Samadhan National Daily

      विकासकाे ‘सिंगापुरे टिप्स’ सुने मन्त्री र सांसदले

      पाेखरा, ३० भाद्र:

      ‘मलेसियाबाट सिंगापुर स्वतन्त्र हुँदा जनतामा हर्षाेल्हास थियो, नाच्ने गाउने उफ्रने गर्दै थिए’, प्राडा गेरी लिट भने, ‘तर एकजना नेताको अनुहारमा खुसीभन्दा धेरै गाम्भीर्य बढी थियो ।’

      लिटले भनेका ती नेता थिए—ली क्वान । लिटकै भनाइमा त्यसबेला सिंगापुरमा सेना थिएन, पुलिस थिएन, प्राकृति स्रोत त छँदै थिएन र अहिले पनि यो मुलुक पानीसमेत आयात गरेरै पिउँछ ।

      तर सिंगापुर दक्षिण पूर्वी एसियामै सबैभन्दा धेरै जिडिपी भएको मात्रै नभई विश्वकै धनी मुलुकमा दरिएको छ । सिंगापुरमा अहिले ७ हजार बहुराष्ट्रिय कम्पनी छन् । विश्वका ठूला कर्पाेरेट हाउसका ४ हजार क्षेत्रीय कार्यालय छन् । यसको कारण के हो त ? ‘ली क्वान युु’, प्रोफेसर गेरी लिटले बेलिविस्तार लगाए, ‘उनको सशक्त नेतृत्व र प्रष्ट दृष्टिकोण ।’ लिकै नेतृत्व कुशलताका कारण सिंगापुर जस्तो सानो क्षेत्रफल भएको थोरै जनसंख्या भएको मुलुकले फड्को मार्न सकेको उनको भनाइ थियो ।

      गण्डकी प्रदेशको नीति तथा योजना आयोगले ‘गण्डकी प्रदेशलाई सिंगापुरे रुपान्तरणको सन्देश’ विषयमा राखेको अन्तक्र्रियामा मुख्य वक्ताका रुपमा शुक्रबार प्रोफेसर गेरीलाई डाकेको थियो । गेरी लि क्वानको टिममा बसेर काम गरेका प्रोफेसर हुन् । मुख्यमन्त्री, मन्त्री, प्रदेश सांसद, बुद्धिजीवी र व्यवसायीहरुले प्रोफेसरबाट सिंगापुरे विकास मोडलबारे सुने ।

      प्रोफेसर गेरीले लि क्वानका नाममा कुनै सडक र भवन वा एयरपोर्ट नबनेको सुनाए । भ्रष्टाचार न्यून हुने विश्वकै उत्कृष्ट तेस्रो मुलुकमा सिंगापुर पर्ने उनले उल्लेख गरे । तर सिंगापुरे प्रधानमन्त्रीको तलब भने छिमेकी मलेसियाका महाथीर मोहम्मदको भन्दा अति धेरै रहेको सुनाए ।

      ‘महाथीरको २२ हजार रिंगिट, सिंगापुरको मालीको पनि त्योभन्दा बढी हुन्छ, तर महाथीरका छोरा सबैभन्दा धनी भए, उनका ठुल्ठूला महल भए’, प्रोफेसर गेरीले भने । उता अपारदर्शी आर्जन भएको तर लि क्वान शासन पारदर्शी र शून्य भ्रष्टाचार नीतिमा अघि बढेको सुनाए । सन्तुलित परराष्ट्र सम्बन्ध लि क्वानको खुबी रहेको पनि उनले भन्न छुटाएनन् ।

      ‘मन्त्रिपरिषदका एकजना वरिष्ठ मन्त्री हाउजिङको भ्रष्टाचारमा मुछिए, जोगिन लि क्वानसँग सहयोग माग्दा उहाँले हुन्न भन्दिनुभयो’, प्रोफेसर गेरीले भने, ‘पछि ती मन्त्रीले आत्महत्या गरेपछि पश्चिमाहरुबाट लीलाई मानवता नभएको आरोप पनि लाग्यो ।’ तत्कालको फाइदाका लागि भ्रष्टाचारमा मित्रलाई साथ दिनुको साटो देशको दीर्घकालीन फाइदा लि क्वानले हेरेर गेरीले बताए ।

      गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भूगोल र संस्कृतिलाई अनुकूलतामा बदल्नसक्नु ली क्वानको खुबी भएको सुनाए । लीको जीवनी किताब फ्रम थर्डवल्ड टु फस्टवल्ड आफूले पढेको स्मरण गर्दै मुख्यमन्त्रीले जनतालाई लीले अनुदान र सहुलियतको ऋण दिएर सरकारी अपार्टमेन्टमा आवास उपलब्ध गराएको उल्लेख गरे । ‘उहाँमा प्रष्ट भिजन रहेछ’, उनले भने, ‘अन्तर्राष्ट्रिय परिस्थिति हेरेर अगाढि बढ्न सके प्रगति गर्न सकिन्छ भन्ने उहाँबाट सिक्न सकिन्छ ।’

      जहाँजहाँ धेरै कर छ त्यहीं त्यहीं नै सामाजिक सुरक्षा रहेको पनि मुख्यमन्त्रीले सुनाए । ‘हाम्रोमा त कर तिर्न गणतन्त्र ल्याएको हो र भन्ने मानसिकता छ । संसारमै सबैभन्दा धेरै कर स्क्यान्डेनिभियन देशहरु डेनमार्क, नर्वे, फिनल्यान्ड र स्विडेनमा छ र त्यहीं सामाजिक सुरक्षा धेरै छ,’ उनले भने, ‘हामी त जो शक्तिशाली छ त्यसैलाई विकसित ठान्छौं, अमेरिका त होइन नि विकसित, यिनै स्क्यानडेनिभियन देश हुन् ।’

      ली क्वान जस्तो नेता जन्मिन संस्कृतिले मुख्य खेल्ने बताउँदै मुख्यमन्त्री गुरुङले सहकार्य, मानवता, नैतिक मूल्यमा विश्वास जस्तो संस्कृति दक्षिणपूर्वी एसियामा रहेको सुनाए । ‘तर हाम्रो संस्कृति आत्मकेन्द्रित छ, हामी त आफ्नै कुलको भनेपछि, आफ्नै पार्टीको भनेपछि, झन् आफ्नै दाजुभाइ भनेपछि हुरुक्कै हुन्छौं,’ उनले भने, । म कहाँ छु भनेर सोच्ने स्टाटस कन्सस संस्कृति विकासको बाधक रहेको उनको भनाइ थियो ।

      प्रोफेसर गेरीले सार्वजनिक यातायात सिंगापुरको सान रहेको सुनाए । उनले भने, ‘निजी कार चढ्न सबैभन्दा महँगो पर्ने देश हो हाम्रो ।’ उनले १० वर्षभन्दा पुराना निजी कार कवाडीमा जाने पनि सुनाए । सिंगापुरे डलरको भाउ स्थिर राख्न सक्नु लि क्वानको अर्काे खुबीका रुपमा उनले अथ्र्याए । उत्कृष्ट शिक्षामा प्रोफेसर गेरीले जोड दिए । उनकै भनाइमा लि क्वान पनि पूर्ण मानव भने थिएनन् । ‘उहाँमा ८० प्रतिशत असल गुण र २० प्रतिशत कमजोरी थियो,’ गेरीले भने ।

      आयोगका उपाध्यक्ष डा गिरिधारि शर्मा र विज्ञ विष्णु बरालले सिंगापुरे नेता लि क्वानबारे प्रोफेसर गेरीले सुनाएका धेरै महत्वपूर्ण जानकारी गण्डकी प्रदेशका लागि काम लाग्ने विचार व्यक्त गरेका थिए ।


      प्रतिकृया दिनुहोस्