Samadhan National Daily

      मुक्तिक्षेत्र विकास र गुरुयोजना

      , १ आश्विन:

      मुस्ताङलाई चिनाउने पहिलो आधार हो पवित्र धार्मिक आस्थाको केन्द्र मुक्तिनाथ धाम । यसलाई तिब्बती भाषामा बौद्धमार्गीहरुले छुमिङ ग्यात्सा(सय पानी वा यथेष्ठ पानी) भन्ने गर्छन् । जीवनमा गरिएका पाप नास हुने, धर्म तथा मानव जीवनका लागि प्राप्त हुने मोक्ष हासिलका लागि धार्मिक श्रद्धालुहरु मुक्तिनाथ धाम ओइरिने गरेका छन् ।

      समुद्री सतहदेखि करिब ३ हजार ७ सय १० मिटरमा अवस्थित मुक्तिनाथ क्षेत्रको क्षेत्रफल ५ हजार ३ सय ३३ रोपनी जमीनमा फैलिएको छ । मुक्तिनाथ मन्दिर परिसर भित्र हिन्दु तथा बौद्ध धर्मलाई समेट्ने धार्मिक मठ मन्दिर र गुम्बा छन् । मुक्तिनाथमा मन्दिरसहित परिसरभित्र १ सय ८ धारा, स्नानकुण्ड, मुक्तेश्वर महादेव मन्दिर, विष्णुपादुका, यज्ञशाला, सम्बा गुम्बा, नरसिंह गुम्बा, बुद्ध प्रतिमा, माने र ज्वालामाई छन् । परिसरको चारैतिर सेतो रङको पर्खालले घेरिएको छ । मन्दिर प्रस्थान गर्नुअघि जोमसोम हुँदै मुक्तिनाथ गएका धार्मिक तिर्थालुहरु रानीपौवाबाट पैदल वा घोडाको सहयोगमा पुग्छन् ।

      बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– १, पुराङ रानीपौवाको उत्तरतर्फको पाखोमा अवस्थित मुक्तिनाथ परिसरको यात्रा सवारी साधनबाट ओर्लेर करिब आधाघन्टा पैदल दुरीमा छ । बजारक्षेत्रबाट पैदल हिँड्दै तीर्थालु मुक्तिनाथको पहिलो गेट पुग्छन् । जहाँबाट ठाडो उकालो जीर्ण पैदल बाटो हुँदै मुक्तिनाथ प्रवेशद्वारमा पुग्न सकिन्छ । मुक्तिनाथको भित्री प्रवेशद्वारदेखि मन्दिर परिसरसम्म ५ मिनेट उक्लनु पर्ने हुन्छ ।

      मुस्ताङकै प्रसिद्ध धार्मिकस्थलका रुपमा विकास भइरहेको मुक्तिनाथ क्षेत्रमा स्वदेशी तथा विदशी तीर्थालुको ठूलो भीड लाग्छ । चैते दशंै तथा सोह्रश्राद्ध र औंशी तिथिमा कागबेनी तीर्थस्थलमा पिण्डदान गरेर तीर्थालु सोझै मुक्तिनाथ पुग्छन् । वर्षायाम होस् या हिउँदयाम जुनसुकै समय मुस्ताङ आउने पर्यटकको पहिलो धार्मिक गन्तव्य बनेको छ मुक्तिनाथ ।

      धार्मिक महिमा चुलिँदै गएको मुक्तिनाथ गन्तव्य पछिल्लो समय यातायात विस्तारले यात्रा सहज बनाइदिएको छ । उहिले यातायातको पहुँच नहुँदा हप्तौ लगाएर तीर्थालु मुक्तिनाथ धाउँथे । अहिले त्यो अवस्था छैन । २–४ दिनमै मुक्तिनाथ र कागबेनी पुगेर फर्कनसक्ने अवस्था छ । सरकारले उत्तरी कोरलानाकालाई लक्ष्य गर्दे सुरु गरेको राष्ट्रिय शाखा राजमार्ग बेनी–जोमसोम र जोमसोम–कोरला सडक विस्तारकार्य भइरहेको र कागबेनी देखि मुक्तिनाथ जोड्ने कालोपत्रे सडक बिस्तार भएकाले धार्मिक श्रद्धालुहरुको मुक्तिनाथ यात्रा सहज भएको हो ।

      मुक्तिनाथमा दैनिक सय देखि ५ हजारसम्म तीर्थालु आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रवीन सुवेदीको भनाइ छ । धार्मिक पर्यटकलाई लक्ष्य गरेर स्थानीयले ठूला÷ठूला व्यावसायिक भवन निर्माण गरिसकेका छन् । व्यावसायिक प्रयोजनमा बनाइएका करिब सय जति होटल तथा लज मुुक्तिनाथमा छन् । बजार छेउ किनारामा स्थानीयले घरेलु उत्पादनका सामानहरु बेच्ने गर्छन् । बेशीबाट मुक्तिनाथ उक्लिएका सवारी साधन पुराङ रानीपौवा बजारको बाहिरै रोकिन्छन् । बजारक्षेत्रमा सवारी लैजान स्थानीयले रोक लगाएका छन् । बजारक्षेत्रमा सवारी लैजाँदा सुन्दरतामा असर पुग्ने तथा स्थानीय व्यापारलाई असर पुर्‍याउने स्थानीयको बुझाइ छ ।

      मुक्तिनाथ दर्शनका लागि आउने तीर्थालुको मुख्य समस्या भनेकै मुक्तिनाथको पहिलो गेट देखि दोस्रो गेट सम्मको ठाडो उकालो हो । विशेषगरी भारतीय तिर्थालुहरुको लागि यो उकालो सास्तीनै बनेको छ । जीर्ण सिंढी भएको उकालो बाटोका कारण अपांग, ज्येष्ठ नागरिकहरुलाई समस्या परेको हो छ । कतिपयले त यो उकालो काट्न घोडाको सहारा लिन्छन् । मुक्तिनाथमा दिनहुँ सयौं पर्यटक जान्छन् तर यो बाटोको स्तरोन्नति हुन सकेको छैन । मुक्तिनाथमा तीर्थालुले चढाएको भेटी पारदर्शी हुन सकेको छैन । नगद सय देखि माथि नगद दान गर्ने समितिको कोषमा दाखिला गर्ने भए पनि मन्दिर र कुण्डमा चढाइएका गरगहना तथा नगद र जिन्सी सामान त्यहाँ रेखदेखका लागि खटिएका आनी र पुजारीको पोल्टोमा पर्छ । तीर्थालुले चढाउने गरेको ९० प्रतिशत भेटी आनी र पुजारीको हातमा पर्ने गरेको स्थानीय पत्रकार भीम रसाइली सुनाउँछन् ।

      भारतीय राजदूतावासको सहयोगमा साविकको जिल्ला विकास समितिले निर्माण गरेको आधुनिक सुविधायुक्त धर्मशाला प्रयोगविहीन भईरहेको छ । भारतीय तीर्थालुको हितमा बनाइएको धर्मशाला जिल्ला विकास समितिले मुक्तिनाथ विकास समितिलाई हस्तान्तरण गरिसकेको छ । तर समितिले धर्मशाला सञ्चालनमा कुनै पहल नगर्दा करोडौं लगानीको भवन प्रयोगविहीन बनेको हो ।

      मुक्तिनाथ गुरुयोजनाः
      संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागले हालै मुक्तिनाथ वृहत्तर विकास गुरुयोजनाको डिपिआर सार्वजनिक गरेको छ । खाका प्रस्तुत गर्न मन्त्रालय तथा विभागको टोली केही दिन अघि मुस्ताङ आएको थियो । मुक्तिनाथ विकास समितिका अध्यक्ष प्रजिअ शिशिर पौडेलको अध्यक्षतामा बसेको बैठकमा गुरुयोजनाबारे छलफल भयो । छलफलमा स्थानीयले गुरुयोजना खाकामा छुटेका विषयमा जानकारी गराए । विभागले तयार गरेको गुरुयोजनामा मुक्तिनाथ मन्दिरको क्रमबद्ध रुपमा स्तरोन्नति गर्दे लैजाने भएको छ । मन्दिर परिसर फराकिलो पार्न मन्दिर नजिकै भएको आनी बस्ने २ तले आवास भवनलाई केही सारेर नरसिंह गुम्बा नजिक बनाइनेछ । चेन्जिङ रुमलाई फराकिलो पार्ने गरी डिपिआर बनाइएको छ ।

      मुक्तिनाथमा भक्तजनको सेवासुविधाका लागि विभिन्न सेवाकेन्द्र सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने, मन्दिर परिसरबाट ज्वालामाई जाने बाटोको स्तरोन्नति गर्ने, परिसरलाई हराभरा तुल्याउन बृक्षारोपण गर्ने योजना छ । फोहोर मैलाको व्यवस्थापनका लागि विद्युतीय मेसिन जडान गर्ने, विश्रामस्थल र कम्पाउन्ड निर्माण गर्ने, मन्दिर परिसरमा योगकेन्द्र तथा पुस्तकालय भवन तथा कम्पाउन्ड निर्माण गर्ने, परिसर भित्र बगैंचा बनाउने, भौतिक पूर्वाधार निर्माण गर्न रिटेरिङवाल तथा तारजाली लगाउने, मेडिसिन हल तथा सेवाकेन्द्रको भवन तयार गर्ने, सम्बा गुम्बा, मुक्तेश्वर महादेव मन्दिर तथा ज्वालामाई भवनहरुको निर्माण गर्ने, पैदल बाटो तथा ह्विील चियर गुडाउने बाटो बनाउने योजना अघि सारिएको छ ।

      स्नानकुण्ड फराकिलो पारिने, १ सय ८ धाराको क्रमागत सुधार गर्दे लगिने र मन्दिर प्रवेशद्वार नजिकै भित्र र बाहिर निस्कने माने सहितको गेट निर्माण गर्ने, परिसर भित्र सबै वर्गको पहुँच पुग्ने अत्यधुनिक शौचालयहरुको निर्माण गर्ने, मन्दिर परिसर भित्र सौर्य बिजुलीबत्ती जडान गर्ने, प्राकृतिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक र धार्मिक सम्पदाहरुलाई असर नपर्ने गरी संरचना निर्माण गर्ने विभागले प्रस्तुत गरेको खाकामा उल्लेख छ ।मन्दिर परिसरका संम्पूर्ण कामलाई जोन वानमा बर्गिकरण गरिएको छ ।

      विभागले तयार गरेको मुक्तिनाथको पहिलो गेटदेखि दोस्रो गेटसम्मको स्तरोन्नतिका लागि जोन २ कार्ययोजनामा वर्गीकरण गरेको छ । पहिलो गेटदेखि दोस्रो गेटसम्मको उकालो बाटोमा पिसिसी ढलानको सिढी बाटो निर्माणका साथै त्यसमा फलामे रेलिङ राखिने छ । बाटोमा अपांग र ज्येष्ठ नागरिक मैत्री बाटोका लागि ह्विील चियर गुड्ने बाटो बनाइने भएको छ ।

      बाटोमा क्रमागत रुपमा करिब ३० वटा विश्रामस्थल राखिने छ । त्यस्तै जुनसुकै प्रकारका हेलिकोप्टर अवतरण गर्नसक्ने फराकिलो आधुनिक हेलिप्याड निर्माण गर्ने, हेली प्रबेशद्वार, हेली भिआइपी कक्ष र आवश्यक शौचालय तथा त्यसको निकासका पूर्वाधार निर्माण गर्ने जनाइएको छ ।
      मुक्तिनाथ पुराङ रानीपौवा बजारक्षेत्रलाई गुरुयोजनाको जोन ३ मा समेटिएको छ । जसमा रानीपौवा बजारक्षेत्रमा पिसिसी ढलान गर्ने, रानीपौवा धर्मशाला अगाडि प्याराफिट निर्माण गर्ने, रानीपौवा पद्यसम्भव बसपार्कलाई युरोपेली ढाँचाको बसपार्कमा रुपान्तरण गर्ने योजना बनाइएको छ ।

      बसपार्ककोबीच भागमा चक्रपथ माने राख्ने, टिकट काउन्टर, भोजनालय, आवासगृह निर्माण गर्ने र बसपार्क नजिकै घोडालाई व्यवस्थित गर्न तबेला र साइकल पाकिङस्थल निर्माण गरिने भएको छ । त्यस्तै बारागुङ मुक्तिक्षेत्रमा अवस्थित प्रसिद्ध पिण्डस्थल कागबेनीधामको पनि थप स्तरोन्नति गराइने गुरुयोजनामा उल्लेख छ । पिण्डस्थलको संरक्षणका लागि पिसिसी ढलान सहितको तटबन्ध निर्माण गर्ने, कागबेनी श्राद्धस्थल आसपास कालोपत्रे गरिने, सौर्य सडकबत्ती तथा सूचनामूलक होर्डिङ बोर्ड राख्ने, विश्रामस्थल र फोहोर संकलन गर्ने डटिबिन राखिने, धर्मशाला तथा श्राद्धस्थलको स्तरोन्नति गरिने र चारैतिर वृक्षरोपण गरिने भएको छ ।

      मुक्तिनाथ क्षेत्र विकास समितिमा ३ करोड १५ लाख मौज्दात छ । संघीय सरकारको १ करोड र प्रदेशको ४० लाख गरी अहिले समितिको खातामा करिब ५ करोड बजेट छ । समितिको खातामा खर्च गर्ने बजेट भए पनि केमा कसरी खर्च गर्ने भन्ने योजना तयार नहुँदा नसक्दा समितिको पैसा सदुपयोग हुनसकेको छैन । डिपिआर तयार भएको छ तर विभागले कहिले कार्यान्वयन गर्ला हेर्न बाँकी नै छ । तर पर्यटन विभागले मुक्तिनाथ मन्दिर परिसर फराकिलो पार्नेदेखि कागबेनी जीर्ण श्राद्धस्थलको स्तरोन्नति गर्ने निश्चित भएको छ । विभागले यसै महिना सोका लागि बोलपत्र टेन्डर आह्वान गर्ने जनाएको मुस्ताङका प्रजिअ शिशिर पौडेल बताउँछन् ।

      त्यसो त गुरुयोजना कार्यान्वयन पूर्व मुक्तिनाथ बिकास समितिले तत्काल गर्नसक्ने ६ बुँदे कार्ययोजना बनाएको पौडेलल् बताए । प्रजिअ पौडेलका अनुसार गुरुयोजना पूर्व भक्तजनलाई सहज हुनेगरी मन्दिर परिसरलाई फराकिलो बनाउन आनी बस्ने घरलाई नरसिंह गुम्बा नजिक नयाँ बनाउने, त्यसको पूर्व तर्फबाट बाटो ल्याउने, बाढीले बगाएको कागबेनीलाई पिण्ड स्थल(श्राद्ध स्थल)को रुपमा प्राविधिक डिजाइन अनुसार निर्माण गर्ने जनाएको छ । उनले तीर्थालु भक्तजन र यात्रु महानुभावको सुविधा र सौन्दर्यकरणका लागि रानीपौवाको गेटदेखि मुक्तिनाथ गेटसम्म लिफ्ट(विद्युत भर्‍याङ) राख्ने, रानीपौवा बजारलाई पिसिसी ढलान र कागबेनी देखि रानीपौवासम्म जिप पार्कसम्म डेलिनेटर लाईट जडान गर्ने, पर्यटन विभाग-मन्त्रालयले र पुरातत्वले तयार गरेको विगतको गुरुयोजनालाई समेत अध्ययनगरी थप परिमार्जन गर्न एकआपसमा समन्वयगरी मुल गुरुयोजना बनाउन पर्यटन मन्त्रालयलाई अनुरोध गर्ने उनले बताए ।

      तर समितिले तत्काल निर्माण गर्ने भनेको आनी बस्ने घर र श्राद्धस्थलको पर्यटन विभागले टेन्डर आह्वान गरेकाले समिति यो जिम्मेवारीबाट मुक्ति मिलेको छ । पुरातत्व विभाग र मुक्तिनाथ विकास समतिले २०७० सालमा गुरुयोजनाको अवधारणा ल्याए पनि विविध कारणले कार्यान्वयन हुन सकेको थिएन । यसपटक पर्यटन विभागले ल्याएको करोडौं लागत लाग्ने बृहत गुरुयोजना कार्यान्वयन हुनेमा स्थानीय सरोकारवालाहरुले शंका व्यक्त गर्न थालेका छन् ।


      प्रतिकृया दिनुहोस्