Samadhan National Daily

      श्रीयाको शव आफन्तले अाज बुझ्ने

      पाेखरा, १२ आश्विन:

      बलात्कारपछि हत्या गरिएकी कास्कीको पुम्दीभुम्दीकी १० वर्षे बालिकाको शब आफन्तले शुक्रबार मात्र बुझ्ने भएका छन् । पोस्टमार्टमपछिको थप परीक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको नमुनाको नतिजा आएपछि शुक्रबार शब बुझेर अन्तिम संस्कार गर्ने संघर्ष समिति सदस्य उदय खत्रीले बताए ।

      आरोपितले स्वीकार गरिसकेको, बलात्कारपछि हत्या भएको प्रमाणित भए पनि थप परीक्षणको लागि बुधबार नै नमुना पठाएको र शुक्रबार नतिजा आउने चिकित्सकलाई उद्धृत गर्दै खत्रीले बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शबको पोस्टमार्टम गरिएको थियो । श्रीयाको शब क्षेत्रीय अस्पतालकै शवगृहमा छ ।

      बालिकाको हत्यापछि गैरसरकारी संस्थाका प्रतिनिधिका श्रीयाको मामा र ठूलोबुबाको घरमा लर्को लाग्न थालेको स्थानीयले बताए । संघर्ष समिति सदस्य उदय खत्रीले भने,‘के के नामा समूह गाउँमा आएका छन्, दोषीलाई कडा कारवाही हुनेमा आश्वस्त नभएसम्म आन्दोलन गर्नुपर्छ भन्छन् ।’ संघर्ष समिति अध्यक्ष समेत रहेका श्रीयाका ठूला बुवा मीनबहादुर विकको घरमा बिहीबार नै एनजिओका २ समूह पुगेका थिए ।

      यसैगरी अर्कै बिहे गरेर लामो समयदेखि परिवारको सम्पर्कमा नरहेका श्रीयाका बाबु पनि बिहीबार गाउँमा आएका छन् । छोरीको हत्याको खबर पाएपछि उनी गाउँमा आएको स्थानीयले बताए । श्रीयाकी आमा बेलमाया अझै पनि छिनछिनमै मुर्छा हुने र बर्बराउने गरेकी छन् ।

      उता पोखरा महानगरका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले बिहीबार विज्ञप्ति निकालेर १० वर्षे बालिकाको बलात्कारपछि भएको हत्या प्रति दुख व्यक्त गरेकी छन् । ‘घटनाले परिवारजनमा परेको अह्सय पीडाप्रति समवेदना प्रकट गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । उनले बालिका हत्याका आरोपित पक्राउ गर्न कास्की प्रहरी सफल भएको बताउँदै हत्याका आरोपितलाई कानुन बमोजिम कार्वाहीका लागि कुनै कसर बाँकी नराख्ने समेत स्थानिय सरकारको प्रमुखको तर्फबाट विश्वास दिलाउन चाहन्छु, विज्ञप्तिमा भनिएको छ ।

      सोमबारसाँझ घरबाट बिस्कुट किन्न निस्केकी १० वर्षे श्रीया सुनारको स्थानीय २७ वर्षीय कुसुम पौडेलले बलात्कारपछि हत्या गरेका थिए । मंगलबार बिहान श्रीयाको शब भेटिएको थियो भने सोही दिन बेलुका आरोपित पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । बयान लिन थालिएको र छिटै नै सरकारी वकिलमार्फत अदालतमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ ।


      प्रतिकृया दिनुहोस्