Samadhan National Daily

      सिद्धगुफाभित्र टेबलटेनिस प्रतियाेगिता

      दमौली, २४ भाद्र:

      दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफाको प्रचारका लागि नेपालमै पहिलो पटक गुफाभित्र टेवलटेनिस प्रतियोगिता गरिएको छ ।

      बन्दीपुरमा सञ्चालन भएको तनहुँ पर्यटन तथा सांस्कृतिक महोत्सवको अवसर पारेर बन्दीपुर गाउँपालिका वडा नम्बर ४ विमलनगरस्थित सिद्धगुफामा शनिबार टेवलटेनिस प्रतियोगिता गरिएको हो ।

      प्रतियोगितामा विपीनराज घिमिरे प्रथम, सुजन देवकोटा द्वितीय र विकल्प परियार तृतीय भएका थिए । विजेताहरुलाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको कार्यक्रमका संयोजक मदन तिमिल्सिनाले जानकारी दिए । प्रतियोगिताका विजेताहरुलाई रोटर्‍याक्ट क्लवका जेडआरर बुद्धि जोगीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा १० जनाको सहभागिता थियो ।

      दक्षिण एसियाकै ठूलो दाबी गरिएको गुफा प्रचारप्रसारमा ओझेलमा परेको भन्दै गुफाको प्रचारका लागि टेवलटेनिस प्रतियोगिता गरिएको हो । ‘

      अन्य ठाउँका साना–साना गुफाको पनि विकास भएको छ,’ बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले भने, ‘हाम्रो यति ठूलो गुफाको विकासका लागि सरकारको ध्यान पुग्न सकेको छैन ।’ थापाले गुफाको विकासका लागि स्थानीय सरकारबाट मात्रै सम्भव नभएकोले यसमा केन्द्रीय सरकारको पनि ध्यान पुग्नुपर्ने भन्दै गुफाभित्रै प्रतियोगिता गरिएको जानकारी दिए ।

      पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट २ किलोमिटर पूर्व विमलनगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६ सय मिटरमाथि विमलनगरको ठिक दक्षिण भागमा पर्दछ । विसं २०४४ साल चैत १३ गतेमा स्थानीय चन्द्रबहादुर सम्लिीङ थापा मगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर, नारायणबहादुर कुमाल र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत ५ जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।


      प्रतिकृया दिनुहोस्