Samadhan National Daily

      बारम्बार ‘हत्यारा’काे अाराेप लागेपछि कांग्रेस नेता लामिछाने आमरण अनसनमा

      कास्की, २९ साउन:

      नेपाली कांग्रेसका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने न्याय माग्दै कांग्रेस केन्द्रीय कार्यालयमा आमरन अनसन बसेका छन् ।

      कास्की कांग्रेसका क्रियाशील नेता रामजी पौडेल बादलको हत्यामा संलग्न ६ जनालाई जिल्ला अदालत कास्कीले जेल सजाय नै तोकिसक्दा समेत उक्त काण्डमा आफूलाई बारम्बार मुछ्ने काम भएको र यसबारे पार्टीले आफूलाई न्याय दिलाउन नसकेको भन्दै लामिछानेले सोमबार अनसन थालेका हुन् ।

      सानेपास्थित कांग्रेस मुख्यालयमा ब्यानर राखेर सोमबार बिहानबाट आमरण अनसन थालेको लामिछानेले बताए । ३ वर्ष अघि साउन २८ गते रामजी बादलको हत्या भएको थियो । तत्कालीन अवस्थामा पार्टीको नगर चुनाव नजिकिँदै गर्दा चुनावकै बारे छलफल गरेर फर्कर्दै गर्दा बाटो बादलको हत्या भएको थियो । उनको शव भोलिपल्ट बिहान लेखनाथकै सडकछेउमा भेटिएको थियो ।

      निष्ठाको राजनीतिमा क्रियाशील रहिरहँदा आफूमाथि बारम्बार हत्याको आरोप लाग्दा सामाजिक र पारिवारिक जीवनसमेत कठीन भएको लामिछानेको भनाइ थियो । उनले भने,‘घटना भएको राति मनोज गुरुङ घाइते भएर मनिपाल लगेको थाहा पाएपछि मैले नै भाउजु चन्द्रावती(बादल पत्नी) लाई फोन गरेर दाजु आउनुभयो कि भएन भनेर सोधेको थिएँ ।

      त्यो बेला भाउजु र मबीच लामो कुराकानी पनि भएको थियो, आखिर जाहेरीमा उहाँले मेरो नाम पनि मुछ्नुभयो ।’ यो घटनाबारे पार्टीले सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता नजनाएसम्म आमरण अनसन फिर्ता नहुने भनाइ उनले राखे ।

      यस्तो थियो घटना विवरण
      पार्टीभित्रको सामान्य विवादले उग्ररुप लिएपछि २०७२ साउन २८ मा नेता बादलको हत्या भएको थियो । उनको शव पृथ्वीराजमार्गको गगनगौंडास्थित भत्केको चौकीनेर भेटिएको थियो ।

      कांग्रेस महाधिवेशन प्रतिनिधि बुद्धिमान गुरुङको लामेआहालस्थित घरमा उक्त दिन बेलुका स्थानीय नेताहरु बैठक बसेका थिए । बैठकमा निकै समय चर्काचर्की भएको थियो । उक्त बैठकबाट नेता बादल बाहिरिएपछि युवाहरुले पछ्याएर हत्या गरेको स्थानीयले बताएका छन् ।

      तत्कालीन समयमा लेखनाथ नगर कमिटीको चुनावमा राजेन्द्रमणि लामिछाने र नारायणहरि तिवारीको नाम चर्चामा थियो । विद्यार्थीकालदेखि निकै सरल र सहयोगी स्वभावका रामजीको समर्थन नारायणहरिलाई भएकै कारण विद्यार्थी नेता विश्वास गौतमले पहिलेदेखि नै पटकपटक आक्रमण गर्दै आएको स्थानीयले आरोप लगाएका थिए ।

      उक्त घटनामा नारायणहरि र मनोज गुरुङ घाइते भएका थिए । हत्यामा लामिछानेको समेत संलग्नता रहेको भन्दै बादलका दाजु राममणि पौडेलले प्रहरीमा जाहेरी दिएका थिए । लामिछानेविरुद्धका कुनै प्रमाण नभेटिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन आधार नभएको जनाएपछि उनी हिरासतमुक्त भएका थिए । २०७२ साउन ३० गते पक्राउ परेका लामिछाने भदौ २३ गते छुटेका थिए ।

      ६ जनालाई जन्मकैद
      नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल (बादल) हत्यामा संलग्न ६ जनालाई जिल्ला अदालत कास्कीले २०७५ जेठ ६ गते जन्मकैदको फैसला सुनाएको छ । ३ दिनको बहसपछि जिल्ला न्यायाधीश उमेश लुईंटेलको इजलासले आइतबार ६ जनालाई जन्मकैद र ६ जनालाई जनही १ वर्ष जेल सजायको फैसला गरेको हो ।

      हत्यामा संलग्न मुख्य दोषी प्रकाश गुरुङ, विस्वास गौतम, राजु रानाभाट, रवीन केसी, बले भन्ने अशोक गुरुङ र सन्दिप गुरुङलाई जन्मकैदको फैसला भएको हो । उनीहरु सबै २०७२ भदौदेखि पुर्पक्षका लागि थुनामा छन् । उनीहरुविरुद्ध सवश्र्वसहित जन्मकैदको मागदाबी थियो ।
      घटनाबारे थाहा पाएर पनि उजुरबाजुर नगरेको, मतियारको रुपमा काम गरेको आरोपमा ६ जनालाई अदालतले १ वर्षको सजाय सुनाएको छ ।

      भरत पौडेल, वीरेन्द्रकुमार रानाभाट, रवीन क्षेत्री, भीमबहादुर घले, चन्द्रबहादुर थापा र लालबहादुर सेन ठकुरीलाई १ वर्ष कैद सजाय सुनाइएको हो । यी ५ मध्ये ५ जनालाई जिल्ला अदालते २०७२ भदौमा पुर्पक्षको लागि थुनामा पठाए पनि उच्च अदालत पोखराको आदेशले जनही २५ हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।

      त्यतिबेला जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि मुख्य आरोपीसहित उनीहरुले उच्च अदालतमा निवेदन दिएका थिए । मतियारको आरोप लागेका ब्रजेश गुरुङ फरार रहेकाले उनको अंश रोक्का राखी मुद्दा मुल्तबीमा राखिएको छ ।

      जन्मकैद सुनाइएका प्रकाश गुरुङ कांग्रेस निकट आदिवासी जनजाति संघ लेखनाथ नगरका तत्कालीन संयोजक हुन् । विश्वास गौतम तरुण दल लेखनाथ १२ का कार्यवाहक संयोजक, राजु रानाभाट नेपाल तरुण दल लेखनाथ नपा १६ का संयोजक र रविन केसी नेविसंघका अगुवा हुन् ।

      पहिलो जाहेरीमा घटनामा संलग्नको नाम छुटेको भन्दै बादलकी पत्नी चन्द्रावती पौडेलले फेरि अर्को जाहेर दर्ता गर्न खोज्दा कास्की प्रहरीले इन्कार गरेको थियो । तर पछि गृहमन्त्रीको तोक लगाएर प्रहरी प्रधान कार्यालय मार्फत अर्को जाहेरी दर्ता गराइएको थियो । पहिलो जाहेरीमा संलग्न १३ जनामा २ जनाको नाम थपेर दिइएको दोस्रो जाहेरी दर्ता गराइए पनि थप २ का बारेमा कास्की प्रहरीले अनुसन्धान गरेको छैन ।

      जिल्ला अदालतले उक्त जाहेरी झिकाउन आदेश दिए पनि पहिलो जाहेरीको आधारमा नै फैसला आएको छ । थप २ आरोपितका बारेमा प्रहरीले अनुसन्धान नै नगरेको र मुद्दा समेत दायर नभएकाले पहिलो जाहेरीलाई नै आधार मानेर फैसला गरिएको अदालत स्रोतले जनाएको छ ।


      प्रतिकृया दिनुहोस्