Samadhan National Daily

      यस्तो जेल, जहाँ कैदीलाई सुविधा र प्रेम वर्जित छैन

      पोखरा, १५ जेठ:

      रेनाटो दा सिल्भा जुनियरको इच्छा छ, वकिल बन्ने । तर, उनको सपनामा एउटा अवरोध छ, त्यो हो, उनी हत्या आरोपमा २० वर्षको कैद सजाय भुक्तान गरिरहेका छन् ।

      ‘मेरा गल्तीहरुभन्दा मेरा सपनाहरु ठूला छन्,’ उनी मुस्कुराउँदै भन्छन्, ‘यहाँबाट सकेसम्म चाँडो निस्किन म सबैथोक गरिरहेको छु ।’
      एसोसिएसन फर दी प्रोटेक्सटन एन्ड असिस्टेन्स टु कन्भिक्ट्स (एप्याक) ले सञ्चालन गरेको जेलका कैदी हुन् २८ वर्षे दा सिल्भा । यो जेल ब्राजिलको मिना जेराइ राज्यको इताउना सहरमा अवस्थित छ । यो पुरुषहरुलाई राखिएको जेल हो, जुन अन्य जेलहरुभन्दा धेरै अर्थमा फरक छ ।

      इताउना सहरकै अर्काे कुनामा यस्तै शैलीको अर्काे एप्याक जेल छ । त्यसमा चाहिँ महिला कैदी मात्र छन् । सो जेलमा सरेको दिन तात्याना कोरिया डी लिमाले आफैंलाई चिनिनन् । १२ वर्षका लागि जेल परेकी २ बच्चाकी आमा २६ वर्षीया लिमाले यो जेलमा सरेपछि ऐना हेर्न पाएकी थिइन् । ‘ऐनामा फेरि आफूलाई हेर्नु निकै अनौठो कुरा थियो । सुरुमा त म को हुँ ठम्याउनै सकिनँ,’ उनले भनिन् ।

      बन्दुक र सुरक्षाकर्मी बिनाका जेल
      एप्याक जेलका कैदीलाई आफ्नै कपडा लगाउन अनुमति छ । आफ्नो खाना आफैं पकाउन, ऐना राख्न, शृंगार गर्न, कपाल रंगाउन र सबैभन्दा ठूलो कुरा जेलको साँचो आफैंसँग राख्न पनि अनुमति छ । यिनमा न सुरक्षाकर्मी हुन्छन्, न कुनै हतियार । कैदी भेट्न आउनेहरुलाई एक कैदीले नै स्वागत गर्छन्, मुख्य ढोका खोलिदिन्छन् ।

      जेलको दूरावस्थाका कारण ब्राजिल बेलाबखत चर्चामा आइरहन्छ । भीडभाड र हिंसात्मक झडपहरु भइरहन्छन् । सबैभन्दा धेरै कैदी संख्या रहेको देशमध्ये ब्राजिल चौथो नम्बरमा पर्छ । गत मार्च २० मा रोन्दोनियामा नयाँ एप्याक जेल खुलेसँगै देशभर यस्तो जेलको संख्या ४९ पुगेको छ । पछिल्लो समय एप्याक जेललाई सुरक्षित र सस्तो मानिन थालिएको छ । मानवअधिकारको सवालमा समेत यी जेल अगाडि आउँछन् ।

      एप्याकका सबै कैदीले पहिले मूलधारको जेल पास भएर आउनुपर्छ । उनीहरुले आफ्नो गल्तीप्रति पश्चाताप प्रकट गर्नुपर्छ र काम तथा अध्ययनको कठिन तालिकालाई पछ्याउनुपर्छ । यस्तो जेलको मुख्य आदर्श नै काम तथा अध्ययन हो ।

      यस्ता जेलमा कैदीलाई नम्बर वा उपनामबाट बोलाइँदैन । कैदीहरुलाई ‘सुधार हुँदै गएका मानिस’ भन्ने गरिन्छ । जेलमा रहनेहरुले काम र अध्ययन गर्नैपर्छ । यस्ता काम कहिलेकाहीं स्थानीय समुदायसँग मिलेर पनि गरिन्छ । यसमा आनाकानी गरे उनीहरुलाई मूलधारको जेल फिर्ता पठाइन्छ ।

      यस्ता जेलमा कहिलेकाहीं भीडन्त हुने गरेका छन् । तर, त्यसको कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन । एप्याक जेललाई सहयोग गर्ने इटालियन एनजिओ एभिएसआइ फाउन्डेसनका ब्राजिल उपाध्यक्ष याकापो स्याटियालोका अनुसार जेलमा सुरक्षाकर्मी नहुँदा तनाव आफैं कम हुन्छ । जेलमा रहेका कतिपय कैदी हिंस्रक अपराधका लागि जन्मकैद भोगिरहेका छन् तैपनि जेलको वातावरण शान्त छ ।

      जहाँ प्रेम वर्जित छैन
      यस्ता जेलमा दम्पत्ती वा प्रेमी जोडीका लागि विशेष सुविधा पनि छ । महिला जेलमा मजाले सजाइएको १ दाम्पत्य कोठा छ, जहाँ डबल बेड राखिएको छ । र जेलमा रहेका महिलाले बाहिरबाट भेट्न आएका आफ्ना पति तथा प्रेमीसँग त्यही कोठामा निजी समय बिताउन पाउँछन् ।
      ‘म अझै पुरानो जेल बिर्सिने प्रयासमा छु,’ एक कैदी तथा नयाँ जेलको प्रशासन सम्हालिरहेकी अग्विमारा प्याट्रिसिया सिल्भिया क्याम्पोस भन्छिन् । घरमा २६ किलो कोकिन भेटिएपछि उनी जेल परेकी थिइन् । ‘२० जना भुइँमा म्याट्रेस ओच्छ्याएर सँगै पल्टेका थिए,’ उनी सम्झिन्छिन् ।

      ब्राजिलमा महिला कैदीहरुको संख्या बढ्दो छ । तिनका पार्टनरद्वारा महिलाहरु अपराधमा तानिने गर्छन् । ‘म जेल जाँदासम्म मलाई अपराधबारे केही थाहा थिएन,’ क्याम्पोस भन्छिन्, ‘मसँगै जेलमा रहेकी एक महिलाले छिमेकीको टाउको छिनाएर सुटकेसमा बोकेर हिँडेकी थिइन् ।’

      ८ वर्षका लागि जेल परेकी उनी कामका माध्यमबाट सजाय घटाइरहेकी छन् । काम र अध्ययनका माध्यमबाट सजाय घटाउने व्यवस्था मूलधारको जेलमा पनि छ तर त्यो विरलै लागु हुने गर्छ ।

      एप्याक जेलमा ३ प्रकारको व्यवस्था छ । बन्द व्यवस्था, अर्धखुल्ला व्यवस्था र खुल्ला व्यवस्था । जेल परेपछि पहिलो पटक ऐना हेरेर चकित बनेकी लिमा अहिलेलाई बन्द व्यवस्थामा छिन् । उनले अर्धखुल्ला व्यवस्थामा पुग्नका लागि प्रगति गर्नुपर्ने हुन्छ । खुल्ला व्यवस्थामा रहेकाहरुले चाहिँ सातामा एक पटक जेलबाट बाहिर जान पनि पाउँछन् ।

      जेलभित्रै रहे पनि लिमाले एक प्रेमी फेला पारेकी छन् । जेलको आफ्नै कोठामा बसेर लिमा र उनको साथी भिभियनले सहरको अर्कोपट्टि रहेको पुरुष कैदी राखिएको एप्याक जेलमा पत्र लेखेका थिए । जेल प्रशासनमार्फत पत्र आदानप्रदान गरेपछि पुरुष जेलका २ साथीसँग डेट गर्न थालेका थिए ।

      महिला जेलको भित्तामा सन्देश लेखिएको छ, ‘मायाबाट कोही पनि भाग्न चाहँदैन ।’ एप्याक जेलमा रहेका सबै कैदीले साथ पाउन् भन्ने आफूहरुको इच्छा रहेको जेल सञ्चालकहरु बताउँछन् ।

      किन खुल्दैनन् अरु एप्याक जेल ?
      इताउनाको पुरुष कैदी राखिएको जेलको ढोका एक सुधारिँदै गरेका व्यक्ति डेविड रोड्रिगेज दा ओलिभिएराले खोले ।
      ‘यहाँबाट भाग्ने कुनै सोच छैन । म सजायको अन्तिममा आइपुगेको छु र आफ्नो अपराधको मूल्य लगभग चुकाइसकेको छु । उनीहरुले ममाथि विश्वास गरेका छन् । मेरो जिम्मा भनेको ढोकाको रेखदेख गर्नु हो,’ ३२ वर्षे दा ओलिभिएराले भने ।

      यो जेलमा बिरामी हुँदा वा सजाय दिइँदाको बेला बाहेक कैदीलाई आफ्नो कोठामा बसिरहने अनुमति छैन । यदि उनीहरुले भाग्ने प्रयत्न गरे भने उनीहरुलाई मूलधारको जेलमा फर्काइन्छ ।

      जेलको अर्धखुल्ला खण्डमा ३५ वर्षे रोड्रिगो दे ओलिभिएरो पिन्टो स्टोररुम चलाउँछन् । उनको डेस्कमा एउटा कविता संग्रहको पुस्तक पल्टिरहेको देखिन्छ । हत्या आरोपमा उनी १२ वर्षको जेल जीवन काटिरहेका छन् । जेलबाट छुटेपछि पनि उनी एप्याकमै काम गर्न चाहन्छन् ।

      ‘मेरो दिमाग गडबड भएको थियो र म संकटमा परें । यहाँ आएपछि म बदलिएँ । यहीं फर्केर म अरुलाई सहयोग गर्न चाहन्छु,’ उनले भने । बन्द क्षेत्रको भित्तामा एप्याकको नारा लेखिएको छ, ‘मानिस भित्र छिर्छ, अपराध बाहिरै रहन्छ ।’

      बन्द क्षेत्रमा काठको काम गर्ने कोठा छ । अर्ध खुल्लामा पुगेपछि जेलबाहिर निस्केर काम गर्ने मौका कैदीहरुले पाउँछन् । जेल भवनपछाडिको बगैंचामा ३१ वर्षे रेनाटो डिएगो दा सुजा साबुनको बट्टामा लेवल लगाइरहेका छन् । ती साबुन बाहिर बेचिन्छन् । कैदीहरुले स्थानीय स्कुलका लागि पाउरोटी पनि तयार गर्छन् । खेलौनाहरु बनाउँछन् । लागुऔषधबाट आफ्नो समस्या सुरु भएको दा सुजा बताउँछन् । जसले गर्दा उनी लुटपाटमा सहभागी भए । तर एप्याक जेलको अर्धखुल्ला व्यवस्थामा आइसकेपछि उनको जीवनमा आशाको दीयो बलेको छ ।

      बन्द व्यवस्थाबाट खुलातर्फ सरुवा हुने सम्भावनाका बारेमा कैदीहरुबीच छलफल चलिरहन्छ । एप्याक जेलहरुको यस्तो सफलताको बावजुद निकै कम यस्ता जेल खुलेका छन् । किन त? ‘जब ब्राजिलको जेलमा दंगा हुन्छ, तब एप्याक खोल्ने कुरा हुन्छ । तर, त्यसका लागि कैयौं कुरा आवश्यक हुन्छ । यसमा राज्यको सहभागिता हुनुपर्छ र राजनीतिक इच्छाशक्ति पनि चाहिन्छ,’ याकापो स्याटियालो भन्छन् ।

      (बिबिसी र गार्डियनमा प्रकाशित रिपोर्टको सहयोगमा)

      फोटाे क्याप्सनः महिला जेलकी तात्याना कोरिया डे लिमा र पुरुष जेलका रेनाटो दा सिल्भा
      फोटो क्याप्सनः पुरुष जेलमा लेखिएको नारा ‘मानिस भित्र छिर्छ तर अपराध बाहिरै रहन्छ’


      प्रतिकृया दिनुहोस्