Samadhan National Daily

      जथाभावी हैन, कानुन बनाएर मात्र कर लिन अर्थमन्त्रीकाे अाग्रह

      पाेखरा, ६ आश्विन:

       पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशन उद्घाटनपछि अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश र स्थानीय तहका सरकारलाई कानुन बनाएर मात्र नागरिकलाई कर लगाउन आग्रह गरेका छन् । ‘संघले दिएको कानुनमा नबाझिने गरी प्रदेश र स्थानीय तहले कानुन बनाउन पाउँछ,’ उनले भने, ‘कानुन बनाएर मात्र कर लगाउन आग्रह गर्छु ।’

      सुरुवाती चरणमा करदातालाई कर तिर्ने क्षमता विकास गरेर मात्र कर लिने व्यवस्था गर्न उनको आग्रह छ । ‘सुरुमै हामीले कर धेरै लिन थाल्यौं भने व्यवसायी लगानीकर्ता निरुत्साहित हुने र फेरि उल्टो गतिमा हिँड्ने समस्या सिर्जना हुन्छ त्यो हामीले गर्नुहुँदैन्,’ उनले भने ।

      मन्त्री खतिवडाले घरजग्गाको कर र सम्पत्तिको करलाई एकैठाउँमा राखी एकमुष्ट रकम स्थानीय तहले संकलन गर्दा नागरिकले बोझ महसुस गरेको बताए । ‘मालपोत कर र सम्पत्ति कर एकैठाउँमा तिनुपर्ने व्यवस्था कायम गरिएकोले करको बोझ भएजस्तो महसुस भएको हो । यसलाई बुझ्नुपर्छ ।’ उनले भने ।
      एकीकृत सम्पत्ति कर लिने सन्र्दभमा जग्गाको क्षेत्रफलमा संरचनाले चर्चेको क्षेत्रफलको मात्र कर लिने विषयमा पनि धेरै बहस भइसकेको उनले सुनाए । ‘आम्दानी नहुने सम्पत्तिको अधिक कर तिर्नुपरु्‍यो भन्ने गुनासो आएको छ,’ उनले भने, ‘संघीय सरकारले कर ऐनमा घरजग्गाको तिनुपर्ने कर र सम्पत्ति करको परिभाषा स्पष्ट हुनेगरी संसदमा संसोधन पेस गर्ने प्रक्रियामा पुगिएको छ ।’

      मुलुक संघीयता कार्यान्वयन प्रवेशको चरणमा रहेकोले निर्माण भएका कानुन पर्याप्त नहुँदा सबै निकायसँग तालमेलमा सुधार नआइसकेको उनको भनाइ छ । संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन समारोहमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङका समस्याभन्दा पनि विद्युत खपत बढाउने चुनौती मुख्य भएको बताए ।

      विद्युत आपूर्तिमा आएको प्राविधिक समस्याका कारण बत्ति गएपनि लोडसेडिङ नभएको भन्दै उनले यो समस्या पनि केहि समयपछि समाधान हुने बताए । त्यसका लागि फिडर परिवर्तन, सब स्टेसन निर्माणलगायतका काम भइरहेको उनको भनाइ छ । पूर्व अध्यक्ष वसन्त उदासले संघको मर्यादा र गरिमालाई बचाइराख्ने चुनौती थपिएको बताए ।


      प्रतिकृया दिनुहोस्