Samadhan National Daily

      भुटानलाई हराएपछि नेपालकाे सेमिफाइनल सम्भावना यस्ताे छ

      काठमाडौं, २२ भाद्र:

      पाकिस्तानमाथि संघर्षपूर्ण जित निकाल्दै घरेलु टोली बंगालदेश सेमिफाइनल नजिक पुगेको छ।

      बंगलादेशले लगातार दोस्रो जित निकाल्ने क्रममा बिहीबार पाकिस्तानलाई १–० ले हराएको हो। उसका लागि खेल सकिन ५ मिनेट अघि टोपु बरमानले निर्णायक गोल गरेका थिए।

      यही समूहको पहिलो खेलमा नेपालले भुटानलाई ४ -० काे अन्तरले हराएको छ।

      यो सँगै अघिल्लो चरणको सम्भावना सबै टिमका लागि बाँकी छ। यस समूहबाट सबै टोलीको सेमिफाइनल पुग्ने गणितीय सम्भावना कायमै छ।

      समूहबाट बंगलादेश अघिल्लो चरण पुग्ने सम्भावना सबैभन्दा धेरै छ। नेपाल र पाकिस्तानको समान ३ अंक छ भने भुटान अंक बिहिन छ। समूह चरणको अन्तिम खेलमा भोलि नेपाल र बंगलादेश तथा पाकिस्तान र भुटानबीच प्रतिस्पर्धा हुनेछ। यही खेलले सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ।

      नेपालका लागि शनिबार बंगलादेशसँगको खेल निर्णायक हुनेछ। बंगलादेश र नेपाल खेल्नुअघि पाकिस्तान र भुटानबीच प्रतिस्पर्धा भइसकेको हुनेछ। यदि उक्त खेलमा पाकिस्तानले भुटानलाई हराएमा नेपालले बंगलादेशलाई कुनै पनि हालतमा हराउनैपर्ने बाध्यता हुनेछ। तर, भुटानले पाकिस्तानलाई हराएको खण्डमा नेपालले बंगलादेशसँग बराबरी खेले पनि अघिल्लो चरण पुग्नेछ।

      यस्तो हुनेछ सेमिफाइनल समिकरण

      दोस्रो चरणको खेल सकिँदासम्म अंक तालिकामा बंगलादेश २ खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा छ। २ खेलबाट ३ अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा रहँदा समान खेलबाट ३ अंक बटुलेको नेपाल तेस्रो स्थानमा छ। पाकिस्तानको तुलनामा नेपालको गोल अन्तर धेरै भए पनि ‘हेड टु हेड’ नियमका आधारमा नेपाल तेस्रो स्थानमा रहेको हो।

      समान अंक बोकेका दुई टोलीको नतिजालाई प्राथमिकतामा राखिने प्रावधान रहेको छ। समूहको पुछारमा रहेको भुटानले २ खेलमा कुनै अंक जोडेको छैन। यद्यपी भुटानको सेमिफाइनल पुग्ने सम्भावना अझै कायमै छ।

      नेपाल सेमिफाइनल पुग्ने बिकल्पहरू

      सेमिफाइनल पुग्न नेपालले बंगलादेश विरुद्ध स्पष्ट जित हासिल गर्नु पर्नेछ। स्पष्ट जित दर्ता गरेमा सेमिफाइनलमा स्थान बनाउनेछ। यस्तो अवस्थामा नेपाल समूह विजेता वा उपविजेता बन्ने टुङ्गो लाग्न अघिल्लो खेलमा पाकिस्तान र भुटानको खेलको नतिजाले फरक पार्छ।

      यदि भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बंगलादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ। नेपालले बंगलादेशलाई पराजित गरे नेपाल समूह विजेता बन्नेछ।

      यदि पहिलो खेलमा भुटानले पाकिस्तानलाई फराकिलो अन्तरमा हराउने र दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भए भुटानले अर्को चरणमा स्थान बनाउने छ।

      यसका लागि भुटानले कम्तिमा पनि ५ गोलअन्तरले पाकिपस्तानलाई हराउनुपर्नेछ। पाकिस्तानले भुटानलाई हराए समूहमा कुन स्थान हुने हो त्यो पक्का गर्न नेपाल र बंगलादेशबीच हुने दोस्रो खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

      दोस्रो खेलमा नेपाल र बंगलादेश बराबरी भए या नेपाल पराजित भए उपविजेता भएर पाकिस्तान सेमिफाइनलमा पुग्छ भने नेपाल विजयी भएको खण्डमा नेपाल र बंगालदेश पुग्नेछन् र पाकिस्तान बाहिरिनेछ।


      प्रतिकृया दिनुहोस्