Samadhan National Daily

      भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

      नयाँ दिल्ली, भारत, १ भाद्र:

      भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन ।

      एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, ‘उहाँलाई बचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन सकेन । उहाँको साँझ ५ बजेर ५ मिनेटको समयमा निधन भएको छ ।’

      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्विटर पेजमा पूर्व प्रधानमन्त्री वाजपेयीजीको निधनले आफूलाई ठूलो दुख लागेको उल्लेख गरेका छन् । भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए ।

      उनको एम्समा उपचार भएको थियो । त्यहाँ उहाँको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो । मधुमेहका बिरामी वाजपेयीलाई गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको मृर्गौलाको संक्रमण लगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।


      प्रतिकृया दिनुहोस्