Samadhan National Daily

      कञ्चपुर घटना अनिष्टको संकेत

      , ५ आश्विन:

      – अपराधी जोगिन्छ र पीडितले न्याय पाउँदैन भने त्यस्तो शासन व्यवस्थाप्रति जनताको भरोसा गुम्नु र वितृष्णा उत्पन्न हुनु स्वभाविक हुन जान्छ ।

      समाजमा धेरै घटना भइरहन्छ परिणाम राम्रो वा नराम्रो कुनै हुन सक्छ । एउटै घटना कसैलाई राम्रो कसैलाई खराब हुन पुग्छ । कुनै पनि घटनाबाट आन्दोलनको सिर्जना हुने सम्भावना रहन्छ, एउटा घटनाको कारण फरकफरक समस्या र असन्तुष्टिको समायोेजन भई अभिव्यक्ति गर्ने माध्यम पनि बन्छ ।

      ठीक समयमा सम्बोधन हुन नसकेमा वा नचाहेमा त्यसको परिणाम सरोकारवाला (जिम्मेवारीमा रहेका) ले सजाय पाउने निश्चित छ । यस्ता घटनाहरु राजनीतिक आन्दोलनमा परिणत हुने र शासक र सत्ता दुवै पल्टिने गरेको, इतिहास छ । आज देशभरी चिन्ता र त्रास फैलाएको कञ्चनपुरमा भएको निर्मला पन्त बलात्कार र हत्या प्रकरण, न्यायको चासोले आम जनसमुदायलाई उत्तेजित बनाउँदै न्यायको माग गर्दै सडकसम्म उत्रन बाध्य र विवश पारेको अवस्था छ ।

      सरोकारवाला प्रारम्भिक जिम्मेवारी पाएकाहरुले गल्ती कमजोरी गरेको माथिल्लो जिम्मवारीमा बस्नेहरु संवेदनशील हुन नसकेको, यो वा त्यो रुपमा उनीहरुको स्वार्थ विपरित हुने देखेर ध्यानाआकर्षण नभएको अथवा कार्यसम्पादन क्षमताको कमी भन्ने बुझिन्छ । यसको प्रभाव र परिणाम के हुन सक्छ सरकार र सत्तामा बस्नेले गम्भीर भएर सोच्नुपर्ने अवस्था हो । घटनाको अनुसन्धान, खोज र कारबाही सन्तोषजनक नभएको प्रमाण आजसम्मको परिणामले देखाउँछ ।

      पीडितले न्याय र अपराधीले सजाय पाउनुपर्ने सर्वमान्य सिद्धान्त हो । अपराधी जोगिन्छ र पीडितले न्याय पाउँदैन भने त्यस्तो शासन व्यवस्थाप्रति जनताको भरोसा गुम्नु र वितृष्णा उत्पन्न हुनु स्वभाविक हुन जान्छ । जसको कारण आज देशैभरीका प्रमुख सहरमा न्यायको माग गर्दै हजारौं जनसमुदाय सडकमा उत्रिएका छन् । यो मागलाई शुद्ध न्यायको मागमा सीमित राखी धेरै संघ, संस्था, सरोकारवाला एउटै मञ्चमा खडा हुने र ऐक्यबद्धता जनाइरहेका छन ।

      फरक विचार फरक संगठनमा रहेका जनसमुदायलाई एक ठाउँमा उभिन यस घटनाले बाध्य पारेको छ । सरकार र शासकहरुले हेक्का राख्नुपर्छ, जति जति समय गुर्जदैं जान्छ आक्रोस बढ्दै जानेछ र यो मागको विषयान्तर भई राजनीतिक माग र मुद्दा हुन सक्ने सम्भावनाको कमी छैन । फरक प्रसंग फरक देशमा भएको (पाकिस्तानका राष्ट्रपति जुल्फिकर अलि भुट्टोलाई २०३५ सालमा फाँसी दिइएको) घटनाले नेपालीको मानवीय संवेदना जाग्रित भएको कारण आन्दोलन उठेको थियो र राजनीतिक अथवा व्यवस्था परिवर्तनको आन्दोलनको हदसम्म पुगेको इतिहास र प्रमाण हामीसँग छ ।

      २०४६ सालको आन्दोलनको बिउ भारतले गरेको नाकाबन्दीको विरोधबाट सुरु हुँदै राजनीतिक आन्दोलनमा परिणत भएको थियो, अहिले पनि यो सम्भावनाको कमी छैन ।

      आज हाम्रो अवस्था कस्तो छ असन्तुष्टिहरु छन्/छैनन् भनेर फर्कने हो भने समाजमा धेरै अन्तरविरोध र असन्तुष्टि सुषुप्त अवस्थामा पाइन्छ । यस घटनाले दब्बिएर बसेका असन्तुष्टिलाई जाग्रित पार्न सक्छ, व्यवस्था परिवर्तन पछि जनताले राखेको अपेक्षा अनुरुप काम हुन सकेन भन्ने गुनासो सबैमा छ ।

      हिजो उत्पीडनमा परेका जात, जाति, भाषा, भाषीक क्षेत्रीय उत्पीडनलाई संबोधन गर्न नसकेको भनी संविधान जारी हुदाँको दिनलाई कालो दिवस मनाउनेहरुको पनि ठूलै उपस्थिती छ । पहिचान पाउन नसकेको अनुभूति गर्ने जनजातिको संख्या कम छैन, जसलाई दुईतिहाईको दम्भले थिचिएर उकुस मुकुस अवस्थामा पुर्‍याएको छ । यस्तो अवस्थामा उनीहरुलाई यस घटनाले आन्दोलन र सरकारको बिरोध गर्ने ऊर्जा थपिन सक्छ ।

      अर्को पक्ष हिजोको शाासन प्रणालीमा हालिमुहाली रहेको व्यवस्था परिवर्तन पछि खुम्चिएर बसेकाहरुको पनि कमी छैन । व्यवस्था परिवर्तनले जनतामा सेवा–सुविधा र उनीहरुको भविष्य उज्ज्वल हुनुको साटो पुरानै कछुवाको चाल छ । अझै यस्ता अपराध घट्नु र त्यसको छानबिन र कारबाहीको निकम्मापनबाट उनीहरुको मनोबल बढ्ने, प्रतिगमन फर्काउने तर्फ आकर्षित हुने र प्रयास गर्दैन भन्ने छैन ।

      निर्वाचनबाट आफू र आफ्नो पार्टीको हारको पीडा भोगीरहेका राजनीतिक शक्तिहरुको निम्ती पनि सरकारका यस्ता कमजोरीलाई जनता माझ पुराउने यो घटना माध्यम र अवसर हुन सक्छ । स्वभाविक रुपमा यो एउटा माध्यम पनि हो । न्यायको माग गर्दा गोली खानु परेको पीडाले जस्तालाई त्यस्तै भन्ने आक्रोशित मनोविज्ञान तर्फ धकेल्दैन र यसको समर्थन नेपालमा हँुदैन भन्ने छैन । यस्तो सिद्धान्त बोक्ने पार्टीको अस्तित्व पनि वर्तमान अवस्थामा कायम छ ।

      आफ्ना चाहना र आफू अनुकूल नभएका कुराहरु आन्दोलनमार्फत् अस्थिरता खडा गर्ने र सरकारलाई आफ्नो स्वार्थअनुसार काम गर्न बाध्यकारी तुलाउने वैदेशिक कूटनीति भित्र पनि यस घटनाले ठाउँ पाउँने छैन भन्न सकिँदैन । इतिहास तर्फ फर्केर हेर्दा नेपालमा स्थिर सरकार नहुँदा सधैं अस्थिरता रहँदा बाहिरी शक्तिले प्रवेश र हस्तक्षेप गरेको पाइन्छ ।

      प्रवेशको निम्ती यो घटना माध्यम हुन सक्छ पात्र फेरिए पनि विधि र नीति फेरिएको छैन । सरकार र सत्तारुढ पार्टीका प्रमुख नेताका भाषण र कुराले झन् यसलाई उत्तेजक बनाएको छ । एउटा अध्यक्ष आफूभित्र भएको सहमती विदेशमा गएर विदेशी नेतालाई साँची राखी खुलासा गर्छन् भने सरकार प्रमुख आफ्ना कार्यकर्तालाई सरकारको विपक्षमा बोल्नेहरुलाई अरिंगाल बनेर झम्टिय भन्ने आदेश दिन्छन् । आफ्ना कमजोरी लुकाउने यो विधि जनतालाई मनपरेको छ भन्ने छैन ।

      हिजो मत दिँदाको बखत उनीहरुले गरेका प्रतिबद्धताअनुसार जनताले विश्वास गरे तर प्रतिबद्धता पूरा नगरेको अवस्थामा उनीहरुका सधैं दास हुनुपर्छ भन्ने छैन । संवैधानिक मान्यता अनुसार दुईतिहाईको सरकारले गरेका खराब कामका रोकथाम गर्ने उपाय छैनन् । जनता बाध्य भएर आन्दोलित हुन सक्छन् कारण यो घटना हुन सक्छ ।

      अझै नयाँ संविधान जारी निर्वाचन पछि आर्थिक समृद्धि र आफ्नो जीवन सुखी हुने मान्यता र आशामा रहेका जनता संघीयताको नाममा आएको कर नीतिप्रति जानकार छैनन् । सरकारले यस सम्बन्धमा जनतालाई बुझाउन सकेको छैन, जसको परिणाम धेरै पाउने आशा त पूरा भएन । आफैंले तिर्नुपर्ने बाध्यात्मक अवस्था भनेर बुझेका छन् ।

      संघीयताको कार्यान्वयनमा विभिन्न कारणले गति लिन सकेको छैन, जसको कारण जनताले समयमा सेवा–सुविधा पाइरहेको अवस्था छैन । निर्वाचनको बेला घोषणापत्रमा लेखिएका भाषणमा जनतालाई देखाइएका सपना तर्फ फर्केर हेर्ने हो भने जनता झन् निराश हुने अवस्था छ । यस्ता थुप्रै कारण र अन्तरविरोध आज समाजमा विद्यमान छन् ।

      निर्मला पन्त बलात्कार र हत्या घटनाले सिर्जना गरेको अवस्था तरल छ । आन्दोलनको माहोल खडा गरेको छ । यस्तो माहोललाई आफ्नो स्वार्थ अनुकूल परिणाम निकाल्न सबै आ–आफ्नो किसिमले लाग्ने नै देखिन्छ । यसबाट देशमा अनिष्टको संकेत देखापर्छ । यस कुरामा सरकार र सत्तारुढ दल गम्भीर भएर सोच्नुपर्छ भने अन्य राजनीतिक शक्ति वा पार्टी पनि जिम्मेवार भएर आफ्ना कदमहरु चाल्नुपर्छ । कहीकतै यस घटनाको कारण आन्दोलित भएको समाजलाई न्याय नपाएको झोकमा सरकारमात्र होइन व्यवस्था परिवर्तन तर्फ उन्मुख नहोस् ।

      आगोको एउटा झिल्कोले सारा जंगलमा डडेलो लाग्न सक्छ । समय छँदै होस् पुर्‍याउने कि ?


      प्रतिकृया दिनुहोस्