Samadhan National Daily

      पाेखरामा आज र भोलि गहना पसल बन्द

      पाेखरा, १० भाद्र:

      माग अनुसार सुन नपाएपछि व्यवसायीले आइतबार र सोमबार कास्कीका सुनचाँदी पसल बन्द गर्ने भएका छन् ।

      सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरणका विरुद्ध व्यवसायी आन्दोलित भएका हुन् । सुनचाँदी व्यवसायी संघ कास्की र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको संयुक्त बैठकले भदौ १० र ११ गते कास्कीमा सुनचाँदी व्यवसाय बन्द गर्ने निर्णय भएको हो ।

      सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यवाहक अध्यक्ष भविन्द्र विश्वकर्मा र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका अध्यक्ष किसान सुनारले संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको समयमा सुन अभावका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउनु दुखद भएको बताए ।

      कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकद्वारा उपलब्ध गराइने सुन १ केजी मात्र रहेको हुँदा व्यवसायीहरुलाई असहज भएको भन्दै ५० ग्राम, १ सय ग्राम र ५ ग्रामको समेत सहजै सुन उपलब्ध गराउन माग गरिएको छ ।

      नेपालमा राष्ट्रबैंकले दैनिक २० किलो सुन व्यवसायीलाई उपलब्ध गराउँछ । उपलब्ध सुन मध्ये काठमाडौंका ३ जिल्लालाई ६० प्रतिशत र बाहिर ७४ जिल्लालाई जम्मा ४० प्रतिशत सुन वितरण हुँदै आइरहेको छ । यो असमान सुन वितरण प्रणालीको पनि अन्त्य हुनुपर्ने व्यवसायीहरुको माग छ ।

      २ दिनसम्म व्यवसाय नै बन्द गरेर आन्दोलन गर्दासमेत माग पूरा नभए थप आन्दोलन गरी अनिश्चितकालीन व्यवसाय बन्द गर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।


      प्रतिकृया दिनुहोस्