Samadhan National Daily

      माधव नेपाललाई अमेरिकाबाटै ओलीको जवाफः देश डुब्दैन, म आउँदैछु

      काठमाडौं, १३ आश्विन:

      प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा गरेको भाषणप्रति ओलीले अमेरिकाबाटै जवाफ दिएका छन् ।

      आफू स्वदेशमा नभएका बेला नेता नेपालले बोलाएको स्थायी कमिटीको भेलाबारे चित्त दुखाउँदै प्रधानमन्त्रीले प्रदेश कमिटी गठनको निर्णयको बचाउ गरेका छन् ।

      ‘केही मान्छेहरुमा अलिकति कुण्ठा देखिन्छ, त्यो कुण्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरु गरेका छन्,’ न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले भने – ‘एउटा कृत्रिम परिस्थिति निर्माण गर्न खोजिएको छ, जसको खासै अर्थ केही पनि छैन ।‘। सचिवालयको निर्णय विल्कुल ठीक छ ।’

      अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका सूर्य थापासँग ३७ मिनेट लामो अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भने ‘म दुईचार दिन संयुक्त राष्ट्र संघतिर आएँ । कतिपय नेताहरुले बोलेको सुनियो, लौन देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ । म फर्केर गइहाल्छु, त्यसकारण यो ठूलो समस्याको कुरो होइन ।’

      माधव नेपालले देश डुब्न लाग्यो भनेर गरेको भाषणप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने ‘म नहुनेवित्तिकै अब कसैलाई अलिकति शुन्यता भो, छटपटी भो ।’

      बरिष्ठ नेता माधव नेपालले प्रदेश कमिटी सम्बन्धी सचिवालयको निर्णयप्रति जनाएको असन्तुष्टिलाई प्रधानमन्त्री ओलीले ‘असन्तुष्टिका लागि असन्तुष्टि’ मात्र भएको बताएका छन् । नेता नेपालले पार्टीमा दर्ज गरेको असन्तुष्टिबारे प्रधानमन्त्रीले भने ‘असन्तुष्टिका लागि असन्तुष्टि हो । पार्टीमा फलानो गुटको फलानो प्रतिनिधि, फलानो गुटको फलानो प्रतिनिधि हैन, योग्यता, क्षमता र आवश्यकता अनुसार हुन्छ ।’


      प्रतिकृया दिनुहोस्