Samadhan National Daily

      समृद्धि साझा गन्तव्य

      , १ आश्विन:

      भौगोलिक विकटता, कमजोर भौतिक पूर्वाधारसँगै अपार प्राकृतिक श्रोत, युवाबहुल जनसंख्या, केही पूर्वाधार, तुलनात्मक रुपमा शिक्षित जनशक्ति छ । प्रदेश सरकारलाई विगतबाट सिक्ने अवसर त छैन तर असफलताका पाठहरुबाट सिकेर सही बाटो रोज्ने तत्परताले सफलता दिलाउँछ ।

      खेती योग्य जमिन बाँझिनु जस्ता समस्याहरुबाट जुधेर अघि बढ्नुको विकल्प छैन । जलश्रोत, जलविद्युत, पर्यटन, जडिबुटी उत्पादन जस्ता सम्भावनालाई चिनेर नै विकास र समृद्धि हासिल गर्ने कार्यमा लाग्नुपर्दछ ।

      गण्डकी प्रदेश साविकका गण्डकी धौलागिरी र लुम्बिनीको नवलपुर क्षेत्रलाई समावेश गरी निर्माण भएको छ । नेपालमा पाइने सबै खाले हावापानी यस प्रदेशमा पाइन्छ । एउटा महानगर २६ नगर र ५८ वटा गाउँपालिका रहेको यो प्रदेश नेपालको मध्यभागमा पर्दछ । ११ वटा जिल्ला कायम भएको यो प्रदेशको विकास र समृद्धि कसरी प्राप्त गर्न सकिन्छ भन्ने बहस चलिरहेको छ ।

      माघ २८, २०७५ मा मा तत्कालीन नेकपा (एमाले) को सर्वसम्मत दलको नेता चयन हुनासाथ पृथ्वीसुब्बा गुरुङले आफ्नो सोच सार्वजनिक गर्दै सुन्दर, शान्त, समृद्ध र सभ्य प्रदेश बनाउने लक्ष्य प्रकट गरेका थिए । सरकार प्रदेश सभा र स्थानीय पालिका सबैको साझा सपनामा रुपान्तरित भएको छ, ‘समृद्ध गण्डकी प्रदेश’ । समृद्धिको भोकले सरकार, राजनीतिक दल, उद्योग व्यवसायी, पेशाकर्मी, आम नागरिकलाई जागृत गरेको छ । हामीसँगै अपार प्राकृतिक श्रोत, युवाबहुल जनसंख्या, केही पूर्वाधार, तुलनात्मक रुपमा शिक्षित जनशक्ति छ । प्रदेश सरकारलाई

      विगतबाट सिक्ने अवसर त छैन तर विगतका नेपाल सरकारका असफलताका पाठहरुबाट सिकेर सही बाटो रोज्ने तत्परताले सफलता दिलाउँछ । समृद्धि साझा गन्तव्य हो । यो निकट छैन तर सुनिश्चित छ ।

      हामी कहाँ छौं
      नेपालको अर्थतन्त्रको कूल ग्राहस्थ उत्पादनमा गण्डकी प्रदेशको पाँचौ स्थानमा छ । गण्डकी प्रदेशभन्दा ३, १ र २ र ४ नम्बर प्रदेशको योगदान पहिलो, दोश्रो, तेश्रो, चौंथो स्थानमा छ । राष्ट्रिय अर्थतन्त्रमा गण्डकी प्रदेशको १०.५% मात्र योगदान छ । कृषि, उद्योग, सेवा उत्पादनमा ११.८%, उद्योग १०.६%, सेवा ९.४% योगदान छ । यो कूल ग्राहस्थ उत्पादनको आधारभूत मूल्यमा गण्डकी प्रदेशको योगदान केबल १०.५% मात्र हो । यस प्रदेशको प्रतिव्यक्ति आय १ हजार २१ अमेरिकी डलर रहेको छ ।

      राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ३९.९% सक्रिय जनसंख्या देखिन्छ । गण्डकी प्रदेशमा ४३.९ प्रतिशत सक्रिय जनसंख्या छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार गण्डकी प्रदेशमा खेतीयोग्य जमीन ४ लाख ७१ हजार ८ सय १ हेक्टर । १ लाख ३९ हजार ६ सय ६७ हेक्टर जमीनमा मात्र सिँचाइ पुगेको छ । कूल खेतीयोग्य जमीनमा खेती गरिएको क्षेत्रफल ७६.८ प्रतिशत छ ।

      नेपालमा २०७५ वैशाख १२ गतेसम्म १ हजार ६ मेगावाट विद्युत उत्पादन भएको छ । विद्युत उत्पादनमा गण्डकी प्रदेश पहिलो नम्बरमा पर्दछ । यस प्रदेशमा ४ सय ६० मेगावाट उत्पादित भएको छ । निर्माणाधीन जनविद्युत आयोजनामध्ये गण्डकी प्रदेशमा १ हजार ४ सय मेगावाट रहेको छ ।

      नेपालमा कूल ७० हजार ४ सय ७४ किलोमिटर सडकमध्ये गण्डकी प्रदेशमा १२ हजार ५ सय ८६ किमी छ । जसमा ९ सय किलोमिटर कालोपत्रे, १ हजार ३ सय ६५ किमी ग्राभेल, १० हजार ३ सय २० किमी कच्ची सडक छ ।

      गण्डकी प्रदेशमा औषत आयु राष्ट्रिय औषत ६९.५ भन्दा उच्च छ । यस प्रदेशमा बालमृत्यु दर अन्य प्रदेश भन्दा कम छ । यहाँ १ हजार शिशुको जन्ममा २२ जनाको मृत्यु हुने गरेको छ । यस प्रदेशमा साक्षरता ५५ प्रतिशत छ ।

      आधारभूत सुविधाका रुपमा खानेपानी प्राप्त गर्ने घरधुरी ८६ प्रतिशत छ । खाना बनाउने ऊर्जाको उपयोग ७०% घरधुरी विद्युत सुविधा ८३.% घरधुरी, शौचालयको सुविधा ८१% घरधुरीले प्राप्त गरेका छन् । विद्युत सुविधाको उपलब्धतालाई हेर्दा गण्डकी प्रदेशमा राष्ट्रिय औषतभन्दा बढी घरधुरीलाई विद्युत सुविधा पुगेको छ ।

      गण्डकी प्रदेशमा गरीबी, आय र मानव विकासको स्थिति हेर्दा गरीबीको दर राष्ट्रिय दर २५% भन्दा कम रहेको छ । यस प्रदेशमा राष्ट्रिय योजना आयोगको मानव विकास प्रतिवेदन २०१४ का अनुसार बहुआयामिक गरिबी दर १४ प्रतिशत, गरिबीको दर १५ प्रतिशत गरिबीको विषमता ४ प्रतिशत, गरिबीको गहनता १.४ प्रतिशत गरिबीको संख्या ४ लाख १० हजार ३२ जना रहेको यो प्रदेशको मानव विकास सूचांक ०.५१२ छ । संस्थागत रुपमा यस प्रदेशमा सबैभन्दा कम गरिब छन् । बहुआयामिक गरिबीको दरलाई हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा कम गरिबीको दर छ ।

      आधारभूत खाद्यान्न उत्पादनका आधारमा यस प्रदेशमा खाद्यान्न बचत भएको तथ्यांकले देखाउँछ । यस प्रदेशमा चामल २ लाख ३९ हजार ४ सय ९३ टन, मकै २ लाख ६२ हजार ९ सय ६४ टन, कोदो ७५ हजार २ सय ८९ टन, फापर २ हजार १ सय ८१ टन, गहुँ ६९ हजार ५ सय १० टन, जौ ६ सय ८४ गरी कूल उत्पादन ६ लाख ५० हजार १ सय १९ टन छ । आवश्यक खाद्यान्न ५ लाख ५२ हजार ५ सय २७ टन खर्च गर्दा ९७ हजार ५ सय ९२ टन बचत भएको देखिन्छ । गण्डकी प्रदेशमा राजस्व संकलन भन्दा राजस्व खर्च बढी हुने प्रदेश हो । राजस्व संकलन १.५% योगदान दिएको यस प्रदेशले राजस्व खर्च ७.४ प्रतिशत गरेको देखिन्छ ।

      हामीसँग के छ
      गण्डकी प्रदेशमा नदीनाला, ताल, हिमाल र खनिजको प्रचुरता छ । युरेनियम, फलाम, चुन र खरी ढुंगा यस प्रदेशमा पाइने खनिज हो । यस प्रदेशमा ७ लाख १३ हजार ८ सय ३९ हेक्टर ३२% भू–भाग वन क्षेत्रले ढाकेको छ । काष्ठ तथा गैरकाष्ठ पैदावरको प्रमुख श्रोत वन रहेको छ । प्रदेशको जनसंख्याको ५०% जनसंख्या आर्थिक रुपमा सक्रिय छ । यसले आधा जनसंख्या आश्रित रहेको देखाउँछ । यस प्रदेशको हिमालमा ०.८ %, पहाडमा ८६.२% र तराईमा १२.९% जनसंख्या छ । यो प्रदेशमा जातिगत रुपमा खसआर्य ३५%, जनजाति ३९%, दलित १७% देखिन्छ । यसैले यो जनजाति बहुल प्रदेश हो ।

      हाम्रा समस्या
      भौगोलिक विकटता, कमजोर भौतिक पूर्वाधार, खेती योग्य जमिन बाँझिनु जस्ता समस्याहरुबाट जुधेर अघि बढ्नुको विकल्प छैन । जलश्रोत, जलविद्युत, पर्यटन, जडिबुटी उत्पादन जस्ता सम्भावनालाई चिनेर नै विकास र समृद्धि हासिल गर्ने कार्यमा लाग्नुपर्दछ ।

      कसरी समृद्ध बन्ने
      हामी संघीयता कार्यान्वयनका चरणमा छौं । संघीय, प्रान्तीय र स्थानीयहरु नै समृद्धि प्राप्त गर्ने अभिन्न अंग हुन, औजार हुन् । संघीयताको सफलताको आधारभूत शर्त नै यी तीनै तहका सरकारको अन्तरसम्बन्ध र तिनको कार्य सफलता हो । कुनै १ तहको सरकारबीच सहयोग, समन्वय र समझदारीले समृद्धि प्राप्त गर्न सघाउ पुर्‍याउँदछ ।

      आर्थिक समृद्धिका लागि दोहोरो अंकको वृद्धि दर भन्ने बुझिन्छ । नेपाल राष्ट्र बैंकले ८ अंकको वृद्धि दरको प्रक्षेपण गरेको छ । तर २ अंकको वृद्धिदर हाम्रो आवश्यकता हो । सोको प्राप्तिका लागि कसरी काम गर्न सकिन्छ भन्ने प्रमुख सवाल बनेको छ । नेपालको संविधानले आर्थिक विकासका लागि सरकारी, सहकारी र निजी क्षेत्रको समझदारी, समन्वयकारी र प्रभावकारी भूमिका हुनुपर्ने व्यवस्था गरेको छ ।

      अर्थतन्त्रलाई बजारको जिम्मा लगाउने गरी अपनाइएको उदारवादी, नवउदारवादी अर्थतन्त्रको असफलताबाट हामीले सिक्नु पर्दछ । राज्यको भूमिका कमजोर हुन दिनुहुन्न । अर्थतन्त्रको विकासका लागि पूर्ण राज्य नियन्त्रित वा पूरै बजार नियन्त्रित बाटो हाम्रा लागि असफलताका पाठ धेरै भएकाले सरकारी, सार्वजनिक र निजी क्षेत्रको समझदारीको बाटोबाट अघि बढ्नु जरुरी छ ।

      पूर्वाधार निर्माण समृद्धिको पहिलो शर्त
      गण्डकी प्रदेश पहाडी प्रदेश हो । भू–बनोटको दृष्टिले पूर्वाधार निर्माणमा लागत बढी लाग्ने अवस्थामा हामी छौं । तर समृद्ध प्रदेशका लागि सडक पूर्वाधार पहिलो शर्त हो । कोरला–पोखरा, पोखरा त्रिवेणी, मध्यपहाडी लोकमार्ग, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गलाई उच्चस्तरको सडकका रुपमा निर्माण प्रारम्भ गर्न सक्दा रोजगारीमा वृद्धि हुने र आर्थिक क्रियाकलापमा बढोत्तरी हुनेछ । तत्काल मुग्लिङबाट पोखरासम्म ६ लेनको सडक विस्तार प्रारम्भ गर्न ध्यान दिनुपर्दछ ।

      निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूरा भएपछि स्वभाविक रुपमा पर्यटन आवागमनमा वृद्धि हुनेछ । यसका लागि पर्यटन पूर्वाधारका विकास र सेवा क्षेत्रका उद्योगहरु सञ्चालनमा ध्यान केन्द्रित गर्नुपर्दछ । पर्यटनका क्षेत्रमा अहिले भइरहेको लगानीलाई कम्तीमा दोब्बर बनाउनु पर्दछ । यसो गर्दा सञ्चालनमा रहेको होटल, रेस्टुरेन्ट र अन्य सेवा प्रदायकहरुको गुणस्तरियतामा वृद्धि र नयाँ गन्तव्यहरुको निर्माणले तत्काल रोजगारीमा वृद्धि गरी अर्थतन्त्रको प्रगति देखिनेछ । यसका लागि पर्यटक केन्द्रीय भाषा र सेवाका लागि तालिम केन्द्र खोल्नु र त्यसको सञ्चालन अनिवार्य भइसकेको छ । भाषा र टुरिस्ट गाइडका लागि टे«निङ स्कुलहरुको सञ्चालनले धेरै मान्छेलाई रोजगारी प्रदान गर्न सकिन्छ ।

      पर्यटकका लागि आवश्यक खाद्यान्न उत्पादन त्यसको वितरण र बजारीकरण गर्नका लागि खेतदेखि भान्सासम्म र एयरपोर्टदेखि गन्तव्यसम्म धेरैले धेरै प्रकारका सेवा प्रदान गर्न सक्ने भएकाले रोजगारी वृद्धि, आयमा वृद्धि, बजार र सेवा उद्योगको वृद्धिले आर्थिक समृद्धि प्राप्त गर्न सहयोग पु¥याउँदछ । यस प्रदेशलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिने पर्यटन सम्भावनाहरु पनि छन् । पोखरा, मुस्ताङ, मनाङ र गोर्खाको चुम उपत्यका प्रकृतिका वरदान हुन् । यहाँका पर्यटकीय सौन्दर्यको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै पर्यटन उद्योगलाई अघि बढाउन सकिन्छ ।

      हाम्रा वस्तीहरु छरिएका छन्, विकासको लागत बढेको छ । सडक, बिजुली, शिक्षा, स्वास्थ्य, सञ्चार जस्ता आधारभूत आवश्यकता पूर्ति गर्न कठिनाइ भएको तथ्यहरुले देखाउँछ । अझै कतिपय गाउँमा वस्ती वाल्न सकिएको छैन । छरिएका वस्तीलाई एकीकृत वस्ती निर्माण गरेर समृद्धि प्राप्त गर्न सकिन्छ । छरिएका दर्जनौं गाउँलाई एकै ठाउँ र आवास क्षेत्रमा बसोबास गर्ने गरी योजना निर्माण गरी अघि बढ्नु पर्दछ । यसो गर्दा गरिएको लगानी एकीकृत भइ पूर्वाधार, शिक्षा, स्वास्थ्य र अन्य सेवा सहज प्रदान गर्न सकिन्छ । श्रमका नयाँ बजार र सम्भावनाहरु देखा पर्न थाल्ने छ । विद्यालय शिक्षामा, सामुदायिक स्वास्थ्यमा गरिएको लगानीको प्रतिफल प्राप्त हुन थाल्दछ । समृद्धि प्राप्तिको नयाँ क्षितीज देखा पर्दछ ।

      पर्यटन उद्योगलाई लक्षित गर्दै पोखराको सराङकोट, तनहुँको बन्दीपुर र पोखरा–मुक्तिनाथ केबलकारको निर्माण गर्न निजी क्षेत्र अग्रसर भएको छ । यसको कामलाई छिटो प्रभावकारी बनाउन प्रदेश सरकारले थप सुविधा र अवसर सृजना गरी सहयोग पुर्‍याउन सक्छ । निर्माणकै चरणमा लगानी, धर्म, सीप र प्रविधि समेत हस्तान्तरण भइ समृद्धि प्रदेश बनाउन महत्वपूर्ण योगदान प्राप्त हुन्छ ।

      यस्ता खाले उद्योगहरुका लागि आवश्यक ऊर्जाको आपूर्ति प्रदेशबाट नै हुन सक्छ । निर्माण भएका, निर्माणधीकारी यो प्रदेश जलविद्युतमा सबै भन्दा धनी प्रदेश पनि हो । अन्य प्रदेशमा भन्दा सहज र सरल रुपमा उर्जा आपूर्ति गर्न सकिँदा अन्य खाले उद्योगको पनि सम्भावना देखा पर्दछ । जल–विद्युतमा आइरहेको वैदेशिक लगानीलाई प्रवद्र्धन गर्न सक्दा थप लगानी आकर्षण गर्न सकिन्छ र उत्पादनको प्रक्रियामा रहेका जलविद्युत आयोजनाहरुलाई छिटो सम्पन्न गरी उज्यालो प्रदेश बनाउन सकिन्छ । यसका लागि सहरहरुमा घरायसी प्रयोजनमा खर्च हुने उर्जाका लागि सौर्यऊर्जा घर निर्माणकै क्रममा अनिवार्य गराइ प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । जलविद्युत र सौर्यऊर्जाका लागि उपयुक्त प्रदेश भएकाले गण्डकी प्रदेशमा ऊर्जाका क्षेत्रमा लगानी बढाएर समृद्धि प्राप्त व्यवसायिक बन्न सघाउँदैन ।

      तर पहाड, उच्च पहाड र हिमाली हावापानीमा हुनसक्ने फलफूल खेतीमा लगानी बढाउन सक्दा समृद्धि प्राप्त हुन्छ । उदाहरणका लागि मनाङ एग्रो फर्ममा जस्तै मुस्ताङ र गोर्खाको उपल्लो क्षेत्रमा स्याउ लगाउन सक्दा २ वर्षमा आत्मनिर्भर र तेस्रो वर्षबाट हामी अन्य प्रदेशमा स्याउ निकासी गर्न सक्छौं । कृषि क्षेत्रमा यन्त्रको प्रयोग गरी व्यवसायिकता वृद्धि गर्न सकिन्छ । प्रदेश र स्थानीय सरकारले खेती योग्य जमीन बाँझो राख्न नदिन, जग्गालाई लिजमा लिने व्यवस्था निर्माण गरिदिँदा यस क्षेत्रमा लगानी आकर्षण गर्न सकिन्छ । आत्मनिर्भर हुँदै व्यवसायिक कृषिका माध्यमबाट समृद्धि प्राप्त गर्न सकिन्छ । आज यस प्रदेशमा अलैंची, चिया, आलु खेती क्रमशः फस्टाउँदै छ लगानी यही रहेको छ ।

      कृषिसँग जोडिएको अर्को पशुपालन पनि हो । उच्च पहाडको घाँसे मैदानलाई केन्द्रित गरी पशुपालन गरी यस प्रदेशलाई मासु, दूध जस्ता खाद्यान्नमा तत्काल आत्मनिर्भर बनाउन सकिन्छ । आयातमा भई रहेको लगानी रोक्न सक्दा मात्र पनि प्रदेशमा समृद्धि प्राप्त गर्न सकिन्छ ।
      ठूलो उद्योगहरुको स्थापना गर्न कच्चा पदार्थ, तिनको प्रशोधन र प्रयोगको लामो चक्रपूरा समय र लगानी धेरै लाग्ने पनि हुन सक्छ । कृषि क्षेत्रबाट कच्चा पदार्थ प्राप्त गर्न सकिने उद्योगहरुको स्थापना तिनको उत्पादन र वितरणको काममा लाग्दा हाम्रो जनशक्ति स्वरोजगार हुने अवसर प्राप्त हुन्छ । विस्तारै थोरै श्रम र सीपका आधारमा सञ्चालित उद्योगहरुमा लगानी वृद्धि, प्रविधि वृद्धि गरी अगाडि बढ्ने सम्भावना रहन्छ । धेरै ग्रामीण क्षेत्र भएकाले एक पालिका एक उत्पादनका आधारमा अघि बढ्दा समृद्धि प्राप्त गर्न सकिन्छ ।

      सबै खाले उत्पादनको मेरुदण्ड भावना स्रोत हो । यस प्रदेशमा प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी शिक्षाको विकास गरेर समृद्धि प्राप्त गर्न सकिन्छ । अहिलेको चरणमा यस प्रदेशमा मध्यमस्तरको प्राविधिक जनशक्तिको आवश्यकता छ । सोही आधारमा विद्यालय शिक्षा व्यवस्थित गर्नुपर्दछ । विद्यालय शिक्षा पूरा गरेका तर वेरोजगार शिक्षितहरुलाई ध्यानमा राखेर अल्पकालीन तालिम सञ्चालन गरी कार्यक्षेत्रमा लैजान सकिन्छ । कार्यथलोमा नै तालिम प्रदान गर्दै जनशक्तिलाई रुपान्तरण गर्न सकिन्छ । यसो गर्दा सेवाका क्षेत्रका उद्योगमा अहिले देखापरेका श्रमिकको अभाव हट्ने र उद्योग प्रभावकारी भई समृद्धिको यात्रा प्रारम्भ हुन्छ ।

      आजको हाम्रो समृद्धि प्रदेश निर्माणको सपना हो । यस ठूलो सपना पूरा गर्न अरु धेरै र मसिना स–सना सपना पूरा गर्दै अघिबढ्न पर्दछ । ढृड लगनशीलता र कडा परिश्रमले मात्रै हामी हाम्रो लक्ष्यमा पुग्न सक्छौं । सपनाबाट ज्ञान सुरु हुन्छ र पेसा कुशलतामा निर्भर गर्दछ । ज्ञान धनुष हो, वाँण कुशलता हो । पछौटेपनले हामी दुर्वल भएका हौं, विकासले मात्रै सबल बनाउँदै छ ।

      हाम्रो वास्तविकता र सम्भावना हाम्र अगाडि छ । नेतृत्वको कुशलता र क्षमताका आधारमा हामी समृद्धिको यात्रा पूरा गर्न सक्दछौं । गण्डकी प्रदेशमा हामीले जलविद्युतमा लगानीको वातावरण निर्माण गर्न सक्छौं । उत्पादन सहकारीका माध्यमबाट स्थानीय तहको बजेट प्रवाहित गर्न सकिन्छ । सहकारीहरुले सेवामूलक, उत्पादनमूलक क्षेत्रमा काम गर्न सक्छन् । यसरी कार्य गर्दा विचौलियाले ठाउँ पाउँदैछनन् । सोझै किसान लाभान्वित हुन्छन् ।

      जलविद्युतमा पनि सहकारीको लगानी गर्न सकिन्छ । प्रदेश सरकारको नेतृत्व र योजनामा प्रदेशको पानी घर घरको लगानी नाराका साथ जल लगानी, सहकारी लगानी र निजी क्षेत्रको लगानीमा विद्युत उत्पादन गर्न सकिन्छ । त्यसो गर्दा यो नै समृद्धिको पहिलो ढोका बन्न सक्दछ । जहाँबाट प्रवेश गर्दा यो प्रदेश समृद्ध बन्न सक्छ ।

      समृद्धिका हाम्रा आधारहरु
      दोहोरो अंकको आर्थिक वृद्धिका लागि गण्डकी प्रदेशले पूर्वाधारको विकास लगानी वृद्धि उत्पादनमा वृद्धि, रोजगारीमा वृद्धि र सामाजिक विकासमा ध्यान केन्द्रित गर्नुपर्दछ । पूर्वाधार विकासले तत्काल बेरोजगार र अर्धवबरोजगार जनशक्तिलाई रोजगारी प्रदान गर्दछ । ठूलो खाले पूर्वाधारहरु सडक, विद्युत, विमानस्थल, सिँचाई निर्माण जस्ता पूर्वाधारको कामले धेरैलाई रोजगारी प्रदान गर्दछ ।

      लगानी उत्पादनको प्रमुख आधार हो । सबै क्षेत्रमा सरकारी लगानी पर्याप्त हुँदैन । त्यसका लागि नीति क्षेत्र, वैदेशिक लगानी, सहकारीहरुको लगानी प्रवद्र्धन गर्नुपर्दछ । सेवा उद्योग, कृषि उत्पादनमा सहकारीको लगानी प्रभावकारी हुन सक्छ । जसले रोजगारी वृद्धि हुनका साथै आर्थिक गतिविधि वृद्धि हुन्छ । सरकारले पुँजीगत खर्चमा ध्यान केन्द्रित गर्नु पर्दछ । अनावश्यक झिना मसिना खर्चमा सरकारले लगाम लगाउनु पर्छ, मितव्ययी कामले मात्रै पुँजी वृद्धि हुन्छ । अहिले फजुल खर्चमा प्रतिस्पर्धा भइरहेको छ । यसलाई ध्यान दिनु पर्छ । निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन दिँदै लगानी मैत्री वातावरण निर्माण गर्नुपर्दछ । दल र तिनका भातृसंगठनको हस्तक्षेत्रपलाई नियन्त्रण गर्नुपर्दछ ।

      शिक्षा, स्वास्थ्य जस्ता सामाजिक सुरक्षाको क्षेत्रमा सत्कारले लगानी बढाउनु पर्दछ । लोककल्याणकारी राज्यमा आधारभूत क्षेत्रमा निजी क्षेत्रको स्वेच्छाचारिता सरकारले रोक्नु पर्दछ । सामाजिक सुरक्षाका दृष्टिले अत्यावाश्यक सेवा सरकारसँग रहनु पर्दछ ।

      अहिले नेपाली बौद्धिकहरुले विदेश पलायन रोक्नु र स्वदेशमा नै बस्न प्रोत्साहित गर्नुपर्दछ । विदेशिएका बौद्धिकहरुलाई स्वदेश फर्काएर तिनका श्रम, सीपलाई समृद्धिको बाटोमा लगाउनु पर्दछ । यसका लागि सुशासन अनिवार्य शर्त हो । भ्रष्टाचार कम गर्नु, नीतिगत भ्रष्टाचार हुन नदिनु पनि समृद्धिका आधारभूत शर्त हो । अहिले क्रोनी पुँजीवाद हावी हुने खतरा छ । यसैबाट रजग र सर्तक रहनु पर्दछ ।
      पूर्वाधार, पर्यटन, जलविद्युत, शिक्षामा लगानी केन्द्रित गर्दै अघि बढ्दा समृद्धि प्राप्त गर्न सकिन्छ । तर समृद्धि अण्डा मासु उत्पादनका लागि

      पालिएको कुखुरा जस्तो होइन तर कुखुरापालन समृद्धितर्फको एउटा पाइलो हो । योग्यतापूर्ण तवरले गरिएका स–सना कामबाट नै सपनाहरु पूरा गर्न सकिन्छ । पर्यटन, पूर्वाधार जलविद्युतले हाम्रो अनुहारको तस्बिर बदलिन्छ । हामी समृद्ध बन्छौं ।


      प्रतिकृया दिनुहोस्