Samadhan National Daily

      टुडे’ज ब्रान्डकाे पानीमा काेलिफर्म, प्रशासनद्वारा शिलबन्दी

      साहुले पत्रकारलाई दूर्व्यवहार गर

      पाेखरा, २८ आषाढ:

      खाजा खान रेस्टुरेन्टमा पस्नेबित्तिकै वेटरले पानीले स्वागत गर्छन् । ग्राहकको प्रश्न हुन्छ, सफा पानी हो ? अनि उत्तर आउँछ, जारको पानी हो हजुर ।

      अनि तपाईं हामी ढुक्क भएर पानी पिउँछौं । विश्वास गरेर पिएको पानीका फोहोर मिसिएको छ भन्ने उपभोक्ताले पत्तै पाउँदैनन् ।

      पोखरा र आसपासमा खानेपानी प्रशोधन गरी मिनरल वाटरका नाममा बजार पठाउने कम्पनी २ दर्जनको हाराहारीमा छन् । तीमध्ये एकादुईले मापदण्ड पूरा गरेका छन् । बाँकी सबैले छलछामै गरेर बजारमा पानी बेचेर मनग्गे आर्जन गरेका छन् । गुणस्तर कायम राख्न र उत्पादनस्थलको सरसफाइमा उत्पादकको ध्यान अझै पुग्न नसकेको उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् ।

      पटकपटकको चेतावनी बेवास्ता गर्दै फोहोर पानी बजारमा पठाएको सिएम अक्वा वेभरेज कम्पनीको टुडेज पानीको उत्पादनस्थलमा जिल्ला प्रशासनको टोलीले बुधबार सिलबन्दी गरेको छ । टुडेज ब्रान्डको जारको पानीमा कोलिफर्मको मात्रा देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा सिलबन्दी गरिएको सहायक सिडिओ गंगाबहादुर क्षेत्रीले बताए । ५ वटा कम्पनीको पानीको नमुना संकलन गरी प्रशासनको टोलीले अनुगमन तथा सुपरीवेक्षण कार्यालयमा पठाएको थियो ।

      कोलिफर्म बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइन्छ । यो १ दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो । यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ । प्राविधिकका अनुसार कोलिफर्मको मात्रा जति बढी हुन्छ स्वास्थका लागि उति जोखिम रहन्छ ।

      उक्त कार्यालय मातहतको प्रयोगशालामा असार २२ मा परीक्षण गर्दा टुडेज ब्रान्डको पानीको १९ लिटरको जारमा कोलिफर्मको मात्रा २७ भेटिएको थियो । उक्त ब्रान्डको १ लिटर बोटलको पानी कोलिफर्मको मात्रा नभेटिएको प्रयोगशालाले जनाएको छ ।

      सहायक सिडियोद्वय गंगाबहादुर क्षेत्री, राजेश पन्थी, डिएसपी रवीन्द्रमान गुरुङ, उपभोक्ता मञ्च प्रदेश अध्यक्ष कपिलनाथ कोइरालासहितको टोलीले कम्पनीको जारतर्फको प्लान्टमा सिलबन्दी गरेर सञ्चालकसँग बयान समेत लिएको छ । सिएम अक्वाका प्रबन्ध निर्देशक कपिलकिरण श्रेष्ठ बुधबारै प्रहरीमा हाजिर भएर बयान दिएका छन् ।

      यो विषयमा प्रहरीले अनुसन्धान थालिसकेको र आवश्यक प्रमाण जुटाएर मुद्दा प्रक्रिया अघि बढाइने डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । गुणस्तर पूरा गरेको प्रमाण पेस नगरेसम्मका लागि जारको पानी उत्पादनमा रोक लगाइएको उनले बताए ।

      दशकौंअघि बनाइएको पुरानो घरमा पानी उत्पादन उद्योग सञ्चलित छ । उत्पादनस्थलको आसपासमा गाईभैंसीको गोठ छ । हिलैहिलो भएको खेतको बीचको थोत्रो घरमा दैनिक ७-८ कामदार पानी प्रशोधन, प्याकेजिङ र बजारीकरणको काममा व्यस्त हुन्छन् । त्यहीं कार्यरत १ कामदारका अनुसार कम्पनी सञ्चालक पानीको अवस्थाबारे जानकारी राख्नै चाहँदैनन् । तेर्सापट्टिको अफिसमा बसेर हिसाबकिताब राख्छन् । तालबन्दी गर्न पुगेको टोलीसँग कामदारले आफूहरुको रोजगारीका लागि पनि कम्पनी बन्द नगरिदिन आग्रह गरेका थिए ।

      पोखरा– २५, याम्दीमा २०५४ सालमा सञ्चालनमा आएको उक्त उद्योग २०७४ मात्र दर्ता भएको स्थानीयले बताएका छन् । यसअघि जेठ ९ गते पनि प्रशासनको टोलीले उक्त कम्पनीमा सिलबन्दी गरेको थियो । उद्योगमा अत्यधिक फोहोर देखिएको, जार र बोतल समेत राम्रोसँग सफा नगरेको पाइएपछि अनुगमन टोलीले त्यतिबेला पनि सिलबन्दी गरेको थियो ।

      कम्पनीका सिलबन्दी गर्न गएको टोलीसँगै रहेका पत्रकारमाथि प्रबन्ध निर्देशक श्रेष्ठले दूव्र्यवहार गरेका छन् । फेवा टेलिभिजनका स्टेसन मेनेजर हेमराज अधिकारीले भिडियो खिच्ने क्रममा नखिच्न भन्दै क्यामेरा नियन्त्रणमा लिने प्रयास गरेका थिए । सहायक सिडिओ राजेश पन्थीले संयमित हुन निर्देशन दिएपछि श्रेष्ठ पछि हटेका थिए ।

      प्रबन्ध निर्देशक श्रेष्ठकाे यस्ताे हर्कतविरुद्ध नेपाल पत्रकार महासंघ कास्की र पत्रकारसम्बद्ध अन्य संस्थाहरुले विज्ञप्तीमार्फत विराेध गर्दै कारवाहीकाे माग गरेका छन् ।


      प्रतिकृया दिनुहोस्