Samadhan National Daily

      ट्याक्स अचाक्ली बढाएपछि कांग्रेसकाे एक्सनः तत्काल फिर्ता गर्न माग

      पाेखरा, ५ भाद्र:

      नेपाली कांग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ । समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो ।

      ध्यानाकर्षण पत्रमा विकासका पूर्वाधार खडा गरी क्रमशः करको दर भन्दा दायरालाई फराकिलो पार्नु पर्नेमा स्वायत्तत्ताको नाममा अस्वभाविक रुपमा बढाइएको करप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

      नेपाली कांग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, उपसभापतिद्वय सुरेन्द्रमान बिजुक्छे र डम्बरबहादुर थापाद्वारा हस्ताक्षर गरी बुझाइएको ध्यानाकर्षण पत्रमा बढाइएको कर फिर्ता नलिए जनताको पक्षमा थप दबाबम“लक कार्यक्रमका साथ अघि बढ्ने चेतावनी समेत दिइएको छ ।

      ध्यानाकर्षण पत्रमा करको दरमा तीनदेखि सात गुणासम्म बृद्वि गरिँदा नगरबासीलाई नकारात्मक प्रभाव परेको उल्लेख छ । २०७२ असोज १ गते तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाले एकीकृत सम्पत्ति कर लागु गर्दा आगामी ५ वर्षसम्म कर नबढाउने निर्णय गरेको समेत स्मरण गराइएको छ ।

      त्यस्तै, कर बढाउने नाममा एकै व्यक्तिलाई दोहोरो, तेहरो करको चपेटमा परेको भन्दै समससापेक्ष र वैज्ञानिक कर प्रणाली लागु गर्न पनि माग गरिएको छ ।


      प्रतिकृया दिनुहोस्