Samadhan National Daily

      विश्वशंकर पालिखेलाई कांग्रेसले सोध्यो स्पष्टीकरण तर उनैले प्रश्न सोध्दै लेखे पत्र

      पाेखरा, १४ आश्विन:

      नेपाली कांग्रेस कास्कीले पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई स्पष्टीकरण सोधेको छ ।

      पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस समर्थित अध्यक्ष पदका उम्मेद्वार रवीन्द्रबहादुर प्रजु पराजित भएलगत्तै बसेको कास्की कांग्रेसको बैठकले पालिखेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

      सभापति कृष्ण केसीको हस्ताक्षर भएको पत्र पालिखेलाई पठाइएको छ । पत्रमा ‘तपाईंको आचरण र व्यवहारका कारण तपाईंलाई किन कारबाही नगर्ने ?’ भन्ने भाषा लेखिएको छ । तर कुन घटना वा कारणले पालिखेको आचरण व्यवहार ठिक नभएको हो भन्ने केही खुलाइएको छैन ।

      स्रोतका अनुसार पत्र पाएलगत्तै पालिखेले सभापति केसीलाई नै प्रश्न गर्दैै पत्र पठाएका छन् । केसीले प्रयोग गरेको भाषाप्रति उनले आपत्ति जनाएका छन् । ‘मेरो आचरणमाथि प्रश्न उठाइएकोमा घोर आपत्ति जनाउन चाहन्छु,’ पालिखेले भनेका छन्, ‘मलाई के कति कारणले यस्तो पत्र पठाइएको हो, बुँदागत रुपमा लिखित जानकारी गराउनु हुन अनुरोध छ ।’

      असोज ६ गते सम्पन्न पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा २ प्यानलबीच प्रतिस्पर्धा भएको थियो । एउटा प्यानललाई नेकपा र अर्कोलाई नेपाली कांग्रेसले समर्थन गरेका थिए । नेकपाको समर्थन प्राप्त अध्यक्षका प्रत्यासी दामु अधिकारीले कांग्रेस समर्थित उम्मेद्वार प्रजुलाई सात मतको अन्तरले पराजित गरेका थिए । अध्यक्षबाहेक सबै पदाधिकारी प्रजु प्यानलले जितेको छ ।

      कास्की कांग्रेसले अध्यक्षमा मात्र ७ मत अन्तरले आफ्नो उम्मेद्वारको पराजय हुनुमा पालिखेको भूमिका मुख्य रहेको ठहर गर्दै पत्र पठाएको हो । सभापति केसीले जिल्ला कार्यसमिति र कार्य समिति बाहिरका नेता तथा कार्यकर्तासँग छलफल गरेर यस्तो पत्र पठाउने निर्णय गरेका हुन् ।

      २ वर्षअघिको निर्वाचनमा अध्यक्षका प्रत्यासी बनेका पालिखेलाई तत्कालीन नेकपा एमालेको समर्थन थियो भने कांग्रेसले अर्को प्यानललाई समर्थन गरेको थियो । पालिखेकै प्यानलबाट महासचिवका उम्मेदवार बनेका दामु अधिकारीविरुद्ध कास्की कांग्रेस कोषाध्यक्ष लक्ष्मी पाण्डे उम्मेदवार थिइन् । पाण्डे ठूलो मतान्तरले पराजित हुनुमा पनि पालिखेकै हात रहेको कांग्रेसको ठहर थियो ।

      यसपालिका अध्यक्ष उम्मेदवार दुवैजना अघिल्लो निर्वाचनमा पालिखेकै प्यानलबाट निर्वाचन लडेर जितेका हुन् । निवर्तमान कार्य समितिमा प्रजुवरिष्ठ उपाध्यक्ष थिए भने अधिकारी महासचिव थिए ।

      २ वर्षअघि प्यानल बनाउँदा यसपटक प्रजु अध्यक्ष र दामु वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने गरी सहमति भएको थियो । तर अघिल्लो वर्ष सम्पन्न स्थानीय निर्वाचनमा वरिष्ठ उपाध्यक्ष प्रजु पोखरा महानगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष निर्वाचित भएपछि अध्यक्षमा अधिकारी अघि सरेका हुन् ।

      २ महिनाअघिसम्म अधिकारी र प्रजुको सहमतिमै टिम बनाउने पहल भइरहेको थियो । अध्यक्षमा अधिकारी र वरिष्ठ उपाध्यक्षमा पवन प्रजापतिसहितको टिम बनाउने सहमति भइसकेको अवस्थामा महासचिवमा कुरा नमिल्दा उद्योग वाणिज्य संघभित्र राजनीतिक हस्तक्षेप निम्तिएको हो । कांग्रेस पक्षले अर्जुन पोखरेल र नेकपा पक्षले किसान सुनारलाई महासचिव बनाउन चाहन्थे ।

      महासचिवको तानातानीमा टिम घोषणा हुन नसकेको बेलामा कास्की आएका कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताले वडाध्यक्षको जिम्मेवारी सम्हालेका प्रजुलाई नै संघको बागडोर सम्हाल्न निर्देशन दिएका थिए । प्रजुबाहेक अरु उम्मेदवार बनेमा अधिकारीलाई पराजित गर्न नसकिने निकर्ष सभापति देउवालाई कांग्रेसका स्थानीय नेताहरुले सुनाएपछि देउवाले प्रजुलाई अघि बढ्न निर्देशन दिएका हुन् ।

      यसरी चरम राजनीतिको शिकार बन्न पुगेको पोखरा उद्योग बाणिज्य संघको मत परिणाम सार्वजनिक भएपछि पनि दुवै पार्टी चुकचुकाएका छन् । नेकपा समर्थित प्यानलले अध्यक्षसहित ६ सदस्य मात्र जितेकाले हारेको महसुस गरेको छ ।

      २ तिहाइभन्दा बढी सिटमा जित हासिल गर्दा पनि अध्यक्ष गुमाउनु परेकाले कांग्रेसले पनि पराजित भएको अनुभूति गरेको छ । त्यसैको पछिल्लो कडीका रुपमा कास्की कांग्रेसले निवर्तमान अध्यक्ष पालिखेलाइ स्पष्टीकरण सोधेको हो । ०७५ साल असोज १० गते पालिखेलाई पठाएको पत्रमा मिति भने ०७४ साल भदौं १० गते लेखिएको छ ।


      प्रतिकृया दिनुहोस्