Samadhan National Daily

      पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

      दमौली, १ भाद्र:

      तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय गरेको हो ।

      गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ, कायोकिङ, क्यानोनिङ, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, जिप फ्ल्यायर, पाराग्लाइडिङ, ड्रोन क्यामेरा प्रयोग गरी भिडियोग्राफी र र्‍याफ्टिङ सेवा वा यसै प्रकृतिका साहसिक खेल र सम्बन्धित व्यवसाय सञ्चालन गरे बापत शुल्क लगाइने र असुल उपर गर्ने निर्णय गरेको छ ।

      बन्दिपुरको समिभञ्ज्याङबाट सिमलटारसम्मको क्षेत्रमा पाराग्लाइडिङ उडानको लागि दैनिक १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । गाउँपालिकाले ट्रेकिङको लागि दैनिक १ सय, रक क्लाइम्बिङका लागि दैनिक १ सय, ड्रोन क्यामरा प्रयोगको लागि दैनिक १ सय, फिल्म सुटिङको लागि दैनिक १ हजार र भिडियो सुटिङका लागि दैनिक ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

      यसैगरी पिकनिक स्पोर्टका लागि गाउँपालिकाले दैनिक १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । गाउँपालिकाले ३ धारा क्षेत्रलाई पिकनिक स्पोर्टको रुपमा निर्धारण गरेको छ । अनुमति नलिई अन्य स्थानलाई पिकनिकको रुपमा प्रयोग गरेमा ५ सय रुपैयाँ शुल्क तोकिएको गाउँपालिकाले जनाएको छ ।

      वैशाखदेखि साउनसम्म कम पर्यटक आउने बन्दिपुरमा असोज/कात्तिकदेखि पर्यटकको बाक्लो चहलपहल हुने गर्दछ । जाडोयाम सुरु हुने बेलामा बन्दिपुरमा विदेशी पर्यटकको बढी चाप रहन्छ । बन्दिपुरमा पिकनिकको लागिसमेत विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन् ।


      प्रतिकृया दिनुहोस्