Samadhan National Daily

      बन्दीपुरवासीलाई केबलकारको सेयर, स्थानीयले १–५ लाखसम्मको सेयर किन्न पाउने

      दमौली, १० साउन:

      बन्दीपुर केवलकार कम्पनीले बन्दीपुरवासीका लागि केबलकारको सेयर खुला गरेको छ । कम्पनीले पूर्व घोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि सेयर खुला गरेको हो ।

      बन्दीपुरमा बसोबास गर्नेले १ लाखदेखि ५ लाख रुपैयाँसम्मको सेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए । कम्पनीले बन्दीपुरवासीका लागि ११ लाख २० हजार कित्ता सेयर छुट्याएको छ ।

      केबलकारको गत शुक्रबार शिलान्यास भइसकेको थियो । बन्दीपुर केवलकार कम्पनी प्रालि र आरकेडी रियलस्टेट कन्स्ट्रक्सनको लगानीमा केबलकार निर्माण हुन लागेको हो । केबलकारमा स्थानीयको अपनत्व बढाउन कम्पनीले केबलकार कम्पनीलाई पब्लिक कम्पनीको रुपमा विकास गर्ने समेत जनाएको छ । बन्दीपुर आसपासका बासिन्दालाई ७ हजार ५ सय रुपैयाँ तिरेपछि १० वर्षसम्म केवलकार सेवा प्रदान गरिनेछ ।

      करिब ५६ करोड लागतमा निर्माण हुने केबलकार १५ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केवलकारबाट घण्टामा २ सय जना वारपार गर्न सक्नेछन् । १० रोपनीमा निर्माण हुने केबलकारले बन्दीपुर घुम्न आउने पर्यटकलाई अझ बढी आकर्षित गर्ने निर्माण कम्पनीको विश्वास छ । एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबलकार आकर्षणको केन्द्रविन्दु बन्ने बताइएको छ ।

      कम्पनीले टप र बटम स्टेसनमा स्थानीयसँगको सहकार्यमा होटल तथा रेस्टुरेन्ट खोल्ने जनाएको छ । बटम स्टेसनमा कार, मोटरसाइकल र निजी सवारीसाधन राख्नका लागि पार्किङको व्यवस्था गरिनेछ । ठूल्ढुंगेबाट सुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । ठूल्ढुंगेबाट बरालथोकसम्म पुग्दा यो केबलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ ।

      तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न ७ किलोमिटरको उकालो बसमा करिब २० मिनेट लाग्छ । केवलकार निर्माण भएपछि केबलकारमा ९ मिनेटमा बन्दिपुर पुग्न सकिनेछ । केवलकारमा २ वटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ । केबलकारमा बन्दिपुर केवलकार प्रालिको २५ प्रतिशत र आरकेडी रियल स्टेट कम्पनीको ७५ प्रतिशत लगानी रहनेछ ।


      प्रतिकृया दिनुहोस्