Samadhan National Daily

      पाेखरा महानगर र जिल्ला एकैचोटी पूर्ण खोपयुक्त

      पाेखरा, २८ आषाढ:

      पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर भएसँगै कास्की जिल्ला बुधबारबाट पूर्ण खोप सुनिश्चित जिल्ला बनेको छ ।

      पोखरा महानगरपालिकाका २६, २७, २९, ३०, ३१ र ३२ वडा नम्बर वडा पूर्ण खोपयुक्त भएको सुनिश्चित भएसँगै महानगर र जिल्लालाई एकैचोटी पूर्ण खोपयुक्त क्षेत्र घोेषणा गरिएको हो ।

      कार्यक्रममा पूर्ण खोपको प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले जिल्लामा रहेका ८ हजार ६ सय ९८ जना १५ महिनाभन्दा तलका शिशुले खोप पाइसकेको निश्चित भइसकेको बताए । ‘१५ महिनासम्मका शिशुले ११ प्रकारका रोग विरुद्ध खोप लगाइसकेको पाइएको छ,’ उनले भने, ‘अब हामीले १६ देखि २४ महिनासम्मका शिशुलाई निगरानीमा राख्नु छ ।’

      गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनताका स्वास्थ्य सुरक्षा गर्न प्रदेश सरकारले केन्द्र तथा स्थानीयतहसँग सहकार्य गर्न तयार रहेको बताए । ‘प्रदेशका लागि खोप ऐन ल्याएर २ करोडको कोष ल्याएका छौं, आवश्यक परेमा २० करोड पनि ल्याउँछौं,’ उनले भने । प्रदेशका जनताको स्वास्थ्योवस्था सुधार गर्न जुनसुकै चुनौतीपनि सामना गर्न प्रदेश सरकार तयार रहेको उनले बताए ।

      कास्की जिल्ला पूर्ण खोप भएपछि प्रदेशमा स्याङ्जामात्रै पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले स्याङ्जालाई समेत चाँडै खोपयुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने बताइन् । ‘स्याङ्जामा पनि केही प्रक्रिया मिलाउन बाँकी छ, त्यसपछि प्रदेश नै पूर्ण खोपयुक्त बन्छ,’ उनले भनिन् । खोपयुक्त घोषणा गर्नुभन्दा त्यसैलाई निरन्तरता दिनु चुनौती रहेको उनले औंल्याइन् ।

      प्रतिनिधि सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भए पनि त्यसले अरु चुनौती थपेको बताए । ‘१५ महिनासम्मका बच्चाले त पाए, त्यो भन्दामाथिका बच्चाको निगरानी कसले गर्ने ?’ उनले भने, ‘नेपालमा खोप न्यूनतम मापदण्डका मात्रै पाएका छौं, गुणस्तरीय खोप अझै उपलब्ध छैन ।’ खोप लगाएको या नलगाएको, बच्चाहरुको स्वास्थ्य अवस्थाको बारेमा फलोअप र निगरानी राख्न नसक्दा कास्की ढिलो खोपयुक्त जिल्ला घोषणा भएको उनले प्रष्ट्याए ।

      पोखरा महानगरका मेयर मानबहादुर जिसीले केन्द्र तथा प्रदेश सरकारले सुविधा दिएजस्तो गरेर पनि नदिएको आरोप लगाए । ‘एकातिर सुविधा तथा अधिकार दिएजस्तो गर्छन्, अर्कोतिर तान्छन्,’ उनले भने । स्थानीय तहमा रहेका ठूला स्वास्थ्य संस्था प्रदेश सरकारले आफूले राख्न लागेको प्रसंगमा उनले यस्तो भनाइ राखेका हुन् । मेयर जिसीले सबै राजनीतिक दल तथा स्वास्थ्य स्वयम् सेवकको सहयोगले नै पूर्ण खोपयुक्त महानगर घोषणा सफल भएको बताए ।

      स्वास्थ्य सेवा विभाग अन्र्तगतको बाल स्वास्थ्य महाशाखा प्रमुख झलकराम गौतमले खोपयुक्त जिल्ला घोषणा गरेर अन्य जिम्मेवारीबाट पन्छिन नहुने बताए । उनले भने, ‘आउने दिनमा खोपसँगै अझै धेरै काम गर्नुपर्छ, अझै धेरै जिम्मेवारी थपिएको छ ।’ उनले स्थानीय तहसँग मिलेर खोप कार्यक्रम अझै व्यवस्थित गर्दै लैजाने बताए । देशले खोप निशुल्क तथा जनशक्ति उपलब्ध पुर्‍याउँदैमा सबैले खोपको सुविधा नपाउने हुनाले त्यतातर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

      खोप सेवा अन्र्तगत जन्मने बित्तिकै क्षयरोग विरूद्ध, ६ हप्तामा भ्यागुते रोग, लहरे खोकी, टिटाानस, हेमोफिलस निमोनिया, हेपाटाइटिस बी विरूद्ध, न्युमोकोकस निमोनियाँ विरूद्ध, ९ महिनामा दादुरा र रूबेला विरूद्ध, १ वर्षमा जापानिज इन्सिफलाइटिस विरूद्ध खोप लगाउनुपर्ने नियम छ ।

      कास्कीमा सर्वप्रथम २०७२ सालमा तत्कालीन चापाकोट गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको थियो । त्यस्तै तत्कालीन पोखरा उपमहानगरपालिका २०७२ सालमा पूर्ण खोपयुक्त घोषणा भएको थियो । महाननगरमा तत्कालीन लेखनाथ नगरपालिका जोडिएपछि दोस्रोपटक बुधबार पूर्णखोप सुनिश्चित क्षेत्र घोषणा गरिएको हो ।


      प्रतिकृया दिनुहोस्