Samadhan National Daily

      दीपिका भइन् मिस सुनार (विश्वकर्मा) नेपाल

      काठमाडौं, ७ साउन:

      मिस सुनार (विश्वकर्मा) नेपालको उपाधि पोखराकी दीपिका सुनारले जितेकी छन् ।

      पोखरा सभागृह हलमा भएको अन्तिम प्रतिस्पर्धामा उत्रिएका अन्य प्रतियोगीलाई पराजित गर्दै दीपिकाले उपाधि चुमेकी हुन् । भिजुअल जोन प्रालिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा ११ जना युवती पुगेका थिए । प्रतियोगितामा पर्वत कुष्माकी आहना सुनार फस्ट रनरअप तथा तनहुँकी उर्मिला सकेन्ड रनरअप बन्न सफल भए ।

      प्रतियोगितामा मस्ट ट्यालेन्ट पोखराकी अस्मिता सुनार, मस्ट कन्फिडेन्ट आहना सुनार, बेस्ट फिगर तथा स्किन साधना सुनार, मस्ट डिसिपिलन तथा मस्ट स्टाइलिस बुटबलकी अस्मिता सुनार, मस्ट पपुलर तथा पंच्युल दीपिका सुनार, बेस्ट हेयर पार्वती सुनार, मस्ट ब्युटीफुल तथा मस्ट फ्रेन्डली प्रियंका सुनार, बेस्ट वाल्क सविना सुनार, बेस्ट स्माइल अनीता सुनार, मस्ट चार्मिङ भूमिका सुनार र भ्युवर च्वाइसको पुरस्कार उर्मिला सुनारले जितिन् ।

      जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओमबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले यस्ता कार्यक्रमले प्रतियोगीमा भएको प्रतिभाको विकास हुन मद्दत पुग्ने बताए । प्रतियोगीताको मुख्य निर्णायक कालीप्रसाद बास्कोटा थिए ।

      प्रतियोगितामा १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित युवतीले सहभागिता जनाएको भिजुअल जोनका प्रबन्ध निर्देशक सञ्जु सुनारले बताए ।

      एक महिने तालिमको साथमा फोटोसुट, भ्रमण, ट्यालेन्ट सो लगायतमार्फत उनीहरुमा निखारता प्रदान गरी फाइनलमा उतारिएको सुनारको भनाइ छ । कार्यक्रमको थप आर्कषण गीत तथा नृत्य प्रस्तुति समेत रहेको कार्यक्रम संयोजक प्रतीक सुनारले जानकारी दिए ।


      प्रतिकृया दिनुहोस्