Samadhan National Daily

      कांग्रेस कास्कीमा मनोनयनः आइबहादुर उपसभापति, देवेन्द्र सचिव र रंगिला सहसचिव

      पाेखरा, ३ आश्विन:

      नेपाली कांग्रेस कास्कीले रिक्त पदाधिकारी मनोनयन गरेको छ । पार्टी सभापति कृष्ण केसीले मंगलबार रिक्त पदमा मनोनयन गरिएको जानकारी दिए ।

      कास्की कांग्रेसको उपसभापतिमा आइबहादुर गुरुङ, सचिवमा देवेन्द्र रानाभाट र सहसचिवमा रंगिला आचार्य मनोनयनमा परेका छन् ।

      कास्की कांग्रेसको मंगलबारको बैठकमा पदाधिकारी मनोनयनका लागि सभापति कृष्ण केसीले गरेको प्रस्ताव बैठकले पारित गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकले कास्कीका साविकका ३ वटा निर्वाचन क्षेत्रमा महासमिति सदस्य चयनका लागि निर्वाचनको मिति तोकेको छ । कास्की क्षेत्र नं १, २ र ३ मा असोज २० गते निर्वाचन गर्ने र प्राविधिक जिम्मेवारी डेमोक्रेटिक लयर्स एसोसियसनलाई दिने निर्णय गरेको छ ।
      त्यस्तै, केन्द्रीय कार्य समितिको निर्देशन अनुसार पार्टीको विद्यान संशोधन मस्यौदामा राय, सुझाव संकलनका लागि असोज ९ र १० गते प्रदेशस्तरीय भेला मार्फत कास्कीको तर्फबाट राय, सुझाव पेश गर्ने निर्णय गरेको छ ।

      नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीले मनोनित पदाधिकारी र सदस्यलाई असार ३ गते पदमुक्त गरिदिएका थिए । जिल्ला कार्यसमिति कास्की सचिव रामराज लामिछाने, सहसचिव भरतबहादुर अधिकारी, सदस्य भोजबहादुर गुरुङ (सिकन्दर), युवराज कुँवर, ओम बस्नेत, देवेन्द्र रानाभाट, नवीन सापकोटा, प्रेम परियार, मुरारी कोइराला, प्रेम तामाङ र सुनयना पालिखेलाई केसीले पदमुक्त गरिदिएका हुन् ।

      नेपाली कांग्रेस कास्कीका निवर्तमान सचिव रामराज लामिछानेले सभापति कृष्ण केसीले महासमितिबाट आउनुपर्ने पदाधिकारी आफै मनोनित गरेकामा आपत्ति जनाएका छन् । उनले इलेक्टेड सदस्यबाट मनोनित गरिनु पर्नेमा त्यसो नभएकोमा चिन्ता व्यक्त गरे । कांग्रेस कास्कीमा एकै क्षेत्रबाट सभापति, निर्वाचित सचिव र मनोनित सचिव पनि हुनु पार्टी हित विपरितको निर्णय भनेका छन् ।

      नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीलाई नयाँ योजना र सशक्त ढंगले पार्टी सञ्चालन गर्न मनोनित गरिएको प्रतिक्रिया दिए । उनले पार्टीको विधान र भावना अनुरुप चलेको बताए । केसीले हेटौंडामा हुने सभापतिको भेलापछि नयाँ योजनाका साथ पार्टीलाई अगाडि बढाउने जनाएपनि ढिलो गरेर पदधिकारी चयन गरेका हुन् ।


      प्रतिकृया दिनुहोस्