Samadhan National Daily

      दाँतेकीरा के हो, कसरी बच्ने ?

      , २४ भाद्र:

      चिसो खाँदा दुख्ने, तातो खाँदा दुख्ने, खाना अड्किएर दुख्ने हुन्छ । यो अवस्थामा पनि दाँतको हेरविचार गरिएन भने दाँतेकीराको संक्रमण दाँतका जरासम्म वा रक्तनलीसम्म पुग्छ ।

      हाम्रो दैनिक जीवनमा सबैभन्दा बढी प्रयोग हुने अंगमध्ये मुख पनि पर्छ । खान, बोल्न, हास्न, खाना पचाउनेदेखि शारीरिक पूर्ण सुन्दरता ल्याउन मुख अर्थात् चम्किला दाँतका पंक्ति नै सर्वोपरि हुन्छन् । बुझेर या नबुझेर मुख स्वास्थ्यलाई अली वेवास्ता गर्दा कतिपयले धेरै नै पीडा सहनु परेको छ । दाँतकै कारण धेरै पैशा खर्च गर्नुपरेको हामी पाउँछौ भने दाँतकै रोगका कारण ज्यानै समेत फाल्नुपरेको पनि हामी यदाकदा सुन्छौं ।

      अझै पनि नेपालको स्वास्थ्य परिवेशमा दाँत, मुख रोगलाई त्यति महत्व दिइएको पाइँदैन । दाँते कीरा हालसम्म पनि स्वास्थ्य (दन्त) विज्ञानमा परिमार्जित हुन नसकेर धामी, झाक्रीकै रुपमा उपचार पद्धति अपनाइएको परिवेश पनि हाम्रो समाजमा यथावत छ । यस्ता व्यवहारले थलिएको समाजलाई बदलिदो दन्त स्वास्थ्यसँग परिचित गराउन सम्बन्धित सरोकारवाला निकायले पूर्ण रुपमा सहयोग गर्नुपर्ने देखिन्छ ।

      दाँते कीरा के हो भन्नेबारे जान्न सबैभन्दा पहिले दाँतको बनावटसम्बन्धी ज्ञान लिनु जरुरी हुन्छ । हाम्रो मुखमा रहेको दाँत एक प्रकारको कडा हड्डीले नै बनेको हुन्छन् । दाँतको बाहिरी भाग अलि कडा खालको हड्डी अर्थात डेन्टाइनले बनेको हुन्छ भने डेन्टाइनको भित्री भागमा रक्तनली हुन्छन् । उक्त रक्तनलीले दाँतलाई बचाउने काम गर्छ भने दाँतलाई अड्याएर राख्ने काममा अलि नरम खालको हड्डीको सहयोग रहेको हुन्छ ।

      दाँतेकीराबाट बच्नु र बचाउन हामी सबैको दायित्व हुन आउँछ । खासगरी बच्चाको हकमा खाना खुवाइसकेपछि दाँतलाई सफा र नरम कपडाले पुछिदिनु पर्छ । भित्री बाहिरी भागको दन्त लेउ हटाइदिएमा दाँतेकीराको संक्रमण हुन पाउँदैन । सम्भव भएसम्म सफा पानीले कुल्ला गराइदिनु पर्छ । साना बच्चाहरुलाई सानै उमेरदेखि बिहान बेलुकी खाना खाइसकेपछि ब्रस गराउने बानी बसाल्नु उपयुक्त हुन्छ । ब्रस गर्दा फ्लोराइड युक्त टुथपेस्ट प्रयोग गराउनु पर्छ । गुलिया खानेकुरा टासिने खानेकुरा खान कम गराउनु पर्छ ।

      बच्चाहरुको दाँतमा यदि हीरा लागिसकेको खण्डमा नजिकको स्वास्थ्य संस्थामा गई उचित परामर्श लिनु र उपचार गराउनु राम्रो मानिन्छ ।

      यसैगरी दाँत जन्मेको लगभग ६ महिनादेखि ६ वर्षसम्ममा उम्रने दाँत बच्चाका दुधेदाँत हुन् । यी दाँतको संख्या जम्मा तलमाथि गरी २० वटा हुन्छन् । ६ वर्षपछि क्रमशः यी दूधेदाँत फेरिन थाल्छन् । दाँत फेरिने क्रम भने १३ वर्षसम्म रहन्छ । ६ वर्षपछि उम्रने नयाँ दाँतहरु भने कहिल्यै फेरिदैनन् । यी र यस्ता दाँतलाई दाँतेकीराबाट बचाउनु पर्छ ।

      बिहान खाना खाइसकेपछि दैनिक रुपमा बिहान, बेलुकी खाना खाइसकेपछि दैनिक रुपमा फ्लोराइड युक्त टुथपेस्टले ब्रस गर्नु पर्छ । दाँत ब्रस गर्दा समय दिएर पूरै दाँतको भाग समेटिने गरी ब्रस गर्नु पर्छ । खैनी, चुरोट, बिंडी, पान पराग, पुकार, गुट्खा, चकलेट, धूमपान, मध्यपान त्याग्नु नै उत्तम हुन्छ । आफ्नो दाँतको अवस्थाबारे हरेक ६ –६ महिनामा दन्त अस्पताल तथा स्वास्थ्य परार्मश केन्द्रहरुमा गई चेकजाँच गराउनु पर्छ । कीरा लागेको खण्डमा सुरुवातमै उपचार गराइहाल्नु फलदायी हुन्छ ।

      यस्तो अवस्थामा स्थिर रुपमा हाम्रो मुखमा रहने दाँतमा खानका लागि प्रयोग गरिने खाना, खाजा नास्ता, धूमपान, मध्यपान लगायतका बिस्कुट, मिठाइ, गुट्खाजन्य पदार्थको केही मात्रा दाँतको जुनसुकै भागमा केही बेर बस्न गई दन्त देउ उत्पन्न गर्छ । यस्तो प्रक्रिया निरन्तर हुन गई दाँते कीराको सुरुवात हुन्छ । दाँतको इनामेल भागमा रहेको खाना दाँत लेउबाट बढ्दै गई हानीकारक जीवाणु उत्पन्न हुन्छन् । हामीले खाएको अड्केको खानेकुरालाई सडाउँदै उक्त जीवाणुहरुले अम्ल उत्पादन गर्छन् । उक्त अम्लले दाँतलाई सडाउने काम गर्छ र दाँतको इनामेल भागलाई प्वाल पारिदिन्छ र दाँतको इन्टाइनसम्म खाडल पुग्छ ।

      यो प्रक्रिया सुरुको अवस्था हुनाले हल्का झन्झनावट भएता पनि दुखाइ नहुन पनि सक्छ । जब दाँतको भित्री भाग डेन्टाइनलाई पनि छेड्न थाल्छ यो अवस्थामा भने दाँतको दुखाइ सुरु हुन्छ । चिसो खाँदा दुख्ने, तातो खाँदा दुख्ने, खाना अड्किएर दुख्ने हुन्छ । यो अवस्थामा पनि दाँतको हेरविचार गरिएन भने दाँतेकीराको संक्रमण दाँतका जरासम्म वा रक्तनलीसम्म पुग्छ । दाँत दुख्ने सुन्निने, पिप निस्कने र मुखमा गन्ध आउने हुन्छ । यो अवस्थामा भने दाँतको ठूलै उपचार गर्नु पर्ने हुन सक्छ । यी र यस्ता अवस्थामा पनि दाँत मुखको हेरविचार गरिएन भने यसले धेरै दुःख दिने र अन्त्यमा दाँत निकाल्नैपर्ने हुन सक्छ ।

      दाँतलाई सडाउने खालको प्रक्रियाले दाँतलाई मात्र असर नगरेर दाँतलाई अड्याउने हड्डीलाई समेत असर गरी डरलाग्दा रोगसमेत निम्त्याउन सक्ने सम्भावना हुन्छ । दाँतेकीरा नाङ्गो आँखाले नदेखिने हुँदा दाँतको चेकजाँचबाट मात्रै सामान्य अवस्थामै रोकथाम गर्न सकिन्छ । दाँतेकीराको बारेमा सामान्य ज्ञान लिनु हामी सबैलाई नितान्त आवश्यक छ ।


      प्रतिकृया दिनुहोस्