमेन्ट अवार्ड गुरुङलाई

      खेलकुद पत्रकार मञ्च कास्कीले यसवर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेल पूर्वाधारका अभियन्ता प्राडा वीरेन्द्रसिंह गुरुङलाई सम्मान गर्ने भएको छ ।

      प्राज्ञिक क्षेत्रका व्यक्तित्व रहेर पनि पोखरामा खेलकुदका विकासमा उनले पुर्याएको योगदानको कदर गर्दै मञ्चले सम्मान गर्न लागेको हो । उनी पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख हुन् ।

      पोखरामा हक्की खेल भित्र्याउने श्रेय उनलाई नै जान्छ । लनटेनिससँगै अहिले लोकप्रिय बनेको क्रिकेट खेलको विकास र पूर्वाधार निर्माणमा उनको महत्वपूर्ण योगदान छ ।

      भूतपूर्व खेलाडी मञ्च नेपालका पूर्व अध्यक्ष समेत रहेका गुरुङ २०६१ सालमा पोखरा रंगशाला पर्खाल निर्माण समितिको संयोजक पनि हुन् । क्यानका पूर्व उपाध्यक्ष, कास्की क्रिकेटका पूर्व अध्यक्ष, क्रिकेट मैदान निर्माण संयोजक समेत भएर गुरुङले योगदान गरेका छन् ।

      उनलाई पोखरा स्पोर्टस अवार्ड वितरण समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक दीननाथ बरालले जानकारी दिए ।

      पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पत्रकारले आयोजना गरेको यो अवार्ड पत्रकार र खेलाडीको मात्र नभई सम्पूर्ण पोखरेलीको प्रतिष्ठाको विषय भएको बताए ।


      प्रतिकृया दिनुहोस्