Samadhan National Daily

      कराैडाै‌ लगानीकाे शिशुवा अस्पताल झनै बेहाल

      लेखनाथ, १३ आश्विन:

      चौथो पञ्चवर्षीय योजना चलिरहँदा साविक ७ वटा अञ्चलमा १-१ जनस्वास्थ्य कार्यालय र स्थानीय तहको सबैभन्दा तल्लो तहमा आवश्यकता हेरी २ सय हेल्थ पोस्ट अनिवार्य स्थापना गर्ने योजना बन्यो ।

      आवधिक योजनाको मध्यान्तर नाघिसक्यो, कास्की जिल्लामा भने हेल्थपोस्ट स्थापनाको कुनै तारतम्य थिएन ।

      विसं २०३० सालको हिउँदताका कास्की जिल्लाको लेखनाथ क्षेत्रका केही युवाको हुल एकपछि अर्को गर्दै तत्कालीन जिल्ला पञ्चायत सभापति क्षेत्रबहादुर थापालाई भेट्न जिल्ला पञ्चायत पुगे । त्यहाँ पुगेका शिशुवा, भण्डाढिक र सैनिक बस्तीका टोलीले आफ्नो क्षेत्रमा हेल्थपोस्ट राख्न जोडबल गरे ।

      सभापति थापालाई हेल्थपोस्ट भण्डारढिक वा शिशुवा कहाँ राख्ने भन्ने कुराको निर्णय गर्न हम्मे पर्‍योे, आखिर शिशुवाकै युवाको जीत भयो । शिशुवामा स्वास्थ्यचौकी बन्ने भएपछि दुवै ठाउँका युवालाई संरक्षण समितिमा राखेर कास्की जिल्लाकै पहिलो हेल्थपोस्टको रुपमा शिशुवा हेल्थपोस्ट स्थापना भयो ।

      स्थानीय खुसीले गद्गद् भए; स्थानीय बुद्धिप्रसाद द्वा र ‘तारकांङे’ नामले स्थानीयस्तरमा चिनिएका मित्रलाल सापकोटाका ३ भाइ मिलेर ३ रोपनी जग्गा अस्पताल निर्माणका लागि दान दिएपछि शिशुवा स्वास्थ्य चौकी निर्माण सुरु भयो । हेल्थपोस्टका संस्थापक तथा संरक्षक मध्येका १ शिशुवा निवासी वृद्ध हर्कबहादुर श्रेष्ठ अहिले दुखेसो गर्छन्, ‘अस्पताल ल्याउन हामीले खर्चेका दुख घाम जस्तै छर्लंग छन्, तर अहिले कोहीले गनेका छैनन् हामीलाई ।’

      कास्कीको जेठो स्वास्थ्यचौकी अहिले अस्पतालमा परिणत भएको छ । सामान्य औषधी वितरण र प्राथमिक उपचार सेवा अहिले आधुनिक उपकरण र सुविधासहितको अस्पताल त भयो, तर स्वास्थ्य केन्द्रका रुपमा स्थानीयले नै भेउ पाएका छैनन् ।

      शिशुवाकी सुनीता पौडेल सिंढीबाट लडेर घाइते भएकी १४ वर्षीय छोरी लिएर शिशुवा अस्पताल पुगिन् । स्वास्थ्यचौकीबाट स्तरोन्तति भएको अस्पतालमा सुनीताले छोरी लड्ने बित्तिकै पुर्‍याइन् । अस्पतालमा तत्काल उपचार भएन, डाक्टर भेट्न आधा घन्टा पर्खनु पर्‍यो, फोन गरेको आधा घण्टापछि आएका डाक्टरले एक्सरे गर्ने गर्ने मान्छे नभएको भन्दै फर्काइदिए ।

      पोखरा ३० माछापुच्छ्रे चोकका चन्द्रकान्त देवकोटा पिसाबसम्बन्धी समस्या भएकाले गत भदौ ४ गते स्वास्थ्य परीक्षण गर्न शिशुवा अस्पताल पुगे । बिमा सुविधा पाउने आशासहित देवकोटा अस्पताल पुगेका थिए । उनले घर छिमेककै अस्पताल भएको कारण स्वास्थ्य बिमा फाराममा उनले शिशुवा अस्पतालकै नाम राखेका थिए ।

      अस्पतालमा उनको स्वास्थ्य परीक्षण त भयो तर औषधी पाएनन् । स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सरकारले १ हजार प्रकारका औषधीसहित प्रतिपरिवार वार्षिक ५० हजार रुपैंयासम्मको सेवा लिन पाउने व्यवस्था गरेको छ । तर अस्पतालमा मुस्किलले सय प्रकारका औषधी पाइन्छन् ।
      शिशुवा अस्पतालमा लगानीको अभाव छैन ।

      जिल्लाकै ऐतिहासिक महत्वको अस्पताल भएको कारण पनि त्यहाँ दाता पाउन अप्ठेरो छैन । तर जनताले सेवा भने स्वास्थ्यचौकी हुँदा पाएको जति पनि पाउन सकेका छैनन् । सरकार र स्थानीयबासीको सहयोगसमेत गरी अहिलेसम्म अस्पतालमा भौतिक संरचनामात्र करिब २२ करोड रुपैयाँ लगानी भइसकेको छ । लगानी बढे पनि सेवा भने निरन्तर ओरालो लागिरहेको छ । पहिले पहिले लिएका सुविधा पनि गुमाएका मात्र छैनन्, नेपाल सरकारको करोंडौं लगानी र मासिक लाखौं रुपैयाँ राजस्व प्रभावविहीन भएको छ ।

      अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारीको व्यवस्था छ तर अस्पतालमा मुख्य प्रदायकहरुको दरबन्दी रिक्त छन् त कतिपय सिर्जना नै गरिएको छैन । यसले गर्दा महानगरको वार्षिक करोडौं रुपैंयाँ अनुत्पादक बनेको छ । २८ दरबन्दी भएको अस्पतालमा ३४ जना कर्मचारी छन् ।

      जसमध्ये ४ जना मात्र डाक्टर छन् भने, रेडियोलोजी, फार्मेसी, एनेस्थेसिया लगायतका दरबन्दी नहुँदा सेवाग्राही सुविधाबाट बञ्चित हुनुपरेको छ । यतिमात्र नभई गम्भीर प्रकारका बिरामीलाई हचुवाका भरमा औषधी वितरण भइरहेका छन् । विसं २०७३ यता अस्पतालको जिम्मेवारी महानगरपालिकालाई हस्तान्तरण गरिसकेपछि महानगरपालिकाले वार्षिक पौने करोड रुपैयाँ दिने गरेको छ । यस अन्तर्गत कर्मचारीको तलब र अस्पताल सञ्चालनभित्रका २० शीर्षकका बजेट खर्च हुने गरेको छ ।

      अस्पतालमा स्तरोन्तति भएपछि करिब ३ करोडको लागतमा ३ तलाको सुविधा सम्पन्न भवन बनाइयो, भिडियो एक्सरे, एक्सरे र इसिजि र नवजात शिशुका लागि बेबीबार पनि खरिद गरियो । तर ११ लाख रुपैयाँमा २

      वर्ष अघि अस्पतालले खरिद गरेको एक्सरे चलाउने प्राविधिककोे दरबन्दी नै छैन । न्यून संख्यामा औषधी पाइने फार्मेसी कर्मचारीका लागि पनि दरबन्दी छैन ।

      स्थानीयबासीका मतभेदले अस्पतालको काम कार्य सुचारु हुन नसकेको हो । गत साउन महिनामा स्वास्थ्य विभागको अस्पताल व्यवस्थापन समिति गठन आदेश खारेज हुनु अघिका अस्पताल व्यवस्थापन समिति अध्यक्ष महेश्वर पाण्डेले व्यवस्थापन समितिलाई काम गर्ने पूर्ण अधिकार नभएको कारण समस्या आएको बताउँछन् ।

      केही स्थानीयबासी भने व्यवस्थापनले लेखनाथ सामुदायिक लायन्स अस्पतालमा गाभ्ने प्रस्ताव ल्याएपछि व्यवस्थापन समितिलाई खुलेर सहयोग नगरेको बताइएको छ ।


      प्रतिकृया दिनुहोस्