Samadhan National Daily

      जीवनपानीलाई गजल प्रतिभा पुरस्कार

      पाेखरा, १३ भाद्र:

      गजल प्रतिभा पुरस्कार २०७५ गजलकार जीवनपानीलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखराले सञ्चालन गरेको पुरस्कार यसपालि स्याङ्जाका गजलकार जीवनपानीलाई अर्पण गर्ने निर्णय भएको हो ।

      गजलकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २ दशकदेखि नेपाली गजलको उन्नयन र विकासमा योगदान गरेकोमा उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पश्चिमाञ्चल क्षेत्रमा जन्म भई वा कर्म गरिरहेका गजलकारलाई प्रदान गरिने यो पुरस्कारलाई प्रादेशिक ढाँचामा ढालिएको छ ।

      ‘संघीयतासँगै पुरस्कारलाई पनि प्रादेशिक बनाउने सन्ध्याको निर्णय छ,’ छनोट समितिका संयोजक पगेनीले भने, ‘गण्डकी प्रदेशमा जन्म वा कर्म गरिरहेका गजलकारको साधन, व्यक्तित्व र कृतित्वका आधारमा यसपालि जीवनपानीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेका हौं ।’

      सन्ध्याका सल्लाहकार पगेनीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा रुपिन्द्र प्रभावी र मन क्षेत्री सदस्य छन् भने सन्ध्याका अध्यक्ष अमृत सुवेदी र सचिव वसन्त विनोद पदेन सदस्य छन् । मोती जयन्तीका अवसरमा भदौ २३ गते १५ हजार रुपैयाँ र सम्मानपत्रसहित जीवनपानीलाई पुरस्कृत गरिनेछ ।

      जीवनपानीले २०५९ सालमा पहिलो गजल संग्रह जीवनपानीका फोहराहरु प्रकाशित गरेका थिए । उनका जीवनपानीका सुस्केराहरु २०६१, जीवनपानीका तरंगहरु २०६३, ऋतु थरिथरीका २०६५ र पानीमुनीका आकास २०६९ गजल संग्रह प्रकाशित छन् ।

      कथा लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेका जीवनपानी मुक्तक र कविता लेखनमा पनि क्रियाशील छन् । एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले आफ्ना बुबाको स्मृतिमा सन्ध्याले प्रदान गर्ने पुरस्कारका लागि स्थापना गरेको १ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जीवनपानीलाई प्रतिभा सम्मान प्रदान गर्न लागिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

      यस पटकदेखि सन्ध्याले प्रत्येक २ वर्षमा पुरस्कार प्रदान गर्ने छ । २ हजार २ सय रुपैयाँ र सम्मानपत्र दिने गरिएकोमा अक्षयकोष स्थापनासँगै पुरस्कार राशि बढाइएको हो । सन्ध्याले एक वर्ष गजल प्रतिभा पुरस्कार र अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्ने गरी कार्यविधि तयार पारेको कार्यविधि निर्माण संयोजक तथा स्रष्टा छनोट समितिका सदस्य रुपिन्द्रले जानकारी दिए । सम्मानका लागि साहित्यकार ढाका थापाले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

      यसअघि गजल प्रतिभा पुरस्कारबाट रुपक वनवासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आरके अदीप्त गिरी, बाबु त्रिपाठी र कपिल शर्मा पुरस्कृत भइसकेका छन् ।


      प्रतिकृया दिनुहोस्