Samadhan National Daily

      पोउवासंघकाे नेतृत्व लिन प्यानलसहित प्रजुकाे उम्मेदवारी घोषणा

      पाेखरा, २२ भाद्र:

      नेपाली कांग्रेसबाट निर्वाचित पोखरा महानगर वडा ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले आउँदो असोज ५ र ६ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३२ औं अधिवेशनमा अध्यक्ष पदका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

      प्रजु प्यानलबाट वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उपाध्यक्ष (उद्योग) विन्दु कोइराला सुवेदी, उपाध्यक्ष (वाणिज्य) पवनकुमार प्रजापति, महासचिव अर्जुन पोखरेल, कोषाध्यक्ष सुरेन्द्रमान बिचुक्छे र उपमहासचिव चिनुकुमारी गुरुङ प्रतिस्पर्धामा उत्रने छन् । सदस्यतर्फ बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द बाँस्तोला, कुमारी मुना बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी छन् ।

      अध्यक्षका उम्मेद्वार प्रजुले आफ्नो प्यानल सन्तुलित समावेशितासहित उम्मेद्वारी दिन लागेको भन्दै आफ्नो टिमले पोखरा उद्योग वाणिज्य संघको गरिमा जोगाउन सक्ने बताए । ‘पोखरामा रहेका व्यवसायीहरुको हक हितका लागि हामीले सन्तुलित समावेशितासहित उम्मेद्वारी दिएका छौं,’ अध्यक्ष पदका उम्मेद्वार प्रजुले भने, ‘उद्योग वाणिज्य संघलाई आँच पु¥याउने गरी व्यवसायीहरुलाई विचलित गर्न, गराउन गरिने दुष्प्रयासलाई हाम्रो टिमले संघ भित्र छिर्न दिने छैन ।’

      प्रजुको टिमले व्यवसायीको आर्थिक सामाजिक रुपान्तरण गर्ने, सामूहिक भावना र निर्णयबाट सम्पूर्ण व्यवसायीलाई एकै ठाउँमा गोलबद्ध गर्ने, राजनीतिभन्दा माथि उठेर विशुद्ध उद्योग र व्यवसायको उन्नतिका लागि काम गर्ने जनाएको छ । उनीहरुले प्रतिबद्धता पत्रमै पोखरालाई सफा, सुन्दर मात्रै नभई आर्थिक हिसाबले पनि समृद्धको सहर सहरको परिकल्पना गरेको उल्लेख गरेका छन् ।

      ‘हामी पोखरालाई सुन्दर र सफा सहरसँगै आर्थिक समृद्ध सहर बनाउन चाहन्छौं,’ प्रजुले भने, ‘त्यो सँगै हामी व्यवसाय र नियन्त्रीत आपूर्ती प्रणालीको विपक्षमा उभिन्छौं ।’

      ‘अनुभव वर्षाैं वर्षको, अठोट उद्योगी व्यवसायीको हित र समृद्ध पोखराको’ नारा दिएर चुनावमा होमिएको प्रजुको प्यानलले आफ्नो टिमले जिते सरकारले तोकेको करका कारण व्यवसायीको बीच उत्पन्न हुने अन्योल समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने जनाएको छ । साथै उक्त प्यानलले पोखराका व्यवसायीले भन्सारमा खेप्नुपरेको समस्यालाई सहजीकरण गर्न स्थानीय भन्सार कार्यालय भएका उद्योग वाणिज्य संघसँग समन्वय गरी सहजीकरण गर्ने बताएको छ ।

      उद्योगी व्यवसायीबीचको सम्बन्ध विस्तार र वस्तु आदान प्रदान एवं व्यापार व्यवसाय सहजीकरणका लागि अन्तर प्रदेश र अन्तर क्षेत्र स्तरीय उद्योग वाणिज्य संघका सदस्यहरुबीच छलफल कार्यक्रम आयोजना गर्ने समेत प्रतिबद्धता गरिएको छ ।

      त्यस्तै अर्काे प्यानलमा अध्यक्ष पदका लागि दामु अधिकारीले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्। अधिकारीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी गौतम र वाणिज्यतर्फको उपाध्यक्षमा यमनाथ पौडेल उम्मेदवार बनेका छन् । त्यस्तै महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उपमहासचिवमा सीता बरालले उम्मेदवारी दिनेछिन् ।

      सदस्यहरुमा नारायण पौडेल, डिबी भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोख्रेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइँटेल छन् । उद्योग वाणिज्य संघमा २४ जना प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेछन् । बाँकी सदस्यहरुलाई स्वतन्त्र छोडिएको अध्यक्षका उम्मेद्वार अधिकारीले जानकारी दिए । अहिले दुबै टोली प्रचारप्रचारसँगै घरदैलोमा व्यस्त छन् ।


      प्रतिकृया दिनुहोस्