Samadhan National Daily

      फेरि नयाँ मापदण्डः फिर्केकाे ५, सेतीको ५० मिटर

      पाेखरा, १५ आश्विन:

      पोखरा महानगरपालिकाले मापदण्ड परिमार्जन गर्न गठन गरेको विज्ञ समूहले फिर्के खोलाको मापदण्ड ५ मिटर बनाउन प्रस्ताव गरेका छन् ।

      पोखरामा ३ तलाभन्दा अग्लो घर बनाउन नपाइने मापदण्ड हटाएर जग्गाअनुसारको उचाइ निर्धारण गर्न सुझाएका विज्ञले १० मिटर रहेको फिर्केखोलाको मापदण्ड ५ मिटरमा झार्न सुझाव दिएका हुन् ।

      मापदण्ड परिमार्जन गर्न महानगरले गएको वैशाखमा इन्जिनियर प्राडा भरतराज पहारीको संयोजकत्वमा विज्ञ समिति गठन गरेको थियो । पोखराका विभिन्न क्षेत्रलाई वर्गीकरण गरेर भवनको उचाइ सम्बन्धी सीमा निर्धारण गर्दा भुईं क्षेत्रको अनुपातका आधारमा गर्न सुझाव दिँदै बुझाएको प्रतिवेदनमा फिर्के खोलाको मापदण्ड ५ मिटरमा झार्न सुझाव गरिएको छ । विज्ञ समितिको प्रतिवेदन महानगरको हप्ता दिनअघि कार्यपालिका बैठकमा पेस भएको छ ।

      विज्ञ समूहले विभिन्न खोला, ताल र नदीको मापदण्ड निर्धारण गरेको छ । फिर्के खोलाको १० मिटर क्षेत्रभित्र कुनै पनि संरचना बनाउन नपाउने नियमलाई परिमार्जन गर्दै विज्ञ समितिको प्रतिवेदनले त्यो सीमा ५ मिटरमा झार्न भनेको हो । बीचमा फिर्केको मापदण्ड ६ मिटर कायम गर्न कसरत गरिएको थियो । तर, त्योभन्दा पनि कम हुने गरी मापदण्ड कायम गर्न विज्ञ समितिले प्रस्ताव गरेको छ ।

      महानगरले फिर्केखोलाको मापदण्डभित्र बनेका झन्डै २ सय घरटहरा भत्काउने बताएको थियो । ती संरचना पनि ५ मिटर मापदण्डभित्रै पर्छन् । फिर्के खोलाको मापदण्डभित्र बनेका संरचना हटाउन रेजा लगाउने भन्दै महानगरले ५ मिटरलाई आधार बनाएको थियो ।

      विज्ञ समूहको प्रतिवेदनले हालको मापदण्ड मिच्नेलाई उन्मुक्ति दिने गरी नयाँ मापदण्डको प्रतिवेदन महानगरमा बुझाएको छ । विज्ञ समूहले कार्यपालिकामा बुझाएको प्रतिवेदनअनुसार अब उचाइको मापदण्ड हटाएर जसको जग्गाको क्षेत्रफल बढी छ, उसले अग्लो घर बनाउन पाउने छ । खोला, नदी, तालको मापदण्डलाई पनि समितिले परिमार्जनसहित प्रस्ताव गरेको हो ।

      विज्ञ समूहले सेती नदीको मापदण्ड भने ५० मिटर नै कायम गर्न प्रस्ताव गरेको छ । सेतीको मापदण्ड घटाउन बेलाबेला दबाबसमेत पर्दै आएको थियो । तर, ५० मिटर कायम गरे पनि पोखरा बजार क्षेत्रमा ५ मिटरभित्रै पनि थुप्रै संरचना बनेका छन् ।

      बजार क्षेत्रभित्रको बुलौंदी खोला, पार्दीखोलामा पनि ५ मिटर कायम विज्ञ समूहको सुझाव छ भने काहुँखोला, भलाम खोलामा १० मिटर कायम गर्न भनेको छ ।

      विज्ञ समूहले ताल तथा पोखरी सम्बन्धी मापदण्ड पनि प्रतिवेदनमा सुझाव दिएको छ । फेवातालमा ड्यामसाइड फेवाबाँधदेखि रत्नमन्दिरसम्म ३० मिटर र अन्य ठाउँमा ६५ मिटर नै कायम गर्न सुझाव दिएको छ । फिर्के खोलाको मापदण्ड पनि ३० मिटर बनाउन समितिको प्रस्ताव छ ।

      बेगनास र रुपातालको मापदण्ड भने १ सय मिटर तोकिएको छ । दिपाङ, मैदी, गुँदे, खास्टे, न्युरेनी लगायतको तालको मापदण्ड ५० मिटर छ भने कास्कीकोट र कमलपोखरीको मापदण्ड ६ मिटर तोकिएको छ ।

      वैज्ञानिक र सान्दर्भिक रहेको समिति संयोजक भरत पहारी दाबी गर्छन् । सहरको मापदण्ड आवश्यकता र सहरका विभिन्न उपयोगितालाई हेरेर निर्माण गरिनुपर्ने उनको तर्क छ ।

      विज्ञ समूहमा महानगरका वरिष्ठ इन्जिनियरद्वय शारदामोहन काफ्ले, सुरेन्द्र पाण्डे, इन्जिनियर किसानसिंह गुरुङ, भूगोलविदका रुपमा खगेन्द्रराज पौडेल छन् । समितिमा भूगोलका विशेष आमन्त्रित विज्ञका रुपमा डा. सोमनाथ सापकोटा र प्राडा कृष्ण केसीलाई राखिएको थियो ।


      प्रतिकृया दिनुहोस्