Samadhan National Daily

      त्रिलाेचनकाे परिवार नै मृगौला पीडित, उपचार गर्न पैसाकाे पिरलाे

      पाेखरा, २३ भाद्र:

      त्रिलोचन शर्माको परिवार अहिले पोखरा फूलबारी बस्छ । परिवारमा ५ जना सदस्य छन् । परिवार नै मृगौला पीडित भएपछि उनलाई उठूँ की बसूँ भएको छ ।

      उनकी माइली छोरी श्यामला शर्मालाई १७ वर्षअघि मृगौलामा समस्या देखियो । रोग लागेर थलिएको ४ वर्षपछि बाबु त्रिलोचन शर्माले मृगौला दान गरे । तर पनि समस्या दोहोरिएपछि उनको हाल भारतमा उपचार भइरहेको छ । उनलाई उपचारमा संलग्न डाक्टरले घरेलु कामदार राख्ने शर्तमा उपचार गर्दै आइरहेकाछन् ।

      फलेबास नगरपालिका १० पर्वत घर भएका शर्मा परिवार ४ जनाको मृगौलामा समस्या छ । शर्मा परिवारमाकान्छी छोरीबाहेक अरु ४ जना सबै मृगौला पीडित छन् । ‘सबैका मृगौलामा समस्या देखिएको छ । मेरो पनि एउटामात्रै निको छ,’ त्रिलोचन भन्छन् ।उनको परिवार आर्थिक अवस्था कमजोर भएकै कारण गम्भीर रोग देखिए पनि सहेर बसेको छ ।

      बावुले मृगौला दान गरेपछि श्यामलालाई रोक निको त हुँदै गयो । परिवारमा खुसीको उज्यालो छाउँदै थियो । तर, धेरै टिकेन त्यो खुसी । माइली छोरीलाई मृगौलामा समस्या देखिएको ५ वर्षपछि जेठो छोरो प्रकाश शर्माको पनि मृगौलामा समस्या देखियो । डाक्टरले मृगौला रोग पत्ता लगाएको २० दिनमा नै उनको मृत्यु भयो । ‘ठूलो छोरालाई मृगौला रोग लागेको अन्तिम अवस्थामा मात्र हामीलाई थाहा भयो,’ त्रिलोचन भन्छन्,‘हामीले कुनैपनि हालतमा हाम्रो छोरालाई बचाउन सकनौं ।’

      माइली छोरीको मृगौलामा समस्या देखिन सुरु गरेको यात्रा ठूलो छोरा हुँदै कान्छा छोरामा पुग्यो । ‘जेठो छोेरो बितेको लगभग ५वर्षपछि कान्छा (छोरा दीपक शर्मा) को पनि मृगौलामा समस्या देखियो,’ बावु त्रिलोचन भन्छन्, ‘त्यतिबेला दीपकलाई दिदीले मृगौला दान गरेर बाँचेको हो ।’ मृगौला फेरेर पुनर्जीवन पाएपनि दीपक अहिले पुनः उपचारकै क्रममा छन् । उनले अहिले महिनामा १५ हजार रुपैयाँको औषधी प्रयोग गर्दै आएका छन् ।

      छोराछोरीमात्रै होइन रोग त्रिलोचनको श्रीमती प्रेमकला शर्मामा पनि स¥यो । केही वर्षअघि मात्रै प्रेमकलाको मृगौलामा समस्या देखिएको छ । बाबु त्रिलोचन भन्छन्, ‘अहिले उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइराखेको छ । हप्तामा दुईपटक त डायलोसिस नै गर्नुपर्छ ।’प्रेमकलालाई डाक्टरले एउटा मृगौला फेर्नुपर्ने सुझाएका छन् । तर, ‘अर्थ’को ठूलो पहाड उनको अघि उभिएको छ । उनले पनि महिनामा १५ हजार रुपैयाँको औषधी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

      ‘उपचार गर्ने भनेरै भएको सम्पत्ति पनि सबै बेचियो,’त्रिलोचन भन्छन्, ‘छोराले (दीपक) डिभिजन सडक कार्यालय पोखरामा करारमा जागिर खान्थ्यो । त्यो पनि साउन महिनोदेखि नै छोड्यो ।’देशमा संघीयता आएर कर्मचारी साटफेर घटाउने बढाउने नीतिले आफ्नो जागिर फुत्किएको दीपक शर्मा बताउँछन् । भन्छन्, ‘मैले मात्रै जागिर खाएपनि दिगो रुपमा आम्दानी गर्न सकिन्थ्यो । यसले परिवारलाई केही धान्न सकिन्थ्यो । तर, भएको जागिर पनि गयो ।’

      त्रिलोचनको कान्छी छोरी कोकाकोला कम्पनीमा काम गरिरहेकी छिन् । त्यही कम्पनीबाट आएको केही तलब नै परिवारको आम्दानीको स्रोत हो । ‘कान्छी छोरीले केही कमाएर ल्याउँछे । त्यो पैसाले कोठाभाडा तिर्न र खान नै पुग्दैन,’ उनी भन्छन् । त्रिलोचन की कान्छी छोरी परिवारका सबै सदस्यलाई मृगौलामा सकस्या देखिएपछि पढाइ छोड्न बाध्य भएकी थिइन् ।

      शर्मा परिवारले अहिले मासिक ४० हजार रुपैयाँभन्दा बढीको औषधीमात्रै प्रयोग गर्दै आएको छ । यताउता गरेर कमाएको आम्दानी पोखरामा कोठा भाडा तिर्न र खानलाउन पनि राम्रोसँग नपुगेको त्रिलोचन सुनाउँछन् । ‘छोराको जागिर भएको बेलासम्म आस थियो त्यो पनि खोसियो । अब उसको जागिर खोसियो । जागिरसँगै आश मर्दै गएको छ,’ त्रिलोचनले भन्छन्, ‘बेला बेलामा विभिन्न सरकारी निकायमा धाएर छोरालाई करारमा जागिर खुवाएको थिएँ । अब त छोराको जागिर पनि छैन ।’

      तिलोचनका छोरा दीपकले सहयोगमा पैसाभन्दा पनि रोजगार दिलाइदिन आग्रह गरेका छन् । भन्छन्, ‘पैसा दिएको समयमा मात्र हुन्छ । तर, जागिरबाट लामो समयसम्म आम्दानी गर्न सकिन्छ । त्यसले परिवार पनि राम्रैसँग चलाउन सकिन्छ,’ उनले भने ।

      परिवार नै मृगौला पीडित भएपछि शर्माले आफ्नो परिवारलाई सहयोग गर्न सबै अपिल गरेका छन् । उनको परिवारलाई आर्थिक सहयोग गर्न नेपाल एसबीआई बैंकमा दीपक शर्माको नाममा रहेको खाता नम्बर १८९१५२४१४०८२३१ मा पैसा जम्मा गर्न सकिन्छ ।


      प्रतिकृया दिनुहोस्