Samadhan National Daily

      सरकार…. दमाैली अस्पतालमा निशुल्क औषधिकाे हाहाकार !

      दमाैली , २८ साउन:

      सदरमुकाम दमौलीमा रहेको सरकारी अस्पतालमै औषधी अभाव रहेको पाइएको छ ।

      सर्वसाधारणले निशुल्क रुपमा पाउने औषधी दमौली अस्पतालमा अभाव भएको हो । सरकारी अस्पतालमा नागरिकले निशुल्क रुपमा पाउने औषधी नहुँदा शुल्क तिरेर औषधी खरिद गर्नुपर्ने बाध्यता छ ।

      दमौली अस्पतालकी निमित्त प्रमुख डा सिर्जना शर्माले अस्पतालबाट निशुल्क वितरण गरिने औषधी सकिएको बताइन् । ‘शुल्क तिरेर पाउने औषधी पर्याप्त भएपनि निशुल्क औषधी नहुँदा सर्वसाधारणले धेरै गुनासो गर्ने गर्छन्,’ उनले भनिन् । शुल्क तिरेर दिइने औषधी अस्पतालले केही अघि टेन्डर गरेर ल्याइएको तर सरकारले निशुल्क उपलब्ध गराउने औषधी नआएको हुँदा सर्वसाधारणलाई उक्त औषधी दिन नसकिएको उनको भनाइ छ ।

      अस्पतालका प्रशासन शाखाका नायव सुब्बा विजय सुवेदीले दमौली अस्पतालले पाउने रकम हालसम्म नपाएको सुनाए । ‘व्यास नगरपालिकाले निशुल्क वितरण गरिने औषधी खरिद गर्न रकम दिनुपर्नेमा यो आर्थिक वर्षमा आइपुगेको छैन,’ उनले भने । अघिल्लो आर्थिक वर्षदेखि नै औषधीको अभाव भएको उनले जानकारी दिए ।

      अस्पतालमा हाल दैनिक १ सय ५० भन्दा बढी बिरामी स्वास्थ्य परीक्षण गर्न आउँछन् । तीमध्ये ७० प्रतिशत स्वास्थ्य बिमा गर्नेहरु छन् । ‘निशुल्क पाउने औषधी खरिद गर्नुपर्ने भएपछि स्वास्थ्य बिमा गर्नेहरुलाई समस्या भएको छ,’ उनले भने ।

      सांसद सिग्देलले गरे अनुगमन
      आइतबार नै सभाका सांसद केदार सिग्देलले दमौली अस्पतालको निरीक्षण गरेका छन् । अस्पतालमा जनशक्ति तथा औषधी अभाव भएको जनगुनासो आएपछि अस्पतालको निरीक्षण गरेको सांसद सिग्देलले बताए । सांसद सिग्देलले अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षण गर्न आएका बिरामीसँग छलफल गरेका थिए ।

      स्वास्थ्य सेवा नागरिकको मौलिक हक हुँदा जनताको स्वास्थ्य प्रति संवेदनशील बन्न सांसद सिग्देलले स्वास्थ्यकर्मीलाई आग्रह गरे । उनले अस्पतालमा भएको समस्याबारे पनि जानकारी लिएका थिए । अस्पतालकी निमित्त प्रमुख डा सिर्जना शर्माले प्रमुखको अभावमा प्रशासनिक काम प्रभावित भएको बताइन् ।

      ‘अस्पतालमा स्त्री रोग विशेषज्ञ नहुँदा सुत्केरी गराउन समस्या छ,’ उनले भनिन्, ‘स्त्री रोग विशेषज्ञ सहितको अस्पतालको प्रमुख चाँडो नियुक्ती गर्नुपर्ने छ ।’ अस्पतालमा भिडियो एक्सरे गराउने जनशक्ति नहुँदा विरामीहरुलाई मर्का परेको डा शर्माले जानकारी गराइन् ।

      अस्पतालका प्रशासन प्रमुख विजय सुवेदीले प्रमुख नहुँदा आर्थिक तथा अन्य प्रशासनिक काममा अप्ठ्येरो परेको बताए । ‘स्वास्थ्य बिमा गरेका सर्वसाधारणले पाउने निशुल्क औषधीको अभाव छ,’ उनले भने ।


      प्रतिकृया दिनुहोस्