लाइसेन्स आवेदन दिनेको संख्या ३ सातामा ४ लाख

समाधान संवाददाता २०७८ कार्तिक २९ गते १५:४९


काठमाडौँ

लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ ।


यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ ।

Advertisement


कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो संख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।


कोभिड संक्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमित रुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिक रुपमा नयाँँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा भुसालले बताए ।

Advertisement


कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए ।


गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उनले भने, ‘अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन ।’


वि.सं. २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा संक्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि संक्रमण पुनःबढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् ।

तपाईको प्रतिक्रिया