Samadhan National Daily

      खर्कको अभावमा चौंरीपालन घट्दो

      मनाङ, १ भाद्र:

      मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौंरीका लागि चरन क्षेत्र अभाव हुन थालेपछि यस्तो अवस्था आएको हो ।

      ८० वर्षीय आेंगेल गुरुङलाई पहिला के गर्मी, के जाडो पत्तै हँुदैनथ्यो । उनले १५/२० वर्ष अगाडिसम्म गर्मीमा समेत भांग्रा भोटोसँगै चार/पाँच वटा बाक्ला कपडा लगाउथें, तर, अहिले साधारण ज्याकेटको भरमा पनि जाडो कटाउँछन् । पहिला मनाङको धारापानी गाउँदेखि नै हिउँ पथ्र्यो । अहिले यो सर्दै सर्दैमाथि मनाङ पुगिसक्यो । गुरुङका अनुसार पहिले टिलपिल टिलपिल हिउँका दानेदार रेखाले हिमताल मनमोहक देखिन्थ्यो । अहिले बगरमा परिणत भएर उदांगो देखिन्छन् । चौंरीखर्कभरि सेता हिउँका थुप्रा महिनौं दिनसम्म बिलाउँदैन्थो तर, अहिले हिउँ पर्दापर्दै बिलाएर जान्छ ।

      पहिला एकै व्यक्तिको ३/४ सय चौंरी हुन्थे । चौंरीखर्क पूरै भरिने गथ्र्यो । अहिले चौंरीखर्क बगर भएका छन् । उनकै पहिले २ सय जति चौंरी थियो । अहिले घटेर ७० वटामा खुम्चिएको छ । गाउँभरिका सबैले चौंरी पाल्ने गर्थे । खर्कभरि १ हजारभन्दा बढी चौंरी चर्थे । चौंरी लिएर मनाङ गाउँका गुम्छाङ, याकखर्क, खाङसार माथिका हिमाली काख हुँदै तिलिचो आधार शिविर र मुस्ताङ नजीकका खर्कमा पुर्‍याउँदा बर्खा सकिन्थ्यो । हिउँद लागेपछि विस्तारै विस्तारै तलतिर झर्ने गरेको अनुभव उनको छ ।

      अर्का चौंरीपालक ६५ वर्षीय तप्के गुरुङको अनुभव पनि उस्तै छ । उनले विगत ४० वर्षदेखि नै चौंरी पाल्दै आएका छन् । उनका अनुसार हिमताल गाउँबाटै सुरु हुन्थे तर, अहिले हिमालको टुप्पोमै हिउँ हुँदैन । यसले पनि जलवायु परिवर्तन भएको पुष्टि हुन्छ । यसरी वातावरण खल्बलिएर चौंरीपालन पेशा नै धरापमा परेको उनको अनुभव छ ।

      हिमालको काखमा चौंरी गोठ राखेर आफ्नो आधा जीवन चौंरी गोठमा बिताएका नार गाउँका ६० वर्षीय टसी फुुन्जोको पनि कथाव्यथा उस्तै छ । सानै उमेरदेखि चौंरी गोठमा बसेका फुन्जोसँग नारका सबै खर्कको जानकारी छ । काला लेकदेखि ४ हजार ६ सय मिटर उचाइमा रहेको हिमताल र फुको क्याङदेखि तिब्बतको सिमानासम्मको खर्कमा बस्दाको लामो अनुभव उनको छ । हिउँमा गडेका चौंरी उतार्नदेखि हिउँ चितुवाबाट घाइते चौंरीको स्याहारसुसारसम्मको अनुभव उनले संगालेका छन् ।

      गोठमा बसेर चौंरीको दूध, घ्यू, चिज, छुर्पी, नौनी जस्ता परिकार बनाएर आफ्नो खाँचो टार्दै उनले आएका छन् । चौरी पाल्नेले चौंरीको ऊनबाट फेर्पा, दोचा, भोटो, भांग्रा, राडी, पाखी, नाम्लोलगायत घरेलु सामान बनाएर बेच्छन् ।

      अग्लाअग्ला हिमालका काखमा रहेका खर्कमा चौंरी राख्ने, जडीबुटी जम्मा गर्ने र हिउँद्मा खर्कहरू तल सर्दा जडीबुटी बोकेर झर्ने मनाङवासीको पुरानै चलन हो । लेकमा रहँदाबस्दा जम्मा पारेका जडीबुटी जाडो छल्न बाहिरी जिल्ला विशेष गरी लमजुङ, तनहुँ, कास्की र काठमाडौं जाँदा बेच्ने वा चामलसँग साट्ने र गर्मी लागेपछि गाउँ फर्कने चलन रहेको मनाङका पुराना चौंरीपालक खम्बा गुरुङ बताए ।

      विशेषतः चौंरीखर्क ४ हजार मिटरभन्दा माथि रहने हुँदा चौंरीलाई त्यहाँको हावापानी उपयुक्त हुने अर्का चौंरीपालक सुरेश थकालीले बताए । उच्च हिमाली भेगमा रमाउने यो जंगली जनावरलाई स्थानीय बासिन्दाले घरपालुवा जस्तै बनाएकोमा उनको चित्त बुझेको छैन । जलवायु परिवर्तनसँगै बेमौसममा हिमपात हुने र हिमपहिरोले खर्कहरू पुरिने समस्याले गर्दा चौंरी पाल्न असहज भएको स्थानीयवासी खम्बा गुरुङ बताए ।

      आफू दश वर्षको उमेरदेखि चौंरी गोठमा बस्दैआएको र अहिलेसम्म पनि चौंरी गोठमै रमाइरहेको उनकोे भनाइ छ ।

      मनाङवासीका लागि पशुपालन, जडीबुटी र पर्यटन नै जीविकोपार्जनका प्रमुख आधार हुन् तर, पछिल्लो समय चौंरीपालक किसानलाई आफ्नो पुख्र्यौली पेशा थेग्न कठिन भइरहेको छ । पशुपालन व्यवसायलाई सरकारी निकाय तथा निजी र गैरसरकारी संस्थाको सहकार्यमा आधुनिकीकरण र व्यावसायीकरण गर्न जरुरी भइसकेको छ ।


      प्रतिकृया दिनुहोस्