• Ad

Samadhan National Daily

  • Ad

लेकसाइड भर्सेज लेकसाइड

पाेखरा, ३१ जेठ:

जब बाह्य संसार सुत्छ तब पर्यटकीय सहर जाग्छ । पर्यटकीय सहरले कमाउने पर्यटकहरुबाट हो । उनीहरुलाई सक्दो खर्च गर्ने वातावरण तयार गराउनु राज्य र व्यवसायीको दायित्व हो ।

सबै भन्दा ठूलो सँस्था हो ‘पोखरा पर्यटन परिषद्’, यही संस्था सबैभन्दा कमजोर छ । न बजेट छ, न यसले आफ्ना सदस्य संघ–संस्थाहरुलाई रुल गर्न सक्छ । छाता संगठन नै पेन्डुलम जस्तो ।

खबर आयो–लेकसाइडको नो भेहिकल जोन हट्यो । किन ? एक जिम्मेवारप्रहरी अधिकारीलाई सोधें । कारण सुने लगत्तै उनलाई विकल्प दिएँ, अब सो सडकलाई ‘नो पार्किङ जोन’ बनाऔं । गाडी गुड्न, मान्छे चढ्न र झर्न दिने तर पार्किङ गर्न नदिने । जिम्मेवारी सम्हाल्नेताका बडो उत्साहका साथ काम थालेका ती प्रहरी अधिकृतले निराश स्वरमा जवाफ दिए,‘भो सर केही नगर्ने,जस्तो छ, त्यस्तै रहन दिने ।’

अनि याद आयो करिब ८ महिना अघिको कुरा । भर्खरै महानगरको मेयर जितेका पोखराका मेयरसाब केही राम्रो कामको सुरुआत गरौं भन्ने मुडमा थिए । पर्यटकीय सहरको मेयर भएका कारण लेकसाइडबाटै काम थालनी गर्ने चाह पनि । त्यसैले साँझ परेपछि अस्तव्यस्त लेकसाइको मुख्य सडकलाई नो पार्किङ जोन घोषणा गर्ने सोच बनाए र लेकसाइड कै व्यवसायीसँग प्रतिनिधिमूलक छलफल गरे । छलफलका सहभागीले मेयरसाबलाई उल्टै घुमाइदिएछन् । लेकसाइडलाई नो पार्किङ जोनबनाउन गएका मेयरसाब पूरै पोखरालाई ‘नो हर्न जोन’ बनाउने घोषणा गर्न पो कन्भिन्स भएछन् । त्यही घोषणा भयो । हाँसो लाग्छ । ५० जना पनि पुग–नपुग ट्राफिक प्रहरी छन्, महानगर भित्र जताततै साँघुरा र घुम्तीबाटाहरु छन् । यस्तो सहरमा के लागु हुन्थ्यो ‘नो हर्न जोन’ ।

केही समयपछि फेरि लेकसाइडले प्रस्ताव ल्यायो, हरेक शुक्रबार र शनिबार ५ बजेदेखि राति १ बजेसम्म ‘नो भेहिकल जोन’ बनाउने । मेयरसाब कन्भिन्स थिएनन् । भन्दै थिए,‘लागु गर्न गाह्रो छ ।’ स्थानीय केही व्यवसायी र केही जनप्रतिनिधि मिलेरै महानगर र प्रहरीलाई दबाब दिए । तामझामका साथ उद्घाटन गरियो । अहिले फेरि तिनै व्यवसायी मिलेर नो भेहिकल जोनका विरुद्धमा हस्ताक्षर अभियान सञ्चालन गरे । दबाब थेग्न सकेनन् र वडाध्यक्षले नो भेहिकल जोन हटेको घोषणा गरे ।

अहिले अर्को बहस छ लेकसाइडमा । रेस्टुरेन्ट व्यवसाय राति ११.३० बजे भित्र बन्द गरिसक्नुपर्ने सूचना प्रहरी प्रशासनले जारी गरेपछिको बहस हो यो । नो भेहिकल जोन हटे लगत्तै प्रहरीले यस्तो सूचना जारी गरेको छ । ‘८ बजे रात पर्छ, ११ बजे रेस्टुरेन्ट बन्दको तयारी गर्नुपर्छ । पोखरामा मस्ती गर्न आएका पर्यटकलाई खाना खाएर सुत्न जानकै हतारो ।’ चोक–चोकमा यस्तै प्रतिक्रिया सुन्न पाइन्छ ।

हो पोखरा देशकै ठूलो पर्यटकीय सहर हो । यहाँ विश्वभरकै पर्यटक आउँछन् । आन्तरिक पर्यटकको संख्या पनि ४० प्रतिशतभन्दा माथि छ । संसारका सबै पर्यटकीय सहरहरु २४ सै घन्टा खुला हुन्छन् । जब बाह्य संसार सुत्छ तब पर्यटकीय सहर जाग्छ । पर्यटकीय सहरले कमाउने पर्यटकहरुबाट हो । उनीहरुलाई सक्दो खर्च गर्ने वातावरण तयार गराउनु राज्य र व्यवसायीको दायित्व हो । पोखरा घुम्न आउनेले जति धेरै खर्च गर्छन् पोखराको जिडिपी त्यतिधेरै बढ्छ ।त्यसैले पर्यटकीय सहर रातभर पनि खोलिन्छ र मस्त मनोरञ्जन दिलाएर पुस्त पैसा झारिन्छ । तर, नेपालको ठूलो पर्यटकीय सहरको कथा अर्कै छ । ८ बज्दा नबज्दै मुख्य बजार महेन्द्रपुल न्युरोडलगायतको क्षेत्र सुनसान हुन्छ, ११ बज्दा नबज्दै लेकसाइड । १० बजेपछि बजारका किराना पसल बन्द गराउँदै हिँड्ने प्रहरी ११ बजेपछि लेकसाइडका रेस्टुरेन्टमा पस्न थाल्छ । यस्तै कारणले जुन गतिमा पोखराको पर्यटन उद्योग फस्टाउनु पर्ने हो फस्टाएको छैन ।

यो हुनुमा दोषी को त ? मुख्य सवाल यो हो । लेकसाइड २४ सै घन्टा खुल्ला गर्ने कुरा पटक–पटक उठ्ने गरेका छन् । यहाँसम्म कि मुलुककै गृहमन्त्रीले समेत लेकसाइड २४ घन्टा खुला गराउने गरी सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएकै हुन् ।यहाँका प्रहरी प्रशासनका अधिकारीहरुको त कुरै छोडौं । तर, लेकसाइडका रेस्टुरेन्टमा ११.३० अघि नै प्रहरीको गस्ती हुन्छ ।कतिपय रेस्टुरेन्टमा खाँदै गरेका पर्यटकको भागाभाग हुन्छ । यसको कारण अरु केही होइन, एउटै कारण हो– लेकसाइड विरुद्ध लेकसाइड । लेकसाइडका व्यवसायीबीच पटक्कै एकता छैन । उनीहरु विभिन्न संघ–संगठन खोलेर १ त भएका छन्, तर एकता छैन । मान्छे मिल्छन, मन मिलाउँदैनन् । लेकसाइडको हितभन्दा आफ्नो हितको ध्याउन्न छ । एउटाका विरुद्ध अर्को लाग्दा लाग्दै लेकसाइड अहिले कमजोर भएको छ ।

घटना बग्रेल्ती छन्, बुझ्नका लागि एउटै उदाहरण काफी छ–सडक महोत्सव । सडकमा खाने, सडकमै नाँच्ने र सडकमै रमाउने थिम हो सडक महोत्सवको । अहिले ‘सटर’ महोत्सव भएकोछ ।सडक महोत्सव सडकमै गर्नुपर्छ भनेर एकमत हुन सक्दैन लेकसाइड । सडक महोत्सवले अफ सिजनलाई पनि सिजन बनाइदियो भन्ने भुलिसक्यो लेकसाइडले । स्थानीय प्रशासनमा त्यहींकै व्यवसायी र बासिन्दाको असन्तुष्टी पनि दर्ज भएकै हो । त्यसैले प्रहरी प्रशासनले सटर महोत्सव बनाउन दबाब दियो । एकजुट भए पो दबाब थेग्न सक्थ्यो लेकसाइडले । सकेन त्यसको परिणाम अहिले देखिएको छ ।

अर्को कुरा होटल र रेस्टुरेन्ट नङ र मासु जस्तै हुन् । यिनीहरुबीच कुनै तालमेल छैन । अरु संघ सस्थाको सम्बन्ध पनि औपचारिक जस्तो छ । पोखराका पर्यटनसँग सम्बन्धित संघ–संस्था मध्ये सबै भन्दा ठूलो सँस्था हो ‘पोखरा पर्यटन परिषद्’, यही संस्था सबैभन्दा कमजोर छ । न बजेट छ, न यसले आफ्ना सदस्य संघ–संस्थाहरुलाई रुल गर्न सक्छ । छाता संगठन नै पेन्डुलम जस्तो । यस्तो भएपछि पर्यटन व्यवसायी स्वभाविक रुपमा निरीह बन्ने नै भए ।

अन्यथा नमान्ने हो भने लेकसाइड पोखराबाटै पृथक जस्तो छ । अन्य बजारले लेकसाइडलाई आफ्नो भन्न सक्दैन । पोखरा उद्योग वाणिज्य संघका निर्वाचनलाई आधार मान्ने हो भने अहिलेसम्म १ जना पर्यटन व्यवसायीले पनि संघको सदस्यमा निर्वाचन जित्न सकेको छैन । पोखराको उद्योग व्यापारमा लेकसाइडको ठूलो हात छ । लेकसाइड बिनाको पोखरा उद्योग वाणिज्य संघ नुन नलागेको पुदिनाको चटनी जस्तो हुन्छ । र पनि बजारसँग असम्बन्धित जस्तै छ लेकसाइड । किन यस्तो भइरहेको छ ? खोज्नु पर्छ लेकसाइडले । पोखरामात्र होइन, समग्र कास्की र प्रदेश नम्बर ४ कै विकासमा मुख्य भूमिका लेकसाइड कै रहन्छ । लेकसाइड हुन्नथ्यो त हाम्रो पर्यटन उद्योग कहाँ हुन्थ्यो ? पर्यटन उद्योग हुन्नथ्यो त पोखराको आर्थिक हैसियत कहाँ हुन्थ्यो ? लेकसाइड हुन्नथ्यो भने पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल माग्दै गरिएको आन्दोलन को हालत के हुन्थ्यो ? यी कुरा आत्मबोध गराउन चुकेको छ लेकसाइड ।

अहिले फेरि संकटमा परेको छ लेकसाइड । विश्वकपको महासंग्राम शुरु हुनै लाग्दा लेकसाइड ११ बजे नै सुनसान बन्नु पर्नेछ । प्रहरीले त्यही भनेर पत्र पठाइसकेको छ । राति ११.४५ मा महासंग्राम सुरु हुने समय तालिका छ तर ११.३० मै रेस्टुरेन्ट बन्द गर भन्दै भित्र पस्दैछ प्रहरी । यस्तो भयो भने विदेशी पाहुना जो पोखरा पनि घुम्ने र विश्वकप हेर्दै छुट्टी मनाउने मनसायले आएका छन्, उनीहरुले पोखरा बसाई छोट्याउन बाध्य हुनेछन् । यसको प्रतिवाद गर्न सक्दैन लेकसाइड । केही पर्यटन व्यवसायीले पत्रकारलाई फोन गर्छन् र भन्छन्–लौन हजुर लेखिदिनु प¥योे, हाम्रो व्यवसाय त चौपट हुने भयो ।’ तर, समाचार वा लेखमा आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्न पनि भुल्दैनन् । भन्छन्, ‘समस्या यही हो, किन प्रहरी प्रशासनको तारो बन्नु ?’

के प्रहरी प्रशासन लेकसाइड विरुद्ध लागेकै हो त ? प्रहरीको पनि आफ्नै पीडा छ । २४ सै घन्टा खोल्ने वातावरण बनाउन जति दबाब प्रहरी प्रशासनलाई पर्छ त्योभन्दा बढी दबाब उनीहरुलाई लेकसाइड शान्त चाहियो भन्नेहरुले दिन्छन् । ‘११ बजेपछि हाम्रा पाहुना सुत्न पाउनु पर्छ भन्नेहरुको दबाब थेगिनसक्नु छ ।’१ उच्च प्रहरी अधिकारीले पंक्तिकारसँग दुखेसो पोखे–‘उठी सुख न बसी सुख ।’ सुरक्षा अधिकारीहरुसँग अनौठो अनुभव पनि छन् । दिउँसो २४ सै घन्टा लेकसाइड खुल्ला हुनुपर्छ भन्दै डेलिगेसन जानेहरु राति एक्लै भेटेर यो त गर्नै हुन्न हजुर भन्दै दबाब दिन्छन रे । यही हो लेकसाइड विरुद्ध लेकसाइड भनेको । व्यवसायीको हित गर्न भन्दै खुलेका संघ–संस्था परेको बेलामा बोल्न सक्दैनन् भने ती सस्थाको के काम ? कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले एकपटक भनेको सम्झना छ–‘कुन प्रहरी इकाइमा नया प्रहरी आयो र कुन प्रशासनिक निकायमा नयाँ कर्मचारी आयो भन्ने खोजी गर्दै फूलमाला चढाउन लाम लाग्ने संघ–संस्थाबाट समाजले के अपेक्षा गर्ने ?’

अन्तमा,लेकसाइडलाई पर्यटक रमाउने स्थल बनाउने लेकसाइड कै व्यवसायीले हो । शान्त लेकसाइड बनाउने कि रातभर जाग्राम लेकसाइड बनाउने निर्णय,सर्वप्रथम त्यहीका व्यवसायीले गर्नुपर्छ । नत्र भने जहिलेसम्म लेकसाइड विरुद्ध लेकसाइड भइरहन्छ तहिलेसम्म जिम्मेवार अधिकारीले त्यस्तै भनिरहनेछन्, ‘भो सर केही नगर्ने, जस्तो छ, त्यस्तै रहन दिने ।’


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • ‘तेस्रो आँखा’को प्रयोग

    बल दौडाउँदै अघि बढेका एन्टिनियो ग्रिजम्यानलाई डि–बक्सभित्र लडाइन्छ । खेलाडीहरु हात ठड्याउँदै अपिल गर्छन् । तर रेफ्रीले उनीहरुको अपिलको सुनुवाइ नगरी खेललाई अगाडि बढाउँछन् । अपिल भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)...

  • प्रदेशको नाम र पहिचान

    एक धर्म र एकल जातिको पहिचानले नेपालको राष्ट्रियताको पहिचान दिन सक्दैन । बहुल जाति, भाषा, सांस्कृति, धर्म र इतिहास नै समष्टिमा राष्ट्रिय पहिचान हो । नेपाल सबै जातजातिको फूलबारी हो...

  • मिस एसइईको ट्यालेन्ट सो सम्पन्न

    इभेन्टस् फोरयू प्रालिको आयोजना तथा सारेगम इन्टरटेन्टमेन्ट हाउसको सहकार्यमा सञ्चालन भएको मिस एसइई पोखरा पाँचौ संस्करणको ट्यालेन्ट सो भएको छ । एसइई दिएर बसेका छात्राको प्रतिभा र सौन्दर्यसँगै भविष्य निर्माण...

  • डिभोर्स माग्नेको लर्को ! न्यायिक समितिकाे टाउकाे दुखाई

    गण्डकी गाउँपालिका गोरखाकी १७ वर्षीय सुनिता र १८ वर्षीय सन्देशले २०७२ सालमा प्रेम विवाह गरे । त्यसको ३ वर्षपछि सुनिताले सम्बन्ध विच्छेदको माग गर्दै स्थानीय सरकारको न्यायिक समितिमा मुद्दा हालिन्...

Ad
Ad
Ad