Samadhan National Daily

      उपमेयर मञ्जु भन्छिन्ः कर बढेको छैन, प्रमाणसहित निवेदन दिनोस्

      काठमाडौं, ६ भाद्र:

      चौतर्फी स्थानीय तहमा कर वृद्धि भएको आरोप लागिरहेका बेला पोखरा महानगरपालिकाले भने कर वृद्धि नगरेको बताएको छ । उपमेयर मञ्जुदेवी गुरुङले महानगरबासीले प्रमाणसहित निवेदन दिए गुनासो सम्बोधन गर्ने बताएकी छन् ।

      महानगर मनपरी कर उठाउने पक्षमा नरहेको भन्दै करबारे वडा कार्यालय वा महानगरबाट राम्रोसँग जानकारी लिन उनले अनुरोध गरेकी छन् ।

      ‘महानगरले कुनै कर बढाएको छैन,’ उपमेयर तथा राजस्व परामर्श समितिका संयोजक मञ्जुदेवी गुरुङले भनिन् । महानगरले कर वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरेको भन्दै विरोध भएपछि महानगरको कार्यपालिका बैठकले उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक मञ्जुदेवी गुरुङको संयोजकत्वमा राजस्व विश्लेषण तथा सुझाव समिति गठन गरेको छ । समितिको मंगलबार बैठक बसेको छ ।

      बैठकले पोखरा महानगरपालिकाले व्यवस्था गरेका करको दरका सीमा र एकीकृत सम्पत्ति करको सैद्धान्तिक पक्ष, कृषि भूमि लगायत विषयमा अध्ययन गरी अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको छ । बैठकले एकीकृत सम्पत्ति करका विषयमा कुनै गुनासो भए प्रमाणसहित सम्बन्धित वडामा निवेदन दिन आग्रह गरेको छ ।

      ‘एकीकृत सम्पत्ति कर महानगरले बढाएको छैन,’ उपप्रमुख गुरुङले भनिन्, ‘हामीले कर बढाएका छैनौं, जिल्ला मूल्यांकन समितिले जग्गाको नयाँ मूल्यांकन गरेका कारण बढेको हो ।’

      जिल्लाको जग्गा मूल्यांकन समिति प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिमा सरोकारवाला कार्यालयका व्यक्तिहरु लगायत सदस्य रहने व्यवस्था छ । जग्गा मूल्यांकन समितिले पहिला वडाहरुलाई फारम पठाउने र वडाहरुले आफ्नो वडाभित्रको जग्गाको मूल्य फारममा भरेर पठाएपछि समितिले जग्गाको मूल्यांकन गर्ने प्रावधान छ ।

      वडाहरुले पठाएको जग्गाको मूल्यलाई आधा मूल्यांकन गरिन्छ । ‘वडाले जग्गाको मूल्य १० लाख लिएको छ भने समितिले ५ लाख रुपैयाँ मूल्यांकन गर्छ ।’ कर महानगरले बढाएको नभई जिल्ला मूल्यांकन समितिले जग्गाको नयाँ मूल्यांकन गरेका कारण बढेको उपप्रमुख गुरुङले बताइन् ।

      कर बढनुको अर्को कारण विगतमा कच्ची सडकमा रहेको जग्गामा अहिले सडक पीच भएको छ भने त्यहाँको कर केही बढेको हुनसक्छ उनले भनिन्, ‘विगतमा कर तिर्न आउदा बाटो कच्ची थियो भने अहिले पीच भएको छ, त्यसरी कर बढेको हुनसक्छ, तर महानगरले बढाएको छैन ।’

      एकीकृत सम्पत्ति करमा कुनै गुनासो भए प्रमाणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सकिने बताउँदै उनले भनिन्, ‘कमीकमजोरी भएर लिनुपर्ने भन्दा बढि कर लिएको भए त्यसलाई सच्याउने छाै ।’ उनले कर बुझाएको रसिद र लाजपुर्जाको फोटोकपीसहित सम्बन्धित वडामा उजुरी दिन सकिने बताइन् ।


      प्रतिकृया दिनुहोस्