Samadhan National Daily

      लागुऔषध दुर्व्यसनीलाई रिह्याबभन्दा मेथाडोन ठिक

      पाेखरा, १५ भाद्र:

      नयाँबजारका मञ्जुल (नाम परिवर्तन)ले साथीको लहैलहैमा लागेर लागुऔषध प्रयोग गर्न थाले । पहिले चुरोट अनि त्यसपछि गाँजा खान सिकेका उनलाई पछि त्यसले मात्रै मजा दिएन । सुई लगाएरै भए पनि आफूलाई तृप्त बनाउन थाले ।

      एकदिन बिरामी भएपछि जँचाउन जाँदा उनलाई हेपाटाइटिस देखियो । अब खादिनँ भन्ने सोचे । तर, कडा डोज लिइरहेका उनलाई गाह्रो प¥यो र फेरि अस्पताल नै गए । अस्पतालले उनलाई मेथाडोन प्रयोग गर्न सिकायो ।

      राम्रो ठाउँमा जागिर नमिलेपछि रानीपौवाका संकल्पले ड्रक्स लिन थाले । परिवारलाई थाहा दिएनन् । तर, पछि परिवारले उनी कुलतमा छन् भन्ने थाहा पाएपछि भने सुधार केन्द्रमा लगे । सुधार केन्द्रमा गए पनि भएन । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लागुऔषधको ‘विकल्प औषधी’ पाइन्छ भन्ने थाहा पाए र त्यतै गएर मेथाडोन लिन थाले । त्यसपछि लागुऔषधको उनको लत छुट्यो । अहिले उनी आफ्नै व्यवसाय गरेर बसिरहेका छन् ।

      पोखरामा लागुऔषध प्रयोगकर्ता बढ्न थालेपछि त्यसको विकल्पका रुपमा मेथाडोन औषधी प्रयोग हुन थालेको छ । मेथाडोन लागुऔषधविरुद्ध प्रयोग गरिने एक प्रकारको वैकल्पिक औषधी हो । मेथाडोन सीधै अथवा सुईका माध्यमबाट पनि लिन सकिन्छ । यसको नियमित प्रयोगले अफिम, हेरोइन, मादक पदार्थ तथा अन्य नशा कम गर्न वा पूरै छोडाउन मद्दत गर्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा स्नायु रोग विशेषज्ञ डा राजन शर्मा बताउँछन् । ‘यो लागुआषध प्रयोग गरिरहेकालाई यो एउटा वैकल्पिक औषधी हो । यसले लागुऔषध प्रयोग कम गर्न र सम्भावित दुर्घटना रोक्न सहयोग गर्छ,’ डा राजन भन्छन् ।

      लागुऔषध प्रयोगकर्ता अहिले पोखरामा काठमाडौंपछि सबैभन्दा धेरै पाइएको छ । कम्युनिटी सपोर्ट ग्रुपले संकलन गरेको तथ्यांक अनुसार लागुऔषध प्रयोगकर्तामध्ये अधिकांश किशोर छन् । ‘सबैभन्दा बढी लागुऔषध प्रयोगकर्ता २० वर्षभन्दा मुनिका छन्,’ राजन सुनाउँछन् ।
      लागुऔषधको प्रयोगले विभिन्न दीर्घ तथा सरुवा रोग पनि फैलिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका अधिकारी बताउँछन् । ‘पछिल्लो समय लागुऔषध सेवन गर्नेहरु हेपाटाइटिस सीको धेरै जोखिममा छन्,’ कार्यालयका निमित्त प्रमुख नारायणबाबु ढकाल भन्छन्, ‘धेरैजसो हेपाटाइटिस सी एउटै सिरिन्जबाट लागुऔषध प्रयोग गर्दा फैलिएको छ ।’

      पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लागुऔषध प्रयोगकर्तालाई निरुत्साहित गर्न मेथाडोन विधि चलाइरहेको छ । ‘रिह्याबमा लगेरमात्रै हुँदैन । प्रहरी खोरमा थुनेर पनि हुँदैन,’ डा शर्मा भन्छन्, ‘मेथाडोन उनीहरुको डोजमा कमी ल्याउने र विस्तारै लत छुटाउने विधि हो ।’ लागुऔषध प्रयोग गरिरहेका मान्छेलाई मेथाडोनबाट विकल्प दिन खोजिएको उनी सुनाउँछन् ।

      मेथाडोन औषधी प्रयोग गरेर धेरैले व्यावसायिक एवं आयमूलक कार्यमा हात पनि हालिसकेका छन् । कोही पेन्टर काम थालेका छन् भने कोही ड्राइभिङतिर । मेथाडोन औषधी प्रयोग गरिरहेका सेवाग्राहीलाई निरन्तर अनुगमन कम्युनिटी सपोर्ट ग्रुपले गरिरहेको छ । ‘धेरै टाढाबाट आउने सेवाग्राहीलाई यातायात खर्च दिनेदेखि उनीहरुको परिवारलाई आर्थिक सहायता गर्नेसम्म गरिहेका छौं,’ ग्रुपका नवीन तुलाचन भन्छन् ।

      अहिले पोखरा लगायत क्षेत्रमा लागुऔषध प्रयोगकर्ता बढिरहेकाले मेथाडोन विधि प्रयोग गर्न प्रेरित गरिरहेको तुलाचन बताउँछन् । ग्रुपले त्यसबाहेक एचआइभी पीडितको पुनःस्थापनाका लागि पनि विभिन्न काम गरिरहको छ । ‘अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यक्रम गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो सम्पर्कमा आएका सेवाग्राहीलाई कन्डम वितरण गर्नेदेखि सम्बन्धित निकायमा खबर गर्नेसम्म गरिरहेका छौं ।’ कम्युनिटीले गत आर्थिक वर्षमा मात्रै ३ हजारभन्दा बढी कन्डम वितरण गरिसकेको उनी सुनाउँछन् ।

      मेथाडोन लागुऔषधविरुद्धको विकल्प भएपनि कसैकसैलाई काम नगर्ने समस्या रहेको अस्पतालका डा शर्मा बताउँछन् । ‘कसैलाई २०÷३० दिन खुवाउँदासम्म असर गर्दैन, त्यसबेला भने समस्या हुन्छ,’ उनी प्रष्ट्याउँछन् । कडा तथा कम डोज लिने जुनसुकै ड्रग्स प्रयोगकर्तालाई पनि सुरुमा एउटै मात्रामा मेथाडोन दिइने र पछि आवश्यकता अनुसार थपघट गरिने उनी बताउँछन् ।

      अस्पतालले अहिले प्रत्येक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र सार्वजनिक विदा तथा शनिबारका दिउँसो २ बजेसम्म मेथाडोन औषधी वितरण गरिरहको छ । गत वर्ष मेथाडोन प्रयोगकर्ता महिला पुरुष गरेर २ सय ४७ जना रहेको कम्युनिटी ग्रुपका तुलाचनले जानकारी दिए ।


      प्रतिकृया दिनुहोस्