Samadhan National Daily

      हरिदेवीको ‘जन्मेको आँगनी’ र ‘झल्झली सम्झौली आमा’ बजारमा

      पाेखरा, २० भाद्र:

       वरिष्ठ लोक गायिका तथा साहित्यकार हरिदेवी कोइरालाको तीज गीत संग्रह ‘जन्मेको आँगनी’ तथा ‘झल्झली सम्झौली आमा’ भिसिडी मंगलबार लोकार्पण भएको छ ।

      अली मियाँ लोक बाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा गायिका कोइरालाकी आमा जगतकुमारी भट्टराई, गण्डकी प्रदेश सभाका सांसद इन्द्रधारा बिष्ट लगायतले कृतिको लोकार्पण गरेका हुन् । ‘जन्मेको आँगनी’ लोक गायिका हरिदेवीको नवौं कृति हो । कृतिमा रहेका ९७ गीतहरु मध्ये ९१ गीतहरु रकर्ड भै सकेका छन् ।

      गण्डकी प्रदेश सभाका सांसद बिष्टले नेपालको मौलिक लोक गीतको संरक्षण गर्नु पर्ने बताए । ‘गायिका हरिदेवीले नेपाली मौलिक गीत मार्फत स्रोताको मन जितेकी छिन,’ सांसद बिष्टले भने, ‘नयाँ पुस्ताका कलाकारको लागि उनले धेरै सन्देश दिएकी छन् ।’ उनले अग्रज तथा अनुज कलाकारको लागि मार्ग दर्शक बनेको धारणा राखे ।

      समीक्षक असफल गौतमले हरिदेवी लोक संस्कृतिको विश्व विद्यालय भएकोले पछिल्लो पुस्ताले उनीबाट ज्ञान आर्जन गर्न सक्नु पर्नेमा जोड दिए । गौतमले कृतिमा नारीका वेदना, वियोग, महिला जागरण, संस्कार र संस्कृति समेटिएको धारणा राखे ।

      कार्यक्रममा अग्रज पत्रकार वद्रीविनोद प्रतिक, कृष्णप्रसाद बास्तोला, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका महासचिव सुरेन्द्र गुरुङ, अली मियाँ लोक बाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष हनिफ मियाँ, सचिव पदमराज ढकाल, संगीतकार नवराज बराल, साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’ लगायतले बोलेका थिए ।


      प्रतिकृया दिनुहोस्