Samadhan National Daily

      १७ वर्षे किशाेर जसले नेपालकाे इज्जत जाेगाए

      पाेखरा, २३ भाद्र:

      जाकार्ता (इन्डोनेसिया) मा भर्खर सकिएको एसियाली खेलकुदको १८ औं संस्करणमा नेपाल एक खेलमा रजत पदक ल्याएसँगै पदकविहीन हुनबाट जोगियो ।

      खेल प्याराग्लाइडिङ थियो जसमा नेपालले पहिलोपटक भाग लिएको हो । खेलको सफलताले चर्चा पायो, त्योभन्दा बढी चर्चामा छन् अहिले युकेश गुरुङ (१७) ।

      उमेरले नेपाली प्याराग्लाइडिङ टिममा मात्र नभएर पूरै एसियाली टिममा कान्छा खेलाडी बने युकेश । कान्छा खेलाडी भएपनि उनले खेल अवधिभर देखाएको उत्कृष्ट प्रदर्शनले साराको ध्यान खिच्न सफल भयो । विश्वमा साहसिक खेलका रुपमा चिनिएको प्याराग्लाइडिङले भने नेपालमा खेलकै रुपमा मान्यता पाएको भने धेरै वर्ष भएको छैन ।

      तर, खेलमा भाग लिएको पहिलो वर्ष नै प्याराग्लाइडिङले ऐतिहासिक जीत निकाल्यो । टिम नेपालले एसियाली खेलकुदमा पाएको सफलतामा युकेशको योगदान महत्वपूर्ण रह्यो ।

      ‘पदक जित्छु नै भन्ने थिएन । आफ्नो बेस्ट दिनमात्रै खाजेको थिएँ,’ युकेश भन्छन् । उनी ९ वर्षको उमेरदेखि नै प्याराग्लाइडिङतर्फ आकर्षित भएको सुनाउँछन् । उनका बाबुको पोखरा लेकसाइडमा होटल व्यवसाय भए पनि पेसाले प्याराग्लाइडिङ पाइलट हुन् ।

      युकेशले ९ वर्षको उमेरदेखि नै प्याराग्लाइडिङ उडानको सामान्य तालिम लिएपनि १२ वर्षदेखि आकाशमा उड्न थालेका हुन् । भन्छन्, ‘घरमा बाबा नै पाइलट हुनुहुन्थ्यो । सिक्न र आकाशमा उडान मलाई सजिालो भयो ।’ घरमा पाएको सकारात्मक सहयोगले ठूलो सफलता हात परेको उनी सुनाउँछन् ।

      उनको उडानको पहिलो अनुभव भने रमाइलो छ । बाबुको होेटेलमा बास बस्न आएका विदेशी पाहुनाहरुको पुरानो ग्लाइडर मागेर उनी प्याराग्लाइडर बनेको बताउँछन् । ‘होटेलमा विदेशीले आउँथे । उनीहरुको पुरानो ग्लाइडर मागेर नै प्याराग्लाइडिङ सिकेको हुँ । पछि आकाशमा उड्न त्यति गाह्रो भएन,’ उनी भन्छन् । जुन आकाशमा उडेपनि आफूभित्र आत्मविश्वास हुनुपर्ने उनको तर्क छ ।

      सामान्य अर्थमा प्याराग्लाइडिङ उडाउनु नै हो जुन आकाशमा उडाए पनि एउटै हुन्छ भन्ने सोच छ । तर, यस विचारको खण्डन गर्छन् युकेश । भन्छन्, ‘यता डाँडामाथि उडानुपर्छ । उता (इन्डोनेसिया) मा बस्तीमाथि नै उडाउनुपर्ने रहेछ । धेरै फरक रहेछ ।’ राज्यले चाहेजति लगानी गर्न सके आफूले अझै राम्रो गर्न सक्ने उनी बताउँछन् ।

      ‘प्याराग्लाइडिङ साहसिकमात्रै नभएर आफैमा महंगो खेल पनि हो । २ वटा ग्लाइडर किन्न नै लगभग १५ लाख जति लाग्छ,’ युकेश भन्छन्, ‘यसपालि सरकारले राम्रो लगानी गर्‍यो । आगामी दिनमा पनि यस्तै लगानी गर्‍यो भने अझै राम्रो गरेर देखाउनेछौं ।’ आफ्नो भविष्य नै प्याराग्लाइडिङ बनाएकाले यसैमा राम्रो प्रगति गर्ने उनको लक्ष्य छ ।

      एसियाडमा प्याराग्लाइडिङमा सहभागी भएका पुरुष समूहतर्फ प्याराग्लाइडर युकेश गुरुङसहित विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ र विशाला थापा सहभागी थिए । महिलातर्फ प्रतिभा भुजेल, तृषा तामाङ र सविता तामाङ सहभागी थिए । महिला टिम छैंटौं नम्बरमा आउन सफल भएको थियो ।


      प्रतिकृया दिनुहोस्