Samadhan National Daily

      नाम-बदनामः गर्भपतनमा कास्की पहिलो

      पाेखरा, १३ आश्विन:

      नेपालमा २०६६ सालभन्दा अघिसम्म गर्भपतनले कानुनी मान्यता पाएको थिएन । पछि सरकारले समेत गर्भपतनलाई मान्यता दिएर सूचीकृत स्वास्थ्य संस्थामार्फत् यसले वैधानिकता पायो ।

      विभिन्न ठाउँमा सुरक्षित गर्भपतनका मान्यता प्राप्त स्वास्थ्य संस्था तथा क्लिनिक खुले । पछिल्लो समय नेपालमा सबैभन्दा बढी गर्भपतन हुने जिल्ला कास्की देखिएको अध्ययनले देखाएको छ ।

      ‘विभिन्न संस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्ला देखाएको छ,’ परिवार नियोजन संघ कास्की प्रमुख सन्तोष अधिकारीले भने, ‘गण्डकीमा हुने ८५ प्रतिशतभन्दा बढी गर्भपतन कास्कीमै हुने गरेको पाइएको छ ।’ गर्भपतन गर्न कास्कीमा मात्रै ४० वटा स्वास्थ्य संस्था खुलेको उनले जानकारी दिए ।

      कास्कीमा गाउँभन्दा सहरका महिलाले बढी गर्भपतन गर्ने गरेको प्रमुख अधिकारीले बताउँछन् । उनले भने, ‘कास्कीका बजार यरियाका मात्रै ८३ प्रतिशतभन्दा बढी सेवाग्राही छन् । बाँकीमात्रै गाउँका महिला सेवा लिन आउँछन् ।’ प्रदेशकै राजधानी र अन्य ठाउँभन्दा विशेषज्ञ सुविधा पाउने भएकाले कास्कीमा धेरैले गर्भपतन गर्न आउने गरेको उनले सुनाए ।

      नेपाल स्वास्थ्य तालिम केन्द्रले बुधबार पोखरामा गरेका चौथो राष्ट्रिय सुरक्षित गर्भपतन दिवस कार्यक्रममा अधिकारीले यस्तो तथ्य बाहिर ल्याएका हुन् । कास्कीमा असुरक्षित गर्भपतन समस्या बढिरहेको समेत अधिकारीले जनाए । ‘११ प्रतिशत त २० वर्षमुनिका युवती नै हुने तथ्य फेला परेको छ । तिनीहरु जाने भनेकै गैरकानुनी स्वास्थ्य केन्द्रमा हो,’ उनले भने ।

      गर्भपतन गर्न आउनेमा सबैभन्दा बढी वैवाहिक बन्धनमा बाँधिएकाहरु नै हुने हुनाले त्यसलाई रोक्न सकिने अधिकारीको सुझाव थियो । ‘विवाह भइसकेपछि उनीहरुलाई परिवार नियोजनका साधनका प्रयोगबारे राम्रोसँग जानकारी दिन पाए केही हदसम्म गर्भपतनलाई रोक्न सकिन्छ,’ उनले भने । पोखरामा लिंग पहिचान गरेर गर्भपतन गर्ने समस्या बढेका कारण त्यसलाई पनि रोक्न आवश्यक कदम चाल्नुपर्ने उनले औंल्याए ।

      प्रदेशभर १३ हजार गर्भपतन
      गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका उपस्वास्थ्य प्रशासक डा. भवानी शर्माले गण्डकी प्रदेशमा वार्षिक १३ हजार जनाले गर्भपतन गर्ने गरेको खुलाएका छन् । उनले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा धेरैले गर्भपतन गर्ने गरेको बताएका हुन् ।

      ‘आर्थिक वर्ष ०७३-७४मा १२ हजारले गर्भपतन गरेको तथ्यांक छ । त्यसपछि आर्थिक वर्ष ०७४-७५ मा १३ हजार पुगेको छ,’ निर्देशक शर्माले भने । गण्डकी प्रदेशमा ११ वटै जिल्लामा सरकारी, गैरसरकारी र निजी गरी १ सय ५९ गर्भपतन सेवा प्रदान गर्ने संस्था खुलेको उनले जानकारी दिए ।

      असुरक्षित गर्भपतन गर्ने बढी
      नेपालमा सुरक्षित गर्भपतन सेवा दिने संस्था प्रत्येक जिल्लामा खुले पनि असुरक्षित गर्भपतनको समस्या नघटेको प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक राजेन्द्रपसाद घिमिरेले बताए । ‘हरेक ५-५ वर्षमा आवधिक सर्भे हुन्छ । त्यसैका आधारमा असुरक्षित गर्भपतन गर्नेहरुको संख्या बढ्नुको साटो बढेको पाइएको हो,’ उनले भने ।

      गर्भपतन गर्ने कुल संख्याको ५८ प्रतिशत जनसंख्याले असुरक्षित गर्भपतन गर्ने गरेको जनस्वास्थ्य प्रशासक घिमिरेले बताए । उनले भने, ‘प्रतिवर्ष नेपालभर ३ लाख २३ हजारले गर्भपतन गर्छन् । त्यसमध्ये ७ प्रतिशत महिलाको असुरक्षित गर्भपतनकै कारण मृत्यु भइरहेको छ ।’ गर्भपतनलाई निरुत्साहित गर्न परिवार नियोजनका साधनलाई प्रोत्साहन तथा त्यसबारे शिक्षा फैलाउनुपर्ने उनको भनाइ थियो ।

      कुल जनसंख्याको ४१ प्रतिशत महिलालाई मात्रै सुरक्षित गर्भपतनबारे थाहा हुने गरेको तथ्य घिमिरेले खुलाए । असुरक्षित गर्भपतन मातृशिशु मृत्युको चौथो कारक तत्व भएकाले सकेसम्म त्यसलाई रोक्नुपर्ने उनले सुझाव दिए । ‘तालिम नलिएका र सुचीकृत नभएका स्वास्थ्य संस्थाले असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाहरुको स्वास्थ्य धरापमा पर्ने गरेको छ,’ उनले भने ।

      सूचीकृत गर्भपतन सेवाप्रदायक संस्थाले लिंग पहिचान गरी भ्रुणहत्या नगर्ने भएकाले असुरक्षित गर्भपतन गर्नेहरु बढिरहेको सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बताइन् । ‘सुरक्षित गर्भपतन गर्ने संस्थाले लिंग पहिचान भएकै आधारमा एबोर्सन गर्दैन । त्यसैका लागि पनि महिलाहरु असुरक्षित गर्भपतन गराउने संस्थामा जाने गरेको पाइएको छ,’ उनले भनिन् ।

      हरेक महिलाले कति वटा बच्चा पाउने र कहिले पाउने भन्नेबारे अधिकार नदिंदासम्म असुरक्षित गर्भपतनको समस्या नहट्ने मन्त्री पुनमगरले सुनाइन् । ‘गर्भपतन गर्नभन्दा पहिले नै उत्तम फ्यामिली प्लानिङ भयो भने समस्या स्वतः हटेर जान्छ,’ उनले भनिन्, ‘यसका लागि परिवार नियोजनका साधनलाई व्यापक र सर्वसुलभ बनाउनुपर्छ ।’


      प्रतिकृया दिनुहोस्